वन्यजन्तुको संख्या घटेको भन्दै शिकार नखेल्ने सल्लाह

धरान । बर्षेनी फागुन र चैत महिनामा वन क्षेत्रमा डढेलो लाग्छ । यो बेला जंगल खुला हुने र वन्यजन्तु सजिलै देखिनाले शिकारीहरु शिकार खेल्न सक्रिय हुन्छन् । तर, विगतका बर्षहरुमा जस्तो यसपटक भने धरान आसपासको वन क्षेत्रमा उपभोक्ताहरुले बन्दुक पड्केको आवाज सुनेका छैनन् ।
त्यसो भए वन्यजन्तुको शिकार पुर्णरुपमा नियन्त्रणमा आएको हो त ? यथार्थ भने त्यस्तो होइन । ‘शिकारीहरुबीचमा केही समय शिकार नखेल्ने सल्लाह भएको छ रे, त्यही भएर यो पटक शिकार गरेको घटना कतै सुनिएको छैन’–धरान १७ स्थित उदय सामुदायिक वन समुहका अध्यक्ष मिन सुनुवारले भने–‘नत्र माघ, फागुन, चैत महिनामा शिकार गर्थे ।’ उनका अनुसार शिकारीबीचको सल्लाह उपभोक्ता सदस्यहरु हुदै उनको कानसम्म आइपुगेको हो । डढेलो र नियमित शिकार गर्दा वन्यजन्तुको संख्या घटेको निष्कर्ष निकाल्दै शिकारीहरु यो बर्ष मौनता साधेको सुचना आफुले पाएको सुनुवारले बताए । ‘एउटा गर्भिणी माउ बदेलको शिकार खेल्दा एक दर्जन भन्दा बढी बच्चाहरु पनि मर्छ, माउ मार्दा संख्या त त्यसै पनि घट्ने भाइहाल्यो । तिनको सन्तान पनि नहुदा अबको केही बर्षपछि वन्यजन्तु नै नपाइने अवस्था आइलाग्छ’–सुनुवारले भने–‘शिकारीहरुबीचमा यसबारे पनि कुरा भएको भन्ने सुन्यौं, यो त राम्रो पक्ष हो । सधैलाई शिकार नभई दिए झनै राम्रो ।’
धरानको दक्षिणी क्षेत्रमा घना चारकोसे जंगल छ । त्यहाँ उदय, हरियाली, हिमाली, यलम्बर, लांघाली, पानवारी वन समुह छ । अझ दक्षिणतिर इटहरी, भरौल, बक्लौरी क्षेत्रको वन समुह छ । वन क्षेत्रमा वदेल, चित्तल, हरिण, दुम्सी, सालक, सुन गोहोरो, मयर लगायत वन्यजन्तुहरु पाइन्छ । ती मध्ये शिकारीहरुले मासुको लागि बदेल, चित्तल र दुम्सीको अत्यधिक शिकार खेल्ने गरेको उपभोक्ताहरुको भनाई छ । ‘पहिला जस्तो चित्तल, बदेल देखिनै छोडिसक्यो । त्यही भएर कतिले त शिकार गर्नै छोडेको पनि होला । राती शिकार गर्नुपर्ने भएकोले दुःख कति गर्नु भन्ने पनि भएको होला’–हरियाली वन समुहका पुर्वअध्यक्ष टेक तामाङले भने–‘कारण जे भए पनि यसपाली शिकार भएको भन्ने कतै सुनिएको छैन ।’
 वन समुहका उपभोक्ताहरुले दिउसो नियमित गस्ती गरेपनि शिकारीहरु राती सक्रिय हुन्छन् । कतिपयले दिउसै शिकार खेल्ने गर्छन । उपभोक्ताहरु निहत्था हुने र शिकारीसँग बन्दुक हुने भएकोले सजिलै उम्कने गरेका छन् । उपभोक्ता गस्तीको बेला जम्काभेट हुदा शिकारी आफै भाग्ने र कतिपयले धम्की दिने गरेको उदयका अध्यक्ष सुनुवारले बताए । डढेलोको कारण पनि धेरै वन्यजन्तु मारिएको उनी बताउछन् । ‘तीन बर्षमात्रै जंगलमा डढेलो नलाग्ने हो भने वन्यजन्तुको संख्या ह्वात्तै बढ्छ’–उनी भन्छन् । वन समुहहरुले जंगलमा वेवारिस अवस्थामा फेला परेको वन्यजन्तुलाई संरक्षण गरेर राखेपनि सरकारबाट कुनै सहयोग नपाएको उनको गुनासो छ । ती वन्यजन्तुुलाई खाना, चारो खुवाउन बजेट अभावले वन समुहहरु समस्यामा छन् । जंगलमा छोडिदिदा शिकार गर्ने भएकोले संरक्षण गरेर राख्नु बाध्यता भएको सुनुवारले बताए । ‘यस्तो जनवारलाई कि सरकारले खान्कीको लागि सहयोग गरोस्, कि कानुनी प्रक्रिया पु¥याएर घरमा पाल्न दिइयोस्’–उनले भने । उदय वन समुहले मात्रै ३२ वटा चित्तल संरक्षण गरेर राखेको छ ।
सेक्टर वन कार्यालय धरानका प्रमुख तथा सहायक वन अधिकृत ज्ञानकुमार लामाले पनि शिकारीले नै शिकार गर्न नदिएको सुचना उपभोक्ताबाट पाएको र बन्दुक पड्कीएको आवाज पनि कतै नसुनिएको बताउछन् । ‘हाम्रो वन रक्षकहरुले नियमित जंगलमा गस्ती गरिरहेको छ, उपभोक्ताहरु पनि सक्रिय छन् । पहिला जस्तो बन्दुक पड्किएको आवाज कतै सुनिएको छैन’–लामाले भने–‘शिकारीहरुको सल्लाह साच्चै हो कि बर्खा लागेर हो, यो पटक शिकार भएको छैन । यो त खुशीको कुरा हो ।’ कतिपय शिकारीहरु उपभोक्ता नै हुने गरेकोले यो खबरमा सत्यता हुनसक्ने उनको भनाई छ । व्यावसायिक शिकारीसँगै कतिपय सौखिन व्यक्तिहरु पनि शिकार खेल्ने गरेका छन् । शिकारीहरुले बदेल, चित्तलको शिकार गरेर गोप्यरुपमा होटलहरुमा मासु बिक्री गर्ने गरेको सुचना वन कार्यालयसँग छ । ‘शिकारीसँग हाम्रो वन रक्षकको मुठभेट पनि हुन्छ, २ बर्षअघि १ जना पक्राउ परेर कारबाही नै भएको थियो । त्यसयता कोही पक्राउ परेको छैन’–लामाले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे