स्कुल स्कुलमा डान्सको अडिशन

धरान । ‘प्रतिभाको विकास स्कुल स्कुलबाट’ भन्ने नारासहित सुनसरी जिल्ला अन्तर विद्यालय स्कुल स्कुलमा एकल नृत्य प्रतियोगिता २०७३ को पहिलो चरणको अडिशन(छनौट) सकिएको छ । आयोजक युनाइटेड मल्टि आर्टसले जनाएअनुसार पहिलो चरणको अडिशन राउण्डबाट विभिन्न स्कुलबाट १ सय २६ जना प्रतियोगी छात्राहरु छनौट भएका छन् ।
आयोजकले जेठ १९ गतेदेखि असार ६ गतेसम्म विभिन्न स्कुलमा आयोजना गरेको अडिशनबाट उनीहरु छनौट भएका हुन् । आयोजकले जिल्लाका कुल ४३ वटा स्कुलमा पुगेर स्टेज कार्यक्रममार्फत प्रतियोगीहरुलाई छनौट गरेको थियो । ‘धरानको ३३ वटा र बाँकी इटहरी, तरहराको स्कुलमा पुगेर अडिशन ग¥यौं, विद्यार्थीहरु आफ्नो नृत्य प्रतिभा देखाउन पाउदा ज्यादै उत्साहित भएका थिए’–युनाइटेडका व्यावस्थापक सन्तोष तामाङले भने– ‘अधिकांश विद्यालयमा किताब पढ्नु मात्रै शिक्षा होइन, गायन नृत्यजस्ता गतिविधिले पनि विद्यार्थीको बौद्धिक विकासमा मद्दत पुग्छ भन्ने अवधारणा विकास भएको पायौं ।’
पहिलो चरणको अडिशनको क्रममा विभिन्न स्कुलले गत बर्षकी विजेता सरिना केसीलाई सम्मान पनि गरेको व्यावस्थापक तामाङले जानकारी दिए । उनका अनुसार अडिशनमा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । हरेक दिन विद्यालयसँग समन्वय गरेर अडिशन सञ्चालन गरिएको थियो । अडिशन राउण्डमा कुल ५ सय ७५ विद्यार्थीहरुले सहभागीता जनाएको व्यावस्थापक तामाङले जानकारी दिए । छनौट भएका प्रतियोगी विद्यार्थीहरु पुनः साउन तेस्रो साता हुने दोस्रो चरणको छनौटको तयारीमा जुटेका छन् । दोस्रो चरणमा नेपाली मोर्डन राउण्ड हुनेछ । त्यस राउण्डबाट ८० जना प्रतियोगी छनौट हुनेछन् । उनीहरु पुनः भदौमा तेस्रो चरणको नेपाली लोक फिल्मीमा आफ्नो प्रतिभा देखाउनेछन् । त्यस चरणबाट टप १५ जना मात्र फाइनलिष्ट प्रतियोगी छनौट गरिने कार्यक्रम संयोजक मिलन भुजेलले जानकारी दिए । फाइनल पुगेका प्रतियोगीहरुबीच मंसिर तेस्रो साता उपाधिको भिडन्त हुनेछ । फाइनलमा प्रतियोगीहरुले आफ्नै छनौटका साँस्कृतिक गीतमा नृत्य गर्नेछन् भने निर्णायकले छनौट गरेको गीतमा पनि नृत्य गर्नुपर्ने हुन्छ ।
प्रतियोगिताको विजेताले नगद २० हजार, नटराज ट्रफी पाउनेछन् भने कम्तीमा ७ तोलाको चादीको क्राउन पनि विजेताले पाउनेछ । तर, यो क्राउन विजेताले अर्को बर्षका विजेतालाई हस्तान्तरण गर्नुपर्ने कार्यक्रम संयोजक भुजेलले बताए । यसैगरि, दोस्रो हुनेले नगद १० हजार, नटराज ट्रफी पाउनेछन् भने तेस्रो हुनेले नगद ५ हजार र नटराज ट्रफी पाउनेछन् । अन्य १२ प्रतिस्पर्धीहरुलाई पनि नटराज ट्रफी र प्रमाणपत्र दिइने उनले बताए । फाइनलमा सँस्कृतिक पहिरनमा फेशन शो पनि आयोजना गरिनेछ भने फाइनल प्रतिस्पर्धीहरुलाई पर्यटकीयस्थल नमस्ते झरना, धरानको विजयपुरगढीस्थित मठमन्दिरहरु र इटहरीको गोकुलम रिसोर्टको भ्रमण गराउने आयोजकले जनाएको छ । यस्तै, उनीहरुलाई उदद्घोषण तालिम, अभिनय कला र नेतृत्व विकासका विभिन्न कार्यक्रममा सहभागी गराउने व्यावस्थापक तामाङले बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे