काठे पुलको भर, पक्की बनाउन बजेट अभाव
धरान । उप–महनगरबासी भइसके पनि धरानका सर्वसाधारणहरु अस्थायी काठे पुलबाट सेउती खोला तर्न बाध्य छन् । काठे पुलको विकल्पमा पक्की पुल बनाउन जुटेपनि बजेट अभावले स्थानीयको पक्की पुलको सपना साकार हुन सकेको छैन । बषौंदेखि धरानको वडा १५ र २३ को बीचमा पर्ने सेउती खोलामा अस्थायी काठे पुलको भरमा स्थानीयहरु आवतजावत गर्छन् ।
बर्खामा बाढीले मान्छे बगाएर ज्यानै लग्न थालेपछि एक दशकअघि स्थानीयले काठको पुल बनाएका थिए । करिब दुई बर्षअघिदेखि पुल निर्माण उपभोक्ता समिति गठन गरेर स्थानीयबासी पक्की पुल निर्माणमा जुटे पनि पर्याप्त बजेट पाउन सकेका छैनन् । केन्द्रीय बजेटबाटै पक्की पुल बनाउने आशा लिएर स्थानीय राजधानीसमेत पुगे । तर, सोचे जस्तो सम्भव भएन । पक्की पुल निर्माणमा कुल ४ करोड ५० लाख खर्च स्टिमेट गरिएको छ । दुई आर्थिक बर्षमा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्तगत ४७ लाख बाहेक कतैबाट पनि पुलको लागि आवश्यक बजेट उपलब्ध हुन सकेन । ‘हामी केन्द्रीय बजेटबाटै पक्की पुल चाडो बनोस् भन्ने चाहन्थ्यौं, त्यसैअनुरुप प्रस्ताव लिएर काठमाण्डांै पनि गयौं । तर केन्द्रीय योजनामा पार्न सफल भएनौं’–निर्माण उपभोक्ता समितिका सल्लाहकार गोविन्द्र बिकले भने–‘सभासद मिन बिश्वकर्माको सहयोगमा निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट मात्र बजेट पायौं ।’
तीन बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म २ वटा पिलर उठाउने कार्य मात्र सम्पन्न भएको छ । आर्थिक बर्ष २०७१/०७२ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट भने २२ लाख रुपैया बजेट प्राप्त भएको थियो । स्थानीयले विनियोजित रकमको २० प्रतिशत जनसहभागीता जुटाउन तत्काल सम्भव नभएपछि त्यस आर्थिक बर्षमा समितिले ६ लाख रुपैया ऋण लिएर २८ लाख बराबरको काम गरेको थियो । आर्थिक बर्ष २०७२÷०७३ मा पनि निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २५ लाख रुपैया बजेट आयो । अहिले फेरी निर्माण समितिलाई जनसहभागीता जुटाउन हम्मे परेको छ । ‘अहिलेसम्म प्राप्त भएको बजेटको २० प्रतिशतले ९ लाख ४० हजार जनसहभागीता जुटाउनु समस्या भइरहेको छ’–सल्लाहकार बिकले भने । पुलका लाभान्वित क्षेत्रका बासिन्दा सम्पन्न नभएकोले पनि जनसहभागीता जुटाउन समस्या भइरहेको हो ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट मात्र बजेट आउने हो भने पुल सम्पन्न हुन बषौं समय लाग्छ । यस्तै, जनसहभागीतावापत कुल बजेटको २० प्रतिशतले ९० लाख रुपैया जुटाउन पनि सम्भव हुदैन । स्थानीय अगुवाहरुले केन्द्रीय बजेटको आवश्यक भएकोले निरन्तर पहल गरिरहे पनि सफल भएका छैनन् । जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएको पुल निर्माणमा स्थानीय राजनीतिक दलका नेताहरु उदासीन रहेको निर्माण समितिका सचिव धनबहादुर कुलुङले बताए । समितिले शुक्रबार सेउती खोला किनारमा निर्माणाधिन पुलको कार्य प्रगति र जनसहभागिता जुटाउनेबारे भेला डाकेको थियो । सो भेलामा सबै राजनीतिक दललाई निम्ता पठाएपनि जनमोर्चाबाहेक अरुको उपस्थिति थिएन । ‘हिजो पुलको लागि सिफारिश माग्न जादा पनि हुदैन भन्ने नेताहरु छन्, त्यसैले नेताको भर नपारौं, पुल आफै बनाउ लागौं’–सचिव कुलुङले भने–‘नेताहरु त समितिमा अध्यक्ष, सचिव कस्लाई राख्न भन्ने मात्रै चासो छ, बजेट कहाँबाट कसरी ल्याउने भन्नेतिर ध्यानै दिएनन् ।’

Comments
Post a Comment