विद्यार्थीसँग कविहरुको एक दिन(फोटोफिचर)


धरान  । कविता लेख्ने, गोष्ठीहरुमा सुनाउने र कविता संग्रह नै छपाउने कविहरुलाई कविता कसरी लेखिन्छ भनेर बोल्नु पर्दा पक्कै पनि सहज होला । तर यो अनुमान विपरीत धरानका सशक्त युवा कवि सुदिप पाख्रिनलाई भने बुधबार कविता लेखनबारे बोल्नुपर्दा अनुमान लगाएजस्तो सहज भएन ।
उनलाई त कविता र कविता लेखनबारे सुन्न सामुन्नेमा बसेका विद्यार्थीहरुको अघि आफु परीक्षा दिन लागेको परीक्षार्थीजस्तो पो अनुभूत भएछ । उनको कुरा सुन्न बसेका विद्यार्थीहरु चै परीक्षक जस्तै । धरान १८ स्थित माउण्ट हार्मोन एकेडेमीको प्राङ्गणमा शुरुमै उनले भनिहाले–‘कविता लेख्दा लेख्दै परीक्षा दिन बसेको छुँ जस्तो महसुस भइरहेको छ, तपाईहरु चै शिक्षक शिक्षिका जस्तो लागिरहेछ ।’
माउण्ट हार्मोनका विद्यार्थीहरुको समुह हार्मोनिज किड्स क्लबले त्रैमासिक बुलेटिन किड्स टाइम्स प्रकाशन गर्दै आइरहेको छ । सोही पत्रिकाको पाँचांै बार्षिकोत्सव अवसरमा एकेडेमीले ‘कविसँग एक दिन’ कार्यक्रम आयोजना गरेर युवा कविद्धय सुदिप पाख्रिन र सन्तोष थेवेलाई अतिथि वक्ताकोरुपमा निम्त्याएको थियो । वक्ताकारुपमा विद्यार्थीहरुका अघिल्तिर माइक अघि कुर्सीमा बसेका दुवै कविले परिचय दिदै गर्दा पाख्रिनले माथिका भनाई व्यक्त गरेका हुन् ।
विद्यार्थीहरुलाई कला, साहित्यप्रति रुचि जगाउनुका साथै लेखनमा पनि प्रोत्साहन गराउन कविसँग एक दिन कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ । कविता कसरी लेख्ने, कविता किन लेख्ने जस्ता टिप्सहरुसँगै आफुले कसरी कविता लेख्न शुरुवात गरे भनेर पनि कविद्धयले आफ्नो विगतलाई सुनाउदा विद्यार्थीहरुले निक्कै चाख मानेर सुनेका थिए । ‘म तपाई जस्तै सानै उमेरदेखि कविता लेख्थे, बाल कविताहरु लेखेर सर मिसलाई देखाउथे । अहिले तपाईहरुकै अघि कवि बनेर आएको छु, गर्व लाग्छ । तपाईहरु पनि कविता लेख्नुस् । कविता लेख्दा आनन्द लाग्छ, जिन्दगीमा त्यति खुशी अरु के होला र ?’–कवि थेवेले विद्यार्थीहरुलाई भने–‘कवितामा त्यस्तो शक्ति हुन्छ, जस्ले भन्न खोजेको कुरालाई पाठकसम्म पु¥याउछ, मान्छेले नसोचेको जीवनको सुन्दर पक्ष प्रस्तुत गर्छ । धैर्य गरेर जीउन, सोच्न सिकाउछ र जीवन सुन्दर बनाउछ ।’
कवि थेवे र पाख्रिन कक्षा १० सम्म स्कुल सँगै पढेका रहेछन् । थेवे सानैदेखि कविता लेख्ने । पाख्रिनले भने थेवेले कविता लेखेको देखेर पछि मात्र लेख्न थालेका र । दुवै स्कुले साथी भएपनि कवि थेवेको मित्रता पाख्रिनका बुबा स्वर्गीय कृष्ण पाख्रिनसँग पो जम्न थालेछ । कृष्ण पाख्रिन धरानका चर्चित कवि थिए । कवि गोष्ठीमा दुवैको भेट हुने । फर्कदा सुदिपका बुबाले थेवेलाई घरमा लिएर जाने । ‘मेरो बुबा कविता लेख्नुहुन्थ्यो, कवि गोष्ठीमा गएर घर आउदा साथी सन्तोषलाई पो लिएर आउनुहुन्थ्यो । बुबाको कविता म सुन्थे । सन्तोषले त लेख्न सक्छ भने म किन सक्दिन भनेर कविता पढ्न थाले, सुन्न थाले । कवितामा लगाव बढ्दै गयो, माया बस्दै गयो’–पाख्रिनले चाखलाग्दा विगत कोट्याए–‘एक दिन बुबालाई मैले लेखेको पहिलो कविता डराउदै देखाए, उहाँले यो हो नि त कविता भन्नु भयो । त्यसपछि घरमा जो आउछ, उसलाई मेरो छोराले पनि कविता लेख्छ नि भन्न थाल्नुभयो । अनि त कविता लेख्नुपर्छ भन्ने लाग्यो ।’ उनले आफ्ना भावना, अनुभूतिलाई कवितामा लेखिने भएपनि त्यसलाई माझ्नु महत्वपुर्ण पक्ष भएको पनि बताए ।
कविता र लेखनबारे धारणा राख्दै गर्दा दुवै कविले बीच बीचमा कविता सुनाउन पनि भ्याए । कार्यक्रमका प्रमुख अतिथि एवं पिण्डेश्वर विद्यापिठका प्राचार्य डा.भीम खतिवडाले विद्यालयहरुमा कोठाभित्र मात्र विद्यार्थीलाई सिमित बनाउने चलन हटाउन आवश्यक रहेको धारणा राखे । त्यसो गर्दा विद्यार्थीहरु मेशिन जस्तो वा नक्कल गर्ने मात्र बन्ने भन्दै सर्वाङ्गीण विकासमा यस्ता कार्यक्रम आवश्यक भएको बताए । ‘पढ्नु भनेको व्यावहारमा लागु गर्नु हो, विवेकको विकास गर्नु हो । कविले संसारलाई अरुले भन्दा बढी देख्छ । घाम नपुुग्ने ठाउँमा कविको दृष्टि पुग्छ’–खतिवडाले भने । उनले पनि मन्तव्यको क्रममा कविता, गजल सुनाएका थिए । एकेडेमीका प्रिन्सिपलका अनुप योञ्जनले पढाईसँगै विद्यार्थीहरुको व्यक्तित्व विकासको लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु गरिरहेको बताए । प्रशासन प्रमुख नविन राईले कविता लेखनबारे कवि, साहित्यकारहरुबाटै सुझाव दिदा थप हौसला दिलाउन कार्यक्रम गरिएको बताए ।











Comments

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे