सर्दुमा पुल नहुदा सास्ती, जनताको मागप्रति सधै उपेक्षा


धरान । ‘यो सर्दु खोला हो, धरान र विगतको विष्णुपादुका बीचको खोला । यो क्षेत्रको सभासद(सांसद) छैनन ? त्यहाँ जनता छैनन् ? यहाँ आजसम्म एउटा पनि पुल छैन, सेउतीमा गन्न नसक्ने पुल बनेको बन्यै छ’–धरान ८ का पुन्य बहादुर राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बाढी आएको सर्दु खोलामा मुश्किलले मोटरसाइकल तार्दै गरेको फोटो पनि उनले पोष्ट गरे ।
उनले फेसबुकमा आक्रोश पोख्नुको कारण छ । किरातेश्वर कृर्षि सहकारी संस्थाका अध्यक्षसमेत रहेका उनी प्रत्येक दिन सर्दु खोला पारी धरान २६, माछामारास्थित संस्थाको कृर्षि खेती र वंगुरपालन भएको ठाउँमा पुग्नुपर्छ । तर, बर्खा लागेपछि भने त्यहाँ जाने क्रम टुट्छ । सर्दुमा बाढी आउदा उनी मोटरसाइकल थन्काउछन् । सके खोलामा हेलिदै पार गर्छन्, नसके जादैनन् । ‘बर्खाभरी अवस्था यस्तै हो, जोखिम मोलेर सर्दु खोला तर्नुपर्छ’–पुर्व ब्रिटिश गोर्खा सैनिक राईले भने–‘सर्दुमा पुल नबनिदिदा विष्णुपादुका क्षेत्रका जनताले धेरै दुःख पाएका छन् ।’
सर्दु खोलामा पुल नहुदा विष्णुपादुका क्षेत्रका जनताले पाएको दुःख र सास्तीको सामु उनको भोगाई भने न्युन हो । सर्दु खोला उर्लदा रउनी त माछामारा नगएपनि हुन्छ । तर, धरान बजारमा पुर्णरुपमा निर्भर विष्णुपादुका क्षेत्रका सर्वसाधारणहरु जोखिम मोलेरै भएपनि खोला तर्नुपर्छ । साविक विष्णुपादुका गाविस धरानमा गाभिएर उपमहानगरको वडा २४, २५, २६ र २७ भइसकेको छ । तर, सर्दु खोलामा पुल बनेको हेर्ने बषौंदेखिको स्थानीयको सपना साकार भएको छैन । ‘बजार आउने जानेको बिजोग हुन्छ, ठुलो पानी प¥यो कि हामीले भगवान सम्झनुपर्छ । हिड्नै पाइदैन, खोलाले छेकिहाल्छ’–भालढुङ्गा उच्चमाविका शिक्षक एवं स्थानीय ओम सुच्चा राई भन्छन्–‘नुन तेल सकिदा, अनि मान्छे विरामी हुदा गाडी नचलेर ज्यादै समस्या हुन्छ ।’
विष्णुपादुका कृर्षिको उर्बर भुमि हो । त्यहाँको कृर्षिजन्य उत्पादनको प्रमुख बजार धरान हो । हरेक मंगलबार र शुक्रबार धरान ११ स्थित मंगलबारे चोकमा बजार(हटिया) लाग्छ । तर, बर्खामा बाढी आउदा गाडी चल्दैन । स्थानीयले आफ्ना कृर्षि उत्पादन बिक्री गर्न पाउदैनन् । शिक्षक राई भन्छन्–‘बर्खाभरि हाम्रो दैनिकी ज्यादै जटिल बन्छ, कृर्षि उत्पादन, जिन्सी सामग्री भनेको बेला बेच्न पाइदैन, पछि भनेको दाम पाइदैन । नुन,तेल ल्याउन पाउदैनौं ।’ स्थानीयले प्रायः असार, साउन र भदौंमा बर्षेनी भोगिरहेको पीडा हो यो । यो बर्ष समयमै मनसुन सक्रिय भएकोले दिनहुँजसो बर्षा भइरहेको छ । विष्णुपादुकाबासीले त्यही समस्यासँग अहिले जुधिरहेका छन् ।
धरान ११ बाट विष्णुपादुका हुदै धनकुटाको आहाले जाने बाटो स्थानीयबासीले प्रयोग गर्ने प्रमुख र चल्तीको बाटो हो । यो बाटो हुदै विष्णुपादुका, बराहक्षेत्रका ३ वडा र धनकुटाको आहालेका किसानहरुले आफ्नो नगदेबाली धरान ल्याउने गर्छन् । यो बाटोमा पर्ने सर्दु र धरान चतरा सडकखण्डमा पुलका अति आवश्यकता छ । हालसम्म सर्दु खोलामा धरान १३ देवी मार्गमा एउटा झोलुङ्गे पुल छ भने धरानको फुस्रे र धरान २४(विष्णुपादुका) जोड्ने एउटा पक्की पुल छ । तर, यो पुल भएको बाटो भएर स्थानीय हिड्दैनन् । वडा २४ का केही वस्तीको लागि मात्र त्यो बाटो र पुलले लाभ पुगेको छ ।
...........................

                    राजनैतिक उपेक्षाको शिकार

पुर्वगाविस अध्यक्ष मणिराम राईका अनुसार ०४६ सालदेखि अहिलेसम्म स्थानीय जनताले सर्दुखोलामा पक्की पुलको माग निरन्तर गरिरहेका छन् । तर, केन्द्रीयस्तरमा पहुँच नपुग्दा स्थानीय जनताको आवश्यकता र आवाज कसैले सुनेको छैन । धरान र साविक पाँचकन्या गाविस बीचको सेउती खोलामा करिब ८ किलोमिटर क्षेत्रभित्र २ वटा पक्की पुल बनिसक्यो । अझै २ वटा पक्की पुल निर्माणाधिन अवस्थामा छ । एउटा बाहेक ती पुलहरु केन्द्रीय बजेटबाटै बनेको हो । तर, धरानभित्रकै सर्दु खोलामा भने पक्की पुल बनाउन कसैको ध्यान पुगेको छैन । दलका नेता, उपमहानगरपालिकाले पनि केन्द्रीय बजेट वा योजनामा समेट्न आवश्यक पहल गरेको छैन ।
विगतमा साविक गाउँ परिषदबाट हरेक बर्ष प्राथमिकतामा राखेर सर्दु खोलामा पुलको माग भएर जान्थ्यो । तर, कतैबाट पनि सुनुवाई नहुदा स्थानीयबासी निराश छन् । ‘प्रक्रियागतरुपमा योजना माग गरेकै छौं, नेता र सभासदलाई भनेकै छौं । तर हाम्रो माग कहिल्यै सुनुवाई भएन’–पुर्वअध्यक्ष राई भन्छन्–‘पहुँच पुगेन भनांै भने यही क्षेत्रबाट जितेका नेता मन्त्री भए, प्रधानमन्त्री पनि भए ।’ ०४८ सालको आमनिर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी विजयी भएका थिए । ०५१ को मध्यावधि निर्वाचन पछि उनी एमालेले अल्पमतको सरकार बनाउदा प्रधानमन्त्री भएका थिए । ०५१ सालको मध्यावधिमा यो क्षेत्रबाट एमाले नेतृ लिला श्रेष्ठ सुब्बाले जितिन् । उनी पहिलो महिला उपसभामुख बनिन् ।
०५६ सालमा एमालेकै कुन्ता शर्मा विजयी भइन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने धरानबाट छुट्याएर विष्णुपादुकालाई ६ नम्बर क्षेत्रमा गाभियो । दुवै संविधानसभा चुनावमा एमाले नेता भिम आचार्यले जिते । एमालेका केन्द्रीय सचिवसमेत रहेका उनी पर्यटन तथा सँस्कृति मन्त्रीसमेत भए । तर, उनको क्षेत्रका जनतालाई राहत पुग्ने गरि सर्दुमा पुल बनेन । ‘एमाले पार्टी सचिव हुनुहुन्छ, मन्त्री पनि हुनुभयो । पहुँचवाला नेता नै हो उहाँ । पहल गरिरहेको छु भन्नुहुन्छ’–पुर्व गाविस अध्यक्ष राईले भने–‘काठमाण्डौं र मन्त्रालय धाइरहने मान्छे नभएर हो कि, हाम्रो पहुँच नपुगेरै होला नबनेको ।’ उनका अनुसार स्वर्गीय मनमोहन अधिकारीको पालामा विष्णुपादुकामा बाटो शुरुवात भएको थियो । तर, अहिलेसम्म एक मिटर पनि पक्की भएको छैन ।
...........................................................

                                   स्थानीय स्रोतले बन्दैन

बर्खायाममा सर्दु खोलाबाट वडा २४, २५, २६ र २७(विष्णुपादुका क्षेत्र)का जनताले भोगिरहेको सास्तीसँग धरान उपमहानगरपालिका जानकार छ । सर्दुमा पुल अतिआवश्यक भएको महसुस गरेपनि उपमहानगरपालिकाले आफ्नो स्रोतबाट बनाउन नसक्ने योजना शाखा प्रमुख इञ्जियिनर सुरज श्रेष्ठ बताउछन् । ‘बर्खामा धेरै समस्या छ तर उपमहानगरले आफ्नो स्रोतबाट पुल बनाउन सक्दैन’–उनले भने–‘३ बर्षदेखि निरन्तर केन्द्रीयस्तरको योजना भनेर जिविसमा पठाइरहेका छौं, पहल पनि भइरहेको छ ।’ यद्यपी उनले केही महिनाअघि पुलको लागि माटो परीक्षण भएकोले केन्द्रीय योजनामा समेटिने सम्भावना रहेको बताए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे