गैरकानुनी क्रसरलाई कारबाही भएन

धरान । मापदण्ड विपरीत बषौंदेखि खोला र वन क्षेत्र नजिक क्रसर उद्योग सञ्चालनमा रहे पनि कुनै कारबाही भएको छैन । धरानको पश्चिम सर्दु खोला किनार र वन क्षेत्रमा करिब एक दशकअघिदेखि नवदुर्गा स्टोन क्रसर उद्योग सञ्चालनमा छ ।
यस्ता क्रसर उद्योग खोला र वन क्षेत्रबाट २ सय मिटर टाढा मात्र सञ्चालन हुनुपर्ने कानुनी प्रावधान छ । तर, यो उद्योग खोला र वन क्षेत्रसँगै जोडिएर सञ्चालनमा छ । सुनसरी जिल्लामा सञ्चालन अनुमति पाएको यो एक मात्र क्रसर उद्योग हो । कानुनी प्रावधान मिचेर सञ्चालनमा रहेपनि कारबाही गर्नुपर्ने निकाय भने मौन छ । यो उद्योग सञ्चालन भएको ठाउँ चुरेको फेदी पनि हो । चुरे आसपासको करिब १ किलोमिटरमा समेत क्रसर उद्योग सञ्चालनमा रोक लगाएको छ ।
कानुनी प्रावधान मिचेर क्रसर सञ्चालनमा रहेको जानकारी जिल्लास्थित सरोकारवाला सरकारी निकायलाई नभएको भने होइन । हरेक बर्षजसो सरकारी अनुगमन टोली क्रसरमा स्थलगत निरीक्षणमा आउने गर्छ । तर, क्रसरलाई कुनै कारबाही हुदैन । ‘करिब तीन बर्षअघि स्थलगत अध्ययन, अनुगमन टोली आउदा नै प्रतिवेदनमा हामीले वन क्षेत्र नजिक छ भनेर मेन्सन गरेका थियौं’–सेक्टर वन कार्यालय प्रमुख ज्ञानकुमार लामाले भने–‘चुरेको पनि फेदीमै छ ।’ सर्दु किनारमा सञ्चालनमा आउनुअघि यो क्रसर धरान ८ दुर्गापथमा थियो । त्यहाँ पनि खहरे किनार र वन क्षेत्रको नजिक थियो ।
सर्दु किनारमा सञ्चालनमा आएको करिब ९ बर्ष भएपनि कानुन पालना गराउने निकायहरु चुप छन् । पछिल्लो समय सिडिओको संयोजकत्वमा रहेको अनुगमन समिति शनिबार क्रसर उद्योगमा पनि पुगेको थियो । समितिले मापदण्डविपरीत खोला किनार र वन नजिकै उद्योग भएको पाएपछि आवश्यक सबै कागजात पेश गर्न उद्योगलाई निर्देशन दिएको थियो । ‘स्थलगत निरीक्षणमा जादा मापदण्ड विपरीत खोला र वन क्षेत्र नजिक क्रसर भएको पायौं, त्यसैले सबै कागजात लिएर आउन निर्देशन दिएका छौं’–जिल्ला वन अधिकृत(डिएफओ) राजेन्द्रप्रसाद निरौलाले भने–‘मापदण्ड पुरा नभएकोले यो उद्योग हटाउनै पर्छ ।’
विगतका बर्षहरुमा कारबाही गर्नुपर्ने निकायहरु निरीक्षणमा आए पनि उद्योगलाई सर्दुको बीच भागमा ढुंगा गिट्टी उत्खननको अनुमति दिएर जाने गरेको पनि पाइएको छ । ‘पोहोर पनि उहाँहरु आउनुभएको थियो, जेठ असार तिर जहिल्यै अनुगमनमा आउनुहुन्छ । कागजपत्र सधै बुझाएकै छौं’–उद्योगका एकाण्टेण्ट विकास गौतमले भने–‘खोलाले धेरै गिट्टीढुंगा थुपारेर समस्या पार्ने हुदा पोहोर बीच बीचमा उत्खनन् गरेर खोलालाई बीचबाट बग्ने बनाइदिनु भनेर टेण्डर पनि पाएका थियौं ।’ उनले अनुगमन समितिको निर्देशन वमोजिम आइतबार जिल्ला प्रशासन र जिविसमा सबै कागजपत्र बुझाएको बताए । राजमार्गभन्दा ५ सय मिटर र घनावस्तीबाट २ किलोमिटर टाढा हुनुपर्ने मापदण्ड उद्योगले पालना गरेको उनले दाबी गरे । ‘मापदण्ड पालना भएकै छ, उहाँहरुले खोला नजिक भयो भन्नुहुन्छ, हेरौ के गर्नुहन्छ यसलापी’–उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे