दगुरिहिड्ने चौबाटोको बिसौनीमा रोए कवि(फोटोफिचर)

धरान । कवि वम देवान र स्वर्गीय कृष्ण पाख्रिन समकालीन थिए । साहित्यले दुवैको मित्रतालाई कसिलो बनाएको थियो । कवि देवान पाख्रिनको घरमा जान्थे । घर अघि वर,पिपल, सिरिसका थुप्रै रुखहरु थिए । चराचरुङ्गीहरु चिरबिर चिरबिर कराइरहन्थे । अहिले कवि पाख्रिन छैनन्, उनको घरअघि त्यस्ता रुखहरु पनि छैनन् ।
आफ्ना कवि मित्रलाई शुक्रबार दिउँसो देवानले यसरी सम्झिदा हल भावुक भइसकेको थियो । उनी पछि कार्यक्रमका नायक कवि सुदिप पाख्रिनको बोल्ने पालो आयो, उनी स्टेजमा चढे । केही नामहरु सम्झदै थिए, तर बोल्नै सकेनन् । दुवै हातले आँखा छोपेर उनी सुक्सुकाउन थाले । ‘म कविता वाचन गर्न चाहन्थे, तर बोल्दिन’ भन्दै उनी दर्शकदीर्घामा आएर बसे । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एलटिफोर हल स्तब्ध बन्यो । कवि देवान किराती नजिकै गएर रोइरहेका कवि पाख्रिनलाई ढाडस दिए ।
शुक्रबार कवि पाख्रिनको कविता संग्रह ‘दगुरिहिड्ँने चौबाटोको विसौनीमा’ कार्यक्रम हुदै थियो । वक्ता रहेका कवि देवानले संग्रहभित्रको कविता वृक्ष–देश बारे चर्चा गर्दै आफ्ना समकालीन कवि मित्र स्वर्गीय पाख्रिन र उनको पारिवारिक प्रसंग निकालेका थिए । स्वर्गीय कवि पाख्रिन सशक्त युवा कवि सुदिपका पिता हुन् । बुबाको प्रसंगले कवि मन निक्कै भावुक भइसकेको थियो । बोल्ने क्रममा आँशु थाम्नै सकेनन् । उनी बोल्न नसकेपछि प्रमुख अतिथि कवियित्री कुन्ता शर्माले बोलिन् । त्यसपछि केही सम्हालिएर पाख्रिन स्टेजमा पुगे । ‘वम दाईले जसरी बुबाको प्रसंग ल्याइदिनुभयो, म भावुक भए’–प्रष्टीकरण दिदै सुदिपले भने–‘आफुले गुमाएको प्यारो मान्छे या त दुःख पर्दा या ज्यादै सुखमा याद आउदो रैछ ।’ यति भनिसकेर उनले आमालाई समर्पित कविता निदाईसकेपछि सधैलाई सुनाए,
सुत्दा सुत्दै
सुत्नेछु एकदिन
फेरि कहिल्यै नउठ्ने गरी
फेरि कहिल्यै
देखिने छैन त्यसपछि
पराजय, क्षोभ र ग्लानीमा पनि 
सदैव मुस्कुराइरहने यो मुहार.... ।
बीपी प्रतिष्ठानका परिक्रमा विद्यार्थी परिवारको आयोजनामा दगुरिहिड्ने चौबाटोको विसौनी कार्यक्रम भएको थियो । समालोचक रामजी तिम्सिनाले कवि पाख्रिनलाई असल र प्रशस्तै सम्भावना भएका कविकोरुपमा उल्लेख गरे । कवि पाख्रिन पठन सँस्करबाट हुर्किएको र  त्यस्ता कविहरुले धेरै सुन्दर कविता लेख्ने गरेको उनको भनाई थियो । ‘कवि सुदिप सरल व्यक्तित्वका कवि हुन्, उनमा इगो अहिलेसम्म पाएको छैन । उनको कविता त्यही व्यक्तित्वको प्रकाशन हो’–समालोचक तिम्सिनाले भने–‘संग्रहको नामै काव्यिक छ । जीवन, सौन्दर्य, प्रकृतिले भरिएको छ । देशप्रेम छ, कल्पनाको संयोजन सुुन्दर छ, कल्पनाको उच्चतहमा विम्वको प्रयोग छ ।’ उनले लोकधुन शिर्षकको कविता शताब्दीयौंदेखिको अन्धकारमाथि प्रहार भएको वैचारिक दृष्टिकोणले सशक्त कविताकोरुपमा व्याख्या गरे ।
अर्का परिचर्चाकार कवि वम देवानले पाख्रिनलाई पराभौतिकवादी कवि भएको बताए । ‘उनी पराभौतिकवादी हुन्, इश्वरको अस्तित्वमा विश्वास गर्छन, दर्शनिक हुन्, आत्मा विश्वास राख्छन् । शोसित पीडित, श्रमजिविको पक्षमा छन्’–कवि देवानले भने–‘राज्यको आँखा नपुगेको ठाउँमा भावकु हुन्छन्, प्रखर ब्यङगकार पनि छन्, झुटा नेताहरुलाई ब्लाक होलमा घुयेत्रो हान्न चाहन्छन् ।’ कवियित्री कुन्ता शर्माले पाख्रिनलाई इमान्दार कविकोरुपमा चिनाउदै विचारलाई कलाले ढाकेर कवितामा सुन्दर भावमा प्रस्तुत भएको बताए ।
सोही कार्यक्रममा कलरव धरानले भुकम्प पीडित तीन जना कलाकारहरुलाई सहयोगसमेत गरेको थियो । केही समयअघि कलरवले पुर्ननिर्माणमा कविता र पुर्ननिर्माण क्यानभाष कार्यक्रमबाट संकलन गरेको ३० हजार वरिष्ठ कलाकार कर्ण मास्केलाई हस्तान्तरण गरिएको थियो । उक्त रकम कलाकारहरु भक्तपुरका शर्मिला हांवाजु, सुर्यबहादुर चित्रकार र बौद्धकी लालमाया मोक्तानलाई उपलब्ध गराइने भएको छ ।






















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे