चार दिनसम्म विजुली नआएपछि प्राधिकरण घेराउ

धरान । ट्रान्सफर्मर पड्किए पनि विद्युत प्राधिकरणले समयमै मर्मत वा नयाँ जडान नगर्दा ४ दिनसम्म अन्धकारमा बस्नु परेको भन्दै धरान ८ का बासिन्दाहरुले विद्युत प्राधिकरणमा घेराउ गरेका छन् । घटनाबारे समयमै जानकारी गराउदा पनि प्राधिकरणले मर्मत वा नयाँ ट्रान्सफर्मर जडान नगरेपछि आइतबार सयौंको संख्यामा सर्वसाधारणहरु धरान १६ स्थित प्राधिकरण कार्यालय घेराउ गर्न पुगेका थिए । उनीहरुले प्राधिकरण प्राङ्गणमा धर्ना दिएका थिए भने इञ्जिनियर एवं निमित्त प्रमुख साजन मर्हजनमाथि आक्रोश पोखेका थिए ।
गत बिहिबार राती करिब ८ बजे धरान ८, दुर्गापथको ढुंगेमिशिन नजिकको ट्रान्सफर्मर पड्किएको थियो । पटक पटक मर्मतको लागि खबर गरेपनि आइतबार बिहानसम्म पनि सुनुवाई नभएपछि २ वटा गाडी रिजर्ब गरेर स्थानीयहरु प्राधिकरण घेराउ गर्न पुगेका थिए । ‘बिहिबार राती पड्केको हो, अहिलेसम्म पनि बनेन । चार दिन भईसक्यो घरमा विजुली नआएको । जनतालाई यत्रो समस्या हुदा पनि वास्तै नगरेपछि घेराउ गर्न आउनुपर्यो’–दुर्गापथकी वालिका सुनुवारले भनिन् ।
स्थानीयका अनुसार करिब एक हजार ५ सय घरपरिवार बिहिबार रातीदेखि अन्धकारमा बस्नु परेको थियो । दुर्गापथसँगै अरुण टोल, वरुण टोल, भृकुटी मार्ग, आकाश मार्गको बसोबास क्षेत्रमा पनि विजुली काटिएको थियो । चार दिनसम्म विजुली नआएपछि फ्रिजमा राखेको खाद्यवस्तुहरु सबै बिग्रिएको र विद्यार्थीहरुलाई अध्ययनमा पनि समस्या भएको रमेश भट्टराईले बताए । अझ राती वृद्धवृद्धालाई घरमा हिडडुल गर्न पनि गाह्रो भएको आकाश मार्गका जितबहादुर श्रेष्ठले बताए । उनी बिहिबार राती चर्पी जाने क्रममा अध्यारोको कारण लडेर घाइतेसमेत भएका थिए ।
स्थानीयका अनुसार सोही स्थानमा यसअघि पनि ३ पटक ट्रान्सफर्मर पड्किएको थियो । करिब दुई महिनाअघिदेखि ट्रान्सफर्मर चर्को आवाजमा कराउन थालेपछि केही दुर्घटना होला कि भनेर प्राधिकरणमा निवेदनसमेत दिएको दुर्गापथका वासिन्दा डेडभद्र श्रेष्ठले बताए । ‘ट्रान्सफर्मर कराउदा छेउछाउका घरमा बस्नै सकिदैन, यस्तै घटना हुन्छ भनेर हामीले त्यतिबेलै निवेदन दिएका थियौं । तर वास्तै भएन । त्यही भएर अहिले हामीले यो कष्ट सहनुपर्यो’–उनले भने ।
घेराउसँगै स्थानीयबासीको चर्को दबाब पछि प्राधिकरणले क्षेत्रीय कार्यालय विराटनगरबाट भाडामा ट्रान्सफर्मर ल्याएर जडान गरिदिएको थियो । दिउँसो करिब साढे ३ बजेदेखि मात्र ४ दिनपछि विजुली आएको दुर्गापथका युवा हेमराज राईले जानकारी दिए । उनका अनुसार सर्वसाधारणहरु प्राधिकरणको कर्मचारीसँगै घटनास्थल पुगेर जडान गरेपछि मात्र घर फर्किएका थिए । प्राधिकरणका निमित्त प्रमुख एवं इञ्जिनियर साजन मर्हजनले भने पड्किएको ट्रान्सफर्मर २०० के.भी.क्षमताको भएको र त्यसको स्टक क्षेत्रीय कार्यालयमासमेत नभएकोले जडान गर्न ढिलाई भएको बताए । ‘१०० के.भी.माथिको ट्रान्सफर्मरको स्टक हामीसँग हुदैन, यसपटक क्षेत्रीय कार्यालयमा पनि स्टक नभएकोले ढिलाई भयो । हामीले निजी वर्कसपबाट भाडामा ट्रान्सफर्मर ल्याएर अर्को व्यावस्था नभएसम्मलाई जोडिदिएका छौं’–इञ्जिनियर महर्जनले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे