चुरे क्षेत्रबाट ठेकेदारद्धारा ढुंगा,मिसगिट्टीको तस्करी

धरान । जिविसबाट ठेक्का नै नलाएको चेुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोलाबाट ठेकेदारले ढुंगा र मिसगिट्टी झिकेर तस्करी गरिरहेको पाइएको छ । प्रतिबन्धित चुरे क्षेत्रबाट सम्झौता विपरीत ठेकेदारले दिनहुँ उत्खनन गरी ढुंगा, मिसगिट्टी तस्करी गरिरहे पनि जिल्ला प्रशासन, जिविस र प्रहरी भने बेखबर झै छ ।
सुनसरीमा खोला ठेक्का पाएको ठेकेदार जय श्री पाथीभारा ट्रेड एण्ड सप्लायर्सले चुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोला क्षेत्रबाट ढुंगा, मिसगिट्टी तस्करी गरिरहेको पाइएको हो । धरान चतरा बाटोदेखि उत्तर सर्दु खोलामा दैनिक थुप्रै संख्यामा ट्रक र ट्याक्टर ढुंगा, मिसगिट्टी झिकिरहेको हुन्छ । यो क्षेत्र चुरेमा पर्ने भएकोले उत्खनन् गर्न अनुमति नभएको कारण जिविसलेसमेत ठेक्का लगाएको छैन । तर, ठेकेदारले भने गैरकानुनीरुपमा यो क्षेत्रमा पनि उत्खनन् गराइरहेको छ । जिविसले सर्दु खोलामा एउटा नाका भलुवा चौरीमा मात्रै उत्खनन्को ठेक्का लगाएको थियो । यो नाका भरौल गाविसको वडा ३ र ५ मा पर्छ ।
ठेक्का सम्झौतामा स्पष्टरुपमा उत्खनन् क्षेत्र उल्लेख नगरिएको फाइदा लिदै ठेकेदारले चुर क्षेत्रमा दोहान गर्ने छुट पाएको हो । जिविसका अनुसार सर्दुमा ठेक्का लागेको स्थान भरौलको भलुवा चौरी नाका भएपनि जिविस र ठेकेदारबीच भएको सम्झौता पत्रमा सर्दुमा एउटा नाका भन्ने उल्लेख भएपनि त्यो कहाँदेखि कहाँसम्म भन्ने खुलाइएको छैन । त्यसैको फाइदा उठाउदै ठेकेदारले चुरे क्षेत्रमै उत्खनन् गरिरहेको पाइएको हो । ठेकेदार कम्पनी उमा कोइरालाको नाममा भएपनि यसको हर्ताकर्ता भिम पौडेल हुन् । पौडलले नै चुरे क्षेत्रमा पर्ने सर्दुमा गैरकानुनीरुपमा धरानका तीन जनालाई पेटी ठेक्का दिएको खुलेको छ । पौडेलले धरानका दिपक लिम्बु, रविन बास्कोटा र इन्द्र कार्कीलाई पेटी ठेक्का दिएको पुर्जी काट्न खटिएका कर्मचारी ज्ञानु भुजेलले बताए । उनका अनुसार प्रतिबन्धित सर्दुमा गत असोज महिनादेखि नै ढुंगा, मिसगिट्टी झिक्न थालिएको थियो । भुजेलले जिविसको पुर्जी काटेपछि तस्करीको सामग्रीले बैधता पाउने गरेको छ । ठेक्का सम्झौताको म्याद जेठ मसान्तमा(मंगलबार) सकिने हुदा एक साता यता सर्दुमा उत्खनन् कार्य तीब्र भएको थियो । ‘ठेक्का लागेको हो होइन थाह छैन, तर भिम पौडेलबाट पेटी ठेक्का पाएको छ । म पुर्जी काट्न खटिएको कर्मचारी मात्र हुँ’–भुजेलले भने–‘ट्याक्टरलाई २ सय ३० र ट्रकलाई ४ सय ६० लिन्छु ।’
गत शनिबार जिल्ला समन्वय तथा अनुगमन समिति खोलाहरुको स्थलगत निरीक्षणमा आएको थियो । अनुगमनबारे पुर्वसुचना पाएको ठेकेदारले त्यसदिन भने न त्यहाँबाट उत्खनन् गर्यो न पुर्जी काट्न कर्मचारी नै खटायो । लगत्तै भोलीपल्टदेखि उत्खनन् कार्यलाई निरन्तरता दिएको छ । सुनसरीका स्थानीय विकास अधिकारी(एलडिओ) रामप्रसाद वाग्लेले चुरे क्षेत्रमा पर्ने खोला, नदीमा कही पनि ठेक्का लगाइएको छैन । अनुमति नभएको ठाउँबाट उत्खनन् गरेमा चोरी गरे सरह भएको भन्दै उनले त्यसबिषयमा जिल्ला अनुगमन तथा समन्वय समिति संयोजक सिडिओलाई तत्काल जानकारी गराउने बताए । ‘त्यसो हो भने यो त चोरी नै हो, छुट दिन मिल्दैन । सजाय दिने अधिकार सिडिओसँग छ । म उहाँलाई जानकारी गराउछु र स्थलगत पनि आउछौं’–एलडिओ वाग्लेले भने । जिविसका वातावरण अधिकृत पुष्पनारायण चौधरीले यस बिषयमा जिल्ला अनुगमन समितिमा जानकारी गराएकोले समितिले निर्णय गर्ने बताए । अनुगमन समिति संयोजक एवं प्रजिअ मोहन चापागाईले भने ठेकेदारलाई मनखुशी गर्ने छुट नभएकोले दोषी देखिए कारबाही हुने बताए ।
................................................................................................................

                                           छानबिन समिति गठन मात्र !

सरकारी निर्णय उल्लंन गर्दै जिविस सुनसरीले सेउती खोलामा एक्साभेटर प्रयोेग गर्न छुट दिएको र बाँझगरा सामुदायिक वन समुहलाई पनि निर्णय उल्टाउन बाध्य पारेको घटनाबारे छानबिन गर्न समिति गठन भएको थियो । पाँच दिनभित्र प्रतिवेदन बुझाउने समयसिमा तोकेर जिल्ला प्रशासनका प्रशासकीय अधिकृत दिनानाथ लम्सालको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको थियो । तर, पाँच दिनको म्याद सकिदा समेत न समितिले छानबिन गर्यो, न प्रतिवेदन नै बुझायो ।
ढुंगा,गिट्टी, वालुवा समन्वय तथा अनुगमन समितिले छानबिन समिति गठन भएको हल्लापिटे पनि मंगलबारसम्म समिति संयोजक लम्साललाई औपचारिक पत्र नपुगेको पाइएको छ । समिति गठनको पत्र नै नपाएए पनि लम्साल संयोजक भनिएको समितिले सिन्कोसमेत भाँचेको छैन । ‘समिति संयोजकलाई पत्रै पुगेको रहेछन । पत्र अझै जिविसमा छ, उसले नै जानकारी दिनुपर्ने हो तर दिएकै छैन रैछ’–सुनसरीका सिडिओ मोहन चापागाईले भने । समन्वय समितिको सदस्य सचिव स्थानीय विकास अधिकारी हुने व्यावस्था छ ।
समिति गठनबारे संयोजकलाई पत्र नै नपठाउनुलाई जिविस र ठेकेदारको कतुर्त ढाकछोप गरेर जोगाउने प्रयास भएको हो कि भन्ने प्रश्नमा सिडिओ चापागाईले भने–‘पत्र पठाउनु केही ढिलाई मात्र भएको हो, समितिले छानबिन गर्नैपर्छ र रिपोर्ट दिनैपर्छ ।’ बैठकको माइन्युटमा कतिपयको हस्ताक्षर हुन बाँकी रहेको कारण पत्र पठाउनु ढिलाई भएको उनले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे