ढुंगा गिट्टी निकाल्न वन क्षेत्रमै अनुमति

धरान । वन क्षेत्रलाई नोक्सान हुने गरी सुनसरी जिल्ला विकास समितिले सेउती खोलाबाट ढुंगा मिसगिट्टी निकाल्न अनुमति दिएको छ । वन समुहले भने स्काभेटर प्रयोग गरेर ढुंगा तथा मिसगिट्टी निकाल्ने अनुमति दिएको भन्दै वन समुहले विरोध जनाएको छ ।
वन क्षेत्रमा पर्ने सेउती खोला जिविसले ठेक्का लगाएपछि रुष्ट बनेको उपभोक्ता समुहले खोलामा स्काभेटर प्रयोग गर्नसमेत प्रतिबन्ध लगाएको छ । ठेकेदारले बुधबार स्काभेटर प्रयोग गरेर मिसगिट्टी झिक्न शुरु गरेपनि धरान १५ स्थित बाँझगारा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुले रोक लगाएका थिए । त्यसयता ठेकेदारले सेउतीमा स्काभेटर प्रयोग गरेको छैन । ठेकेदारले स्काइभेटर प्रयोग गरी जथाभावी रुपमा ढुंगा, मिसगिट्टी निकाल्दा वनक्षेत्रमा व्यापक कटान र क्षति पुग्ने भन्दै जेठ ८ गते यो वन समुहको कार्यसमिति बैठकले स्काभेटर प्रयोग गर्न नदिने निर्णय गरेको थियो । वन क्षेत्रको प्राकृतिक स्रोत ठेक्कामा लगाएर आम्दानी गर्ने जिविसले वन क्षेत्रमा हुने कटान र क्षति रोक्न भने लगानी नगरेकोमा पनि उपभोक्ताहरु रुष्ट छ ।
बाँझगरा वन समुहका सहसचिव कुमार भारतीका अनुसार धरान पानवारी जाने सडकअन्र्तगत सेउतीमा बन्दै गरेको नयाँ पुललाईसमेत असर पुग्ने भएकोले स्काभेटरलाई रोक लगाएको बताए । साथै, उनले खोला किनारको १० हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्न तयारी भएको र त्यसलाई पनि क्षति पुग्ने देखिकोले स्काभेटर लगाउन नदिइएको बताए । ‘हाते औजारहरु प्रयोग गरेर लैजान्छन् भने छुट छ, तर वन क्षेत्रलाई क्षति पुग्ने भएकोले स्काभेटर लगाउन नदिने निर्णय गरेका हौं’–सह सचिव भारतीले भने–‘जिविसले पनि खोलाबाट फाइदा मात्रै लिन्छ, क्षति हुन नदिन चेक ड्याम बनाइदिनुपर्छ भन्दा वास्तै गर्दैन ।’
वन समुहका अनुसार वर्षायाममा खोलामा आउने बाढीले सामुदायिक वनक्षेत्रको जमिन व्यापकरुपमा कटान गर्नुको साथै सयौंको संख्यामा रुख तथा बोटबिरुवा बगाएर विनाश गर्ने गरेको छ । सेउती खोलाले वर्षेनी धरान–१५ स्थित बाँझगरा, धरान २३ स्थित पानवारी सामुदायिक वन र बालऋषि सामुदायिक वन समूहको करिब २ किलोमिटर क्षेत्र कटान गदै बग्ने गर्छ । स्थानीय उपभोक्ता एवं वन समुहलाई वेवास्ता गर्दै जिविस सुनसरीले बर्षेनी खोला ठेक्का लगाउने गर्छ । ठेक्का सम्झौतामा स्काभेटर पनि प्रयोग गर्न पाउने भन्ने सर्तले गर्दा ठेकेदार र उपभोक्ता समुहबीच बर्षेनी तनाव उत्पन्न हुने गर्छ । मेशिनरी(स्काभेटर) अनिवार्यरुपमा जिविसको प्राविधिक र वातावरण अधिकृतको रोहबरमा मात्र प्रयोग गर्न पाउने प्रावधान भए पनि उनीहरुको उपस्थिति विना नै ठेकेदारले जथाभावी प्रयोग गर्ने गरेको छ ।
यो बर्ष सेउती, सर्दुु, दुहबी र पटनाली खोलाको ठेक्का इटहरीको जय श्री पाथीभरा ट्रेर्ड एण्ड सप्लायर्सले संयुक्तरुपमा १ करोड ७१ लख ७८ हजार रुपैयामा पाएको छ । सप्लायर्स उमा कोइरालाको नाममा भएपनि खोलाको ठेक्का भिम पौडेलले पाएका हुन् । पुर्वका अधिकांश खोलामा जिविस कर्मचारीसँगको सेटिङमा पौडेलले एकछत्र कब्जा जमाउदै आइरहेका छन् । ठेकेदार पक्ष भने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार नै स्काभेटरले मिसटिट्टी निकाल्न लागेको दाबी छ । खोला ठेक्का लगाउन प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला वनअधिकृतसमेतले स्वीकृति दिने गरेको छ । सेउतीमा ९ सय १० मिटर लम्बाई, २५ मिटर चौडाई र ०.७५ मिटर गहिराईसम्म मात्र मिस गिट्टी निकाल्न पाउने सम्झौता छ ।
सेक्टर वन कार्यालयका प्रमुख सहायक वन अधिकृत ज्ञानकुमार लामा वन क्षेत्रको खोला ठेक्का लगाउने बिषयमा स्थानीयस्तरमा वन समुहको विरोध हुने गरेपनि आई.ई.ई. प्रतिवेदनअनुसार जिविसले ठेक्का लगाउने बताउछन् । प्रतिवेदनअनुसार मिसगिट्टी निकाले असर नपुग्ने उनले बताए । ‘वन क्षेत्रको खोला ठेक्का लगाउने बिषय विवादित नै हुनेगर्छ, तर आईईई रिपोर्टअनुसार निकाल्दा राम्रै हुन्छ’–लामाले भने । जिविस सुनसरीका वातावरण अधिकृत पुष्पनारायण चौधरीले चुरे क्षेत्रबाहेक आई.ई.ई. गरेर वन, मानव वस्तीलाई असर नपुग्ने गरी खोला ठेक्का लगाएको बताए । ठेक्का लागेको निश्चित क्षेत्रलाई तीन खण्डमा विभाजन गरेर बीचको भागबाट मात्र मिसगिट्टी निकल्न पाउने उनले बताए । ‘आईईई रिपोर्टले कहाँबाट कति निकाल्ने भनेर प्रष्टै भनेको छ, मिसगिट्टी ननिकाल्ने हो भने पानवारी जाने बाटो र डम्पिङ साइडलाई नै क्षति पुग्ने देखिन्छ’–चौधरीले भने–‘नदी नियन्त्रणको लागि २५ देखि ३५ प्रतिशतसम्म नगरपालिकामार्फत नदी कटान रोेक्न लगानी गरिरहेका छौं ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे