चर्को दबाब पछि स्काभेटर चलाउन दिने निर्णय

धरान । चौतर्फी दबाब पछि धरान १५ स्थित बाँझगरा सामुदायिक वन उपभोक्ता समुहले सेउती खोलामा स्काभेटर प्रयोग गर्न नदिने निर्णय उल्टाएको छ । ठेकेदारसँगै जिविस सुनसरी, जिल्ला प्रशासन, प्रहरीलगायत सरकारी निकायबाट चर्को दबाब खेप्दै आएको समुहले सोमबार दिउँसो आकस्मिक बैठक बसेर स्काभेटर चलाउन नदिने यसअघिको निर्णय उल्टाएको हो । त्यसअघि, बिहान खोला अनुगमनमा आएको जिल्ला प्रशासन, जिविस, जलउत्पन्न तथा प्रकोप कार्यालयको टोलीसँग सेक्टर वन कार्यालय धरानमा छलफल भएको थियो । उक्त छलफलमा सरकारी निकायहरुले खोला ठेक्का लागिसकेको जसरी पनि ठेकेदारले मिसगिट्टी लैजाने भनेपछि वन समुह निर्णय उल्टाउन बाध्य भएको हो । वन क्षेत्रमा नोक्सान पुग्ने भन्दै बाँझगराले गत जेठ ८ गते खोलामा स्काभेटर प्रयोग गर्न नदिने निर्णय गरेको थियो ।
जिविस, प्रशासन र प्राविधिक टोलीले लगानी डुब्न दिनु हुदैन भन्ने आसयमा जसरी पनि मिसगिट्टी लैजाने भनेपछि समुह पछि हट्नु परेको वन समुहका अध्यक्ष राजन मोक्तानले बताए । ‘सरकारी निकाय, प्राविधिकहरुले ठेक्का लगाइसकेका छौं, ठेकेदारले जसरी पनि लैजान पाउछ । लगानी डुब्न दिनु हुदैन । विकास निर्माणमा पनि असर पुग्छ भने’–अध्यक्ष मोक्तानले भने–‘सबैतिरको दबाब आएपछि आकस्मिक बैठक बसेर स्काभेटर चलाउन दिने भयौं ।’ अध्यक्ष मोक्तानका अनुसार बिहान भएको छलफलमा अबदेखि जिविसले ठेक्का लगाउनुअघि वन समुहलाई आधिकारिक जानकारी दिनुपर्ने सहमति भएको छ । साथै, आई ईई रिपोर्टअनुसार कुन स्थानमा स्काभेटर लगाउने हो भन्ने पनि स्पष्ट गर्ने र प्रभावित क्षेत्रमा नदी कटान रोक्न चेक ड्याम बनाइदिने सहमति भएको छ । जिविसले भने आम्दानीको ३५ प्रतिशत बजेट उपमहानगरपालिकालाई दिने गरेकोले योजना प्रस्तुत गर्न आग्रह गरेको थियो ।
वन क्षेत्रमा क्षति पुग्ने भन्दै वन समुहले विरोध गरिरहे पछि हरेक बर्ष जिविसले वन क्षेत्रमा पर्ने सेउती खोला ठेक्का लगाउने गरेको छ । गत बिहिबार वन समुहले स्काभेटर चलाउन रोक लगाए पछि प्रहरी सुरक्षामा पुनः खोला उत्खनन् गर्न शुरु भएको थियो । ठेकेदारले स्काभेटर प्रयोग गरेर सम्झौता विपरीत जथाभावी मिसगिट्टी खोस्रने गरेपनि प्रशासनले कारबाही गर्नुको साटो उल्टै बचाउ गरिरहेको छ । ठेक्का सम्झौतामा वमोजिम जिविसका प्रविधिक र वातावरण अधिकृतको रोहबरमा मात्रै स्काभेटर लगाउने उल्लेख भएपनि उनीहरु उपस्थिति हुदैनन् । सम्झौतामा ०.७५ मिटर गहिराई मात्रै खोस्रने पाउने छ । आइतबार वन कार्यालय र वन समुहले अनुगमन गर्दा डेढ मिटर गहिराईसम्म स्काभेटरले खोला खोस्रिएको भटिएपछि पुनः स्काभेटर प्रयोग गर्न रोकिएको थियो ।
‘बाध्यताले स्काभेटर चलाउन दिनुपर्ने भयो । हामीले मात्रै रोक्न नसक्ने भयौं । उहाँहरुले पनि वन क्षेत्र कटान नहुने तरिकाले आईइई रिपोटअनुसार प्राविधिकको रोहबरमा मिसगिट्टी निकाल्छौं भनेपछि निर्णय फेनुप¥यो’–बाँझगराकी सचिव मायादेवी राईले भनिन् । त्यसअघि बिहान आइतबार मापदण्डभन्दा बढी मिसगिट्टी निकालेको ठाउँमा प्राविधिक टोली स्थलगत निरीक्षणमा गएको थियो । स्काभेटरले खनेर अघिल्लो दिन खाल्डो बनाएको ठाउँमा रातीको बर्षा पछि आएको बाढीले पुरिएको अवस्थामा भेटिएको थियो । ‘यहाँबाट स्काभेटरले खोस्रे पनि बर्षामा भरिहाल्छ, त्यसैले ठुलो क्षति हुदैन । कटान नहुने गरि बीचमा च्यानलिङ गरेका छौं, त्यसो गरेर मिसगिट्टी ननिकाले उल्टै बाढीले भित्ता हानेर क्षति गर्छ’–जिविसका वातावरण अधिकृत पुष्पनारायण चौधरीले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे