बाढी र पहिरोले मंगलबार दिनभर कोशी राजमार्ग अवरुद्ध

धरान । लगातारको बर्षाले पहिरो गएर धनकुटाको महाभारत ४ स्थित खराने खोलामा आएको बाढीले मंगलबार दिनभरजसो कोशी राजमार्ग अवरुद्ध भयो । सोमबार राती भारी बर्षासँगै पहिरो गएर खराने खोलाको पुल नै पुरिएको थियो ।
पहिरो गएको लेदोसहितको माटो सडकमा थुप्रिएपछि राती करिब २ बजेदेखि नै कोशी राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय धनकुटाकी सुपरभाइजर अमृता राईले बताइन् । उनका अनुसार पहिरोले ४ वटा ह्युम पाइप थुनिएपछि पानीले लेदो माटो बगाएर सडकमा थुपारेको थियो । बाढी र पहिरोले कोशी राजमार्गमा करिब २ सय मिटर माटो थुपारेको थियो । ‘राती २ बजेदेखि नै बाटो अवरुद्ध भएको थियो, माथि भिरबाट पहिरो गएर आएको माटोले ह्युमपाइप थुनिएर सडकमा थुप्रिएछ’–सुपरभाइजर राईले भनिन–‘माटो हटाएर पालैपालो एकतर्फी यातायात सुचारु गरेका छौं ।’
सडक अवरुद्ध भएपछि सयौं सवारी साधन बीच बाटोमा रोकिएको थियो भने सर्वसाधारण यात्रुहरु घण्टौं अलपत्र परेको थियो । राजमार्ग अवरुद्ध भएको करिब साढे ७ घण्टापछि बिहान साढे ९ बजेतिर एकतर्फी यातायात सुचारु गरिएको थियो । दुई वटा एक्साभेटरले सडकको माटो हटाएपछि सुरक्षाकर्मीले सडक दुवैतर्फका सवारीसाधानलाई पालैपालो आवागमन गराएको थियो । सडक खुलेको करिब २० मिनेट पनि नपुग्दै पुनः बर्षा शुरु भएपछि लेदो माटो आएर सडक अवरुद्ध बनेको थियो । ‘दिउसो १ बजेदेखि फेरि सडक खुलेको छ तर पानी प¥यो भने अवरुद्ध भइहाल्छ’–सुपरभाइजर रईले भनिन् । तीन वटा भिरको मुहान एकै ठाउँमा भएकोले बर्षा हुदा भारी मात्रामा लेदो माटो खराने खोलामा बग्ने उनले बताइन् ।
जेठ यता मात्र बर्षा हुदा यो खोलाले ३ पटक कोशी राजमार्ग तीन पटक अवरुद्ध गरिसकेको छ । ब्रिटिशले राजमार्ग निर्माण गर्दा बनेको पुल केही बर्षअघि बर्षा र पहिरोले पुरिएको थियो । पुरिएको पुल माथि नै पुनः नयाँ पुल तयार पारिएको थियो । तर, त्यो पुल पनि परेपछि त्यसमाथि ४ वटा ह्युम पाइप राखेर सडक सुचारु गरिएको थियो । नेपाली कांग्रेस धनकुटा क्षेत्र नम्बर १ का सभापति जितेन्द्र रुम्दालीका अनुसार राजमार्ग निर्माण गर्दा नै ब्रिटिशले खोलाबाट यो पुल समस्याग्रस्त हुने बताएको थियो । पहिरोबाट खराने खोला नजिकैको गोलखाडी वस्ती पहिरोको जोखिममा भएकोले राज्यले चाडै विचार गर्नुपर्ने उनले बताए । ‘वस्तीलाई सुरक्षित गर्न र पहिरो नियन्त्रणमा सडक डिभिजन, भुक्षय कार्यालयले चाड काम अघि बढाउनुपर्छ’–उनले भने ।
पुर्वाञ्चल क्षेत्रीय सडक डिभिजन कार्यालयका प्रमुख शिवहरी सापकोटाले खराने खोला नजिकै मुलघाटमा एक्साभेटर स्टाण्ड वाई राखिएको र सडक अवरुद्ध हुनेबित्तिकै सफा गर्ने व्यवस्था गरिएको बताए । त्यसबाहेक तत्काल अन्य उपाय नभएको उनको भनाई छ । पहिरोले दिनहुँजसो दुःख दिएमा मात्र भविष्यमा के गर्ने भनेर सोच्न सकिने उनले बताए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे