धरानमा ‘फालेलुङ र काबेली बजार’को चर्चा

               सहरमा म
सागुरीबाट एक डोको साग बेच्न झरेकी
सहरमा म 
सागुरीबाट नुन भुटुन गर्न झरेकी
सागुरीबाट एक लाछी धागो किन्न झरेकी
                मुगलान छिरेको माइतीको खबर गर्न झरेकी
               साहुले साग किनिदियो
               साहुले धागो किनिदियो
               टलक्क टल्किने जस्ताको छानामुुनि
              सुन्दर सहरको सुन्दर कोठाभित्र
              चोलीको तुना चुडिदियो
             निधारको टिका पुछिदियो
             सहरलाई हेर्ने सुन्दर आँखाभित्र फुलो पारिदियो ।

फालेलुङ र काबेली बजार कविता संग्रह प्रकाशन भएपछि संग्रह भित्रको ‘साग बेच्ने केटी’ शिर्षकको यो कविता अहिले निक्कै चर्चित भइरहेको छ । योसँगै यसका सर्जक कवि सन्तोष थेवेको चर्चा पनि चुलिएको छ । शनिबार धरान ९ स्थित होटल रत्न इनमा संग्रहमाथि आयोजित एक परिचर्चा कार्यक्रम पनि कवि थेवेले यही कविता वाचन गरेपछि शुरुवात भएको थियो ।
कवि थेवेले २०४४ सालतिरबाट सक्रियरुपमा कविता लेखन थालेका हुन् । तर, ५० को दशकपछि लामो समय उनी गुमनाम बने । जागिरको सिलसिलामा काठमाण्डौंतिर हराए । छिटफुट कविता लेखिरहे पनि सार्वजनिकरुपमा देखिनन् । ०६७ मा गृह नगर धरान फर्किएपछि मात्र उनको साहित्य गोष्ठीहरुमा उपस्थिति हुन थाल्यो । मोती सँस्मरण समितिले उनको कविता संग्रह प्रकाशनमा ल्याएपछि भने ‘आफुले गुमनाम बनेर महत्वपुर्ण समय खेर फालेछु’ भन्ने अनुभुत हुन थालेको छ । साथमा उत्साह पनि थपिएको छ । ‘जति समय म गुमनाम बसे, त्यो समय मैले त्यसै खेर फालेछु भन्ने लागिरहेको छ । म त्यसरी बस्न हुने थिएन । म अझै अघि बढ्न सक्ने थिएछुँ’–नागरिकसँग थेवेले भने–‘संग्रह प्रकाशनमा आएपछि धेरै राम्रो प्रतिक्रियाहरु पाइरहेको छ, यसले अझ राम्रो काम गर्ने उत्साह दिएको छ ।’
परिचर्चा कार्यक्रममा कवि मनु मञ्जिलले थेवेको प्रकाशित संग्रह ओरिजिनल कविता संग्रह भएको बताए । थेवेको कविता वाचन शैली पनि मान्छेलाई प्रभाव पार्ने खालको भएको उनको भनाई थियो । जीवनमा वेजोड संघर्ष गरेर आएका कविहरुको अनुभव सुन्न मजा आउने भन्दै उनले कवि थेवेलाई त्यही दर्जाको कविकोरुपमा परिचित गराए । ‘जुन कविले बेजोड संघर्ष गरेर आएको छ, जीवनलाई नजिकबाट छुदै खेल्दै आएको छ । उसको अनुभव सुन्न मजा आउछ । कवि सन्तोष थेवेमा त्यही पर्सनालिटी छ । भित्र हेर्ने आँखा उहाँमा छ’–कवि मनु मञ्जिलले भने ।
संग्रहभित्रको ट्रयांकुलाइजरको समाधिबाट शिर्षकको कविता नेपाली साहित्यमा नयाँ आयाम भएको उद्घोष गर्दै उनले सबै कविहरु कविता लेख्दा त्यही मानसिक अवस्थामा पुग्ने धारणा राखे । ‘यो कविता उहाँको हो नै, तर सबै कविहरुको अवस्था पनि हो । सबै कविहरु कविता लेख्दा त्यही अवस्थामा, समाधिमा नै पुग्छौं’–उनले थपे–‘यो कविता नेपाली साहित्यमा नयाँ आयाम हो, त्यसको समीक्षा पछि हुदै जान्छ ।’
अर्का परिचर्चाकार प्राध्यापक गोपीकृष्ण खतिवडाले संग्रहका कविताहरुमा कवि थेवेले जीवन भोगाईको क्रममा आफुले अनुभूत गरेका मानवीय मानोभावहरुलाई मार्मिक र कलात्मकरुपमा प्रस्तुत गरेको बताए । सग्रहका कविताहरुले जीवन र जगतप्रतिको मुल्यबोध गराएको पनि उनले चर्चा गरे । साथै कविताहरुमा आत्मसम्मानको सशक्त स्वर उर्लिएको पनि उनले बताए । ‘कवि थेवेका कवितामा पाइने एउटा महत्वपुर्ण वैशिष्ट हो, अन्तरंग र बहिरंग भावहरुको समायोजित प्रस्तुती’–खतिवडाले भने–‘कविले वस्तुपरकता भन्दा आत्मपरकतालाई केन्द्रमा राखेर जीवनजगतप्रतिको आफ्नो अनुभूतिलाई आत्मानुशासित भई विना रोकटोक अभिव्यक्त गरेका छन् ।’
मोती संस्मरण समितिद्धारा आयोजित परिचर्चामा ऐना अगाडी आज शिर्षकको कविताको भिडियो पनि सार्वजनिक गरिएको थियो । भिडियोमा रंङगकर्मी शारदा शाक्यले अभिनय गरेकी छिन् । भिडियो विरेन सुब्बाको निर्देशनमा तयार गरिएको हो । भिडियोमा कवि थेवे स्वयमको आवाजमा कविता वाचन छ । यसबाहेक परिचर्चामा उनले सम्झनाको पुरानो रुमाल शिर्षकको कविता पनि वाचन गरेका थिए ।
 












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे