कुहिएको चामल बिक्री, कारबाहीको माग गर्ने पत्रकारमाथि हातपात

धरान । कुहिएको चामल बिक्री गर्ने व्यापारी र उत्पादन गर्ने कम्पनीलाई कारबाहीको माग गर्ने धरानका एक पत्रकारमाथि हातपात भएको भएको छ । व्यापारीहरुले कारबाहीको विरोधमा बुधबार केहीबेर धरानको बजार पनि बन्द गराउदै हिडेका थिए । त्यसक्रममा उनीहरुले पत्रकारविरुद्ध नारासमेत लगाए ।
टेलिभिजन पत्रकार सन्तोष काफ्लेले खरीद गरेको चामल कुहिएको अवस्थामा फेला परेको थियो । घरमा बोरा लगेदेखि नै गन्हाउन थालेपनि काफ्लेले बुधबार खोलेर हेर्दा मात्र कुहिएको चामल भेटिएको र बोरा फिर्ता गरेर अनुसन्धानको प्रक्रिया थाल्दा हातपात भएको हो । ‘घरमा बोरा लगेदेखि नै गन्हाउन थालेको थियो, मुसा पो म¥यो कि भनेर किचन सफा ग¥यौं’–उनले भने–‘बुधबार बोरा खोलेर चामल ड्रममा खन्याउदा पो ह्वास्सै गन्हायो । चामल त कुहिएर डल्ला परिसकेको रहेछ ।’
उनले धरान ४ स्थित भवानी श्री ट्रेडर्सबाट ४ दिनअघि चामल खरीद गरेर लगेका थिए । राजकुमार अग्रहरीको यो टेड्रेर्स चामलको होलसेल बिक्रेता हो । चामल भने इटहरीको गोयल एग्रो प्रालिले उत्पादन गरेको हो । चामलको बोरामा ब्याच नम्बर ११ लेखिएको चामलको उत्पादन मिति मे २०१६ हो । कुहिएको चामल भेटिएपछि उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै काफ्लेले प्रहरी र इलाका प्रशासनलाई खबर गरेका थिए । होलसेल बिक्रेतालाई चामल बोरा फिर्ता बुझाएर कानुनी प्रक्रियाको लागि मुचुल्का तयार पार्ने क्रममा व्यापारीहरुले विरोध गर्दै हातपात भएको थियो । मुचुल्का तयार पार्ने क्रममा व्यापारी सिताराम आचार्यले प्रहरी किन बोलाएको भन्दै विरोध गर्दै हस्ताक्षर नगरी बजार बन्द गराउने धम्की दिएका थिए भने सुनसरी उद्योग वाणिज्य संघका उद्योग सचिव महेन्द्र प्रधानको नेतृत्वमा आएका २ व्यापारीले काफ्लेलाई हातपात गरेको काफ्लेले बताए । लगत्तै, संघका सदस्य प्रिन्स अग्रवाल, किरण अग्रवालसहित व्यापारीहरुको टोली पत्रकारविरुद्ध नारा लगाउदै बजार बन्द गराउन हिडेका थिए ।
घटनालगत्तै पत्रकार काफ्लेले संघका उद्योग सचिव प्रधानसहित ५ जनाविरुद्ध कारबाही र आफ्नो ज्यानको सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । यसैगरि, कुहिएको चामल उत्पादन गर्ने गोयल एग्रो र बिक्रेता भवानी ट्रेडर्सलाई पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका छन् । उद्योग सचिव प्रधानले भने मुचुल्का तयारी गर्दा केही तितोमिठो भएपनि आफुबाट नराम्रो व्यावहार नभएको बताए । ‘कस्ले हातपात ग¥यो मलाई थाह भएन, म एक्लै गएको हो । मसँग केही भएको थिएन’–उनले भने–‘म बन्द गराउन हिडेको होइन, केही घटना भाइहाल्छ कि भन्ने चिन्ताले चै गएको हो ।’
यसैबीच, नेपाल पत्रकार महासंघ सुनसरीले एक विज्ञप्ती जारी गर्दै पत्रकार काफ्लेमाथि हातापात भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ । अध्यक्ष केशव घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तीमा कुहिएको चामलबारे गुनासो गर्न पुग्दा व्यावसायीका प्रतिनिधि र केही व्यक्तिले हुलहुज्जत गरी चामल अलिअलि त कुहिन्छ त भनेकोप्रति निन्दा गरिएको छ । यस्तै, टेलिभिजन पत्रकार संघ सुनसरी, खेलकुद पत्रकार मञ्च सुनसरी, प्रेस चौतारीको धरान उपमहानगर कमिटिलगायत सञ्चार संस्थाहरुले पनि विज्ञप्ती जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे