सैनिक भवनमा साँस्कृतिक नृत्य उत्सव(फोटोफिचर)

धरान । परालले छाएको चिटिक्कको घर । लहरै झुण्ड्याइएको मकैको हार । खोसेलाको पिरा । भित्तामा तानमा बुनेको झोला, हसिया, खुर्पा झुण्डिएको छ । बुधबार दिउँसो धरान १० स्थित सैनिक भवनमा छिर्दा स्टेजमा टिपिकल –मौलिक) नेपाली घर र सामग्रीहरु देखियो ।
केही छिनमा मगर जातिको मौलिक पहिरनमा आएका युवायुवतीहरु लहरै हात समाएर नाच्न थाले,
               बर्ष है दिनको लौ तिहारै आयो
हामी तिम्रो घरमा गाउघर रमाइलो
सयपत्री फुल हौ उनेको माला
लगाईदिउला गलामा सम्झी मायालाई
हुर्रा हा हा...हुर्रा हा...हा..।
ह्ुर्रा नाच पूर्वेली मगर समुदायको मौलिक सँस्कृति हो । यो नाच तिहार चाडको समयमा औशी(लक्ष्मी पुजा)देखि पूर्णिमाको दिनसम्म मगर जातिले घरघरमा नाचेर मनाउछन् । बुधबार भने सैनिक भवनमा यो भाका गुञ्जियो । अतिथिकोरुपमा उपस्थित महिला सञ्जाल धरानकी पुर्वअध्यक्ष मिना पुलामी मगरलाई नाचु नाचु लागेपनि मन थामेर बसिरहिन् । ‘मलाई त खुबै नाच्न मन लागेको थियो, मन थामेर बसे’–उनले भनिन् ।

मादल र बाँसुरीका तालमा देशै रमाइलो र हुर्रा हा हा..भाकामा गोलाकार भई नाचिने हुर्रा नाच धनकुटाको मुढेबास क्षेत्रबाट शुरु भएको मानिन्छ । हुर्रा पूर्वेली मगरहरुले मात्रै नाच्छन् । हुर्रा नाच मात्र होइन, बुधबार दर्जन बढी विभिन्न जातिको मौलिक सँस्कृतिक नाचहरु सैनिक भवनमा प्रस्तुत भयो । गरिमा डान्स सेन्टरले तीन दिने गरिमा साँस्कृतिक नृत्य उत्सव २०७३ आयोजना गरेको छ । सैनिक भवनमा शुक्रबारसम्म यस्तै मौलिक साँस्कृति, भाका र नृत्य गुञ्जिरहनेछ । ‘नेपालको साँस्कृतिक नृत्यलाई संरक्षण, प्रर्वद्धन गर्न र सँस्कृतिको माध्यमबाट पर्यटन विकासको लागि यो उत्सव आयोजना गरेका हौं’–सेन्टरका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणीकुमार लिम्बुले भने–‘दिउँसो स्कुले विद्यार्थीहरुको लागि र साँझमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको लागि नृत्य प्रस्तुत हुन्छ ।’ दिउँसो १ बजे र साँझ ५ बजेदेखि नृत्य प्रस्तुत हुने उनले बताए ।
सेन्टरका कलाकारहरुले समला मारुनी नृत्य, झापाको गरामनीमा बसोबास गर्ने सन्थाल जातिको सन्थाल नृत्य, नेवारी युवतीहरुले मात्र नाच्ने घिन्ताम नृत्य, लिम्बु जातिको च्याब्रुङ(केलाङ), शेर्पा जातिको सेलो नृत्य, राईको साकेला, धिमाल, थारु, राउटेलगायतको नृत्य प्रस्तुत गरेको थियो । एउटै स्टेजमा विविध नेपाली सँस्कृति हेर्न पाउदा निम्तालु अतिथिहरु औधि खुशी थिए । ‘सबै नेचुरल छ, जनजातिय सँस्कृतिको प्रतिनिधित्व देख्दा खुशी छुँ । यो नेपालको बिशेषता हो । भेषभुषाको साथमा संगीत र लय छ । यसले अन्र्तसाँस्कृतिक सद्भावमा वृद्धि गराउछ’–उत्सव उद्घाटन समारोहका प्रमुख अतिथि भाषाविद् डा.टंक न्यौपानेले भने–‘भाषा नबुझिए पनि भाका र नृत्यले आकर्षण दिन्छ । संगीत र नृत्य सर्वभौम हुन् ।’
आयोजक नृत्य प्रशिक्षणमा धरानको अग्रणी संस्था मानिन्छ । मौलिक साँस्कृतिक नृत्यलाई प्रर्वद्धन गर्ने उद्देश्यले गरिमा २०५९ मा स्थापना भएको थियो । संस्थाका प्रबन्ध निर्देशक लिम्बुका अनुसार उत्सवको अवसरमा सैनिक भवनका प्राङ्गणमा विभिन्न जातजातिको भेषभुषा र पहिरनहरुको प्रर्दशनी पनि राखिएको छ ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे