धरानबासीलाई जरुवा पानीको भर

धरान । धरान १७ स्थित नयाँ बस्तीकी सृर्जना राईको घर नजिकै पानीटंकी छ । धेरै जसो छिमेकी घरमा निजी धारा पनि छ । तर, उनी गाग्री बोकेर सर्दु खोला पारीको भिरमा जरुवा पानी भर्न नपुगि हुदैन । त्यहाँ पुग्न उनलाई झण्डै २० मिनेट समय लाग्छ । पानी भरेको गाग्री बोकेर आउन अझ बढी समय खेर जान्छ ।
हुन त उनी उपमहानगरपालिकाकी बासिन्दा हुन् । तर, आधारभुत खानेपानी पिउनबाट नै उनी बञ्चित छिन् । धरानमा खानेपानी वितरणको जिम्मा खानेपानी संस्थानको छ । तर, उपमहानगरपालिकाको सबै वडामा पानी वितरण गर्न सकेको छैन । पिउने पानीको जोहो गर्न सृर्जना जस्ता महिला(युवती)हरु जरुवा पानी खोज्दै भिरपाखातिर भौतारिन बाध्य छन् । सृर्जनाका अनुसार सर्दुको भिरमा ३ महिनादेखि जरुवा पानी आउन थाले पछि केही राहत मिलेको छ । त्यसअघि त आधा घण्टा उकालो हिडेर ढटुवा खोला पुग्नुपथ्र्यो । एक गाग्री पानी थाप्न घण्टौं पालो पर्खनुपथ्र्यो । ‘ढटुवा खोला पुग्न आधा घण्टा लाग्थ्यो, अहिले यही पानी रसाएकोले १५, २० मिनेटम लाग्छ’–सृर्जनाले भनिन्–‘कैले कही त गाग्री बोकेर ३ पटकसम्म आउछु ।’
खानेपानी समस्याले गृहणी र बुहारीहरुलाई सबैभन्दा धेरै पिरोलेको धरान १७ स्थित ४ घरे त्रिवेणी चोककी नरमाया बिक पीडा पोख्छिन् । फागुन, चैत, बैशाखमा पानी लिन चाम्बोटे जंगलको उकालो चढेर जानुपर्दा घण्टांै समय लाग्छ । एक गाग्रो पानीको लागि पालो पर्खनु पर्दा धेरै समय लाग्दा बुहारीप्रति नकरात्मक धारणा बन्ने उनले सुनाइन् । ‘पानी परेर पो यहाँ जरुवा पलायो, चैत बैशाखमा त घण्टौं हिड्नुपर्छ’–बिकले भनिन्–‘बिहान ९ बजे गएर २, ३ बजे फर्कनुपर्छ । घरको काम भ्याइदैन, घरकालाई पालो पर्खादा टाइम पास गरेर आएजस्तो हुन्छ ।’ जरुवा पानी उनीहरु न तताउछन्, न फिल्टर गरेर पिउछन् । यसले स्वास्थ्यमा जोखिम पनि बढाएको छ ।
नयाँ बस्तीमा संस्थानको सार्वजनिक धारा छ । त्यो क्षेत्रमा स्थानीयले २ वटा पानी टंकी बनाएका छन । तर नियमित पानी आउदैन । बर्षाको बेला पनि २, ३ दिनमा मात्रै धारामा पानी आउछ । ‘आज त धारामा ४ दिनमा बल्ल पानी आएको । धारामा आएन भने ५ घण्टा लगाएर पानी लिन जानुपर्छ’–सार्वजनिक धारा जडान गरेको टंकीमा पानी थाप्दै एक महिलाले भनिन् । खानेपानी संस्थानले १७ हजार बढी ग्राहकलाई निजी धारा वितरण गरेको छ । दैनिक ३ करोड लिटर खानेपानीको माग भएपनि स्रोत पर्याप्त नभएकोले आफ्ना ग्राहकलाई नै खानेपानी वितरण गर्न नसकेको संस्थानको भनाई छ ।
संस्थानको विकल्पमा जुन सन् २०१७ देखि माग वमोजिम खानेपानी वितरण गर्ने लक्ष्यसहित करिब डेढ अर्बको खानेपानी आयोजना निर्माण चरणमा छ । एसियाली विकास बैंकको ऋण तथा अनदान रहेको आयोजना सञ्चालनमा आएपछि संस्थानको शाखा हट्नेछ । त्यसपछि खानेपानी व्यवस्थापन बोर्डअन्र्तगत पानी वितरण हुनेछ । आयोजनाले कम्तीमा १८ घण्टा घरमा निरन्तर पानी वितरण गर्ने आश्वासन बाडिरहे पनि परीक्षण हुन बाँकी नै छ । ‘एडिबिको पानी आएपछि दुःख हुदैन भन्छन्, तर कहिले आउने हो थाह छैन’–डोको गाग्री बोकिरहेकी शशीकला राईले भनिन्–‘नआएसम्म त भिरमा पलाएकै पानी पिउनु पर्यो नि ।’ आयोजना कार्यान्वयन इकाईका प्रमुख एवं व्यावस्थापक राजु पोख्रेलले साउन १५ भित्रमा धरानको वडा १७ को पुरै क्षेत्र र वडा ११ को आधा क्षेत्रमा टेष्ट सप्लाई गर्ने गरी निर्माण कार्य तीब्र पारिएको बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे