वनको अतिक्रमित जग्गा खाली गर्न अल्टिमेटम

धरान । वनको जग्गा अतिक्रमण गर्ने हिमाली डिष्टिलरी प्रालि र त्यहाँ घरटहरा बनाएर बस्ने नेकपा माओवादी केन्द्रका नेता, कार्यहरुलाई तीन महिनाभित्र सो क्षेत्र खाली गराउन जिल्ला वन कार्यालय सुनसरीले अल्टिमेटम दिएको छ ।
जिल्ला वनले जेठ २० गतेको मितिमा अतिक्रमण भएको वनको जग्गामा घरटहरा निर्माण गर्ने माओवादी नेता, कार्यकर्ताहरु र प्रालिका सञ्चालकलाई सुचना प्रकाशन(टाँस) गरेर तीन महिने अल्टिमेटम दिएको हो । तोकिएको म्यादभित्र अतिक्रमित वन क्षेत्रको पर्खाल र घर टहरा हटाएर खाली नगरे प्रचलित कानुन वमोजिम कारबाही हुने पनि जिल्ला वन कार्यालयले चेतावनी दिएको छ । लाहुरे रम उत्पादन गर्ने उद्योगले धरान १५ स्थित बाँझगरा सामुदायिक वन उपभोक्ता समुहको जग्गा अतिक्रमण गरी पर्खालसमेत लगाएको थियो । उक्त जग्गालाई पुनः अतिक्रमण गरी गत चैतदेखि नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले घरटहरा बनाएर बसेका छन् ।
जिल्ला वन अधिकृत(डिएफओ) राजेन्द्र प्रसाद निरौलाका अनुसार उद्योग सञ्चालकको घर ठेगानामा पनि सुचना पठाएर पर्खाल हटाउन अल्टिमेटम दिइएको छ । ‘वन क्षेत्र अतिक्रमण गरी पर्खाल लगाइएको र हाल थप घरटहरा बनाएको पाइएपछि जिल्लास्थित सुरक्षा निकायहरुको समन्वय बैठकले यो निर्णय गरेको हो’–डिएफओ निरौलाले भने–‘वन क्षेत्र, सरकारी जग्गा अतिक्रमण भए हटाउने दायित्व सरकारको हो । यो जग्गा वनको भएकोले हामीले अगुवाई गरेका हौं ।’ वनको जग्गा खाली गराउन सुचना प्रकाशन गरेर सम्बन्धित पक्षलाई जानकारी गराइसके पनि हालसम्म कुनै राय, प्रतिक्रिया भने नआएको उनले बताए । जग्गा खाली गराउने निर्णय समन्वय समितिले गत बैशाख २७ गते नै गरेको थियो ।
बाँझगरा वन समुहको अनुसार हिमाली डिष्टिलरीले वनको करिब साढे ५ कट्ठा जग्गा अतिक्रमण गरी पर्खाल लगाएको छ । यो उद्योग ०४७ सालताका स्थापना भएको थियो । राजश्व छलीको मुद्दामा राजश्व विभागले सिल गरेपछि लामो समयदेखि उद्योग वन्द अवस्थामा थियो । विभागको सिलबन्दी भएकै कारण वन समुहले अतिक्रमित क्षेत्रमा पर्खाल भत्काउन सकेको थिएन । विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि बन्द उद्योगमा एक दशकअघि माओवादीको वाईसिएलले क्याम्प खडा गरेको थियो भने पछिल्लो समय माओवादी नेता मुक्साहाङ, नेकपा–माओवादीका कोचिला बिशेष कमिटि सदस्य शिशिरसहित ५ परिवार बस्दै आएका थिए । कर फछ्यौट गरेर मुद्दा किनारा लगाइसकेको हुनाले उद्योग पुनः सञ्चालनमा आउने भएपछि माओवादी नेताका परिवार उद्योगले अतिक्रमण गरी भोगचलन गरिरहेको वनको जग्गामा घरटहरा बनाई सरेका हुन् ।
राजश्वबाट मुद्दा किनारा लागेपछि पर्खाल भत्काएर जग्गा फिर्ता गराउने तयारी गरिरहदा एक्कासी माओवादी नेता, कार्यकर्ताहरुले घर टहरा बनाएपछि बाँझगरा वन समुह विरोधमा उत्रिएको थियो । तर, सत्ताको प्रमुख साझेदार पार्टीसँगै गृहमन्त्री, वनमन्त्री आफ्नै पार्टीबाट भएको आडमा माओवादी नेता, कार्यकर्ताहरुले वन समुहलाई अटेर गरेर घरटहरा बनाएरै छाडे । उद्योगको पुर्वपटिको कम्पाउण्ड भत्काएर गेट बनाएका छन् भने गिटी विछ्याएर बाटो समेत खोलेका छन् । पार्टी र मन्त्रीको शक्ति प्रयोग गरेर माओवादीका नेताहरुले अतिक्रमणलाई वैधता दिने प्रयास गरेपनि बाँझगरा वन समुहले सम्पुर्ण कागजात, प्रमाण पेश गरेपछि केही लागेन । तिनै प्रमाणको आधारमा सुरक्षा निकायको समन्वय बैठकले अतिmक्रमित जग्गा खाली गराउने निर्णय गरेको हो ।
जनयुद्ध बस्ती नाम दिइएको वन क्षेत्रमा माओवादी नेता मुक्साहाङकी श्रीमति ज्योति लिम्बुको नाममा विजुलीको मिटर जडान भइसकेको छ । सार्वजनिक तथा ऐलनी पर्ती जग्गाको संरक्षण गर्ने जिम्मा पाएको धरान उपमहानगरपालिकाले पनि फिल्ड अध्ययन नगरी हचुवाको भरमा वनको जग्गामा विद्युत जडानको सिफारिश दिएको थियो । स्थलगत अध्ययन गरेर वास्तविकता नबुझी सिफारिश दिएको भन्दै वन समुह उपमहानगरपालिकासँग पनि असन्तुष्ट छ । माओवादी नेताको आडमा ६ जनाको नाममा ०७१ सालमा नै जनयुद्ध बस्ती नाम गरी नगरपालिकामा विद्युत जडानको लागि सिफारिश माग गरेका थिए । नगरपालिकाले ०७१ मंसिर १० गते ज्योति लिम्बु मेन्याङ्बो, कुन्छोति सुब्बा, सर्मिला राई, नरेन्द्र देवान, सुकराज लिम्बु र प्रेमबहादुर राईको नाममा विद्युत प्राधिकारणलाई सिफारिश गरेको थियो । स्थायी मिटर जडानको लागि समय लाग्ने भएपछि पुनः अस्थायी सिफारिश लिएर माओवादी नेता मुकेशकी श्रीमति ज्योतिको नाममा भने प्राधिकरणले अस्थायी मिटर जडान गरेको हो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे