सेउतीमा मापदण्डभन्दा दोब्बर मिसगिट्टी निकालिदै,जिविसद्धारा ठेकेदारको बचाउ

धरान । जिल्ला विकास समिति सुनसरी र ठेकेदारबीच भएको सम्झौतामा विपरीत सेउती खोलाबाट स्काभेटरले मिसगिट्टी निकालिरहेको पाएपछि वन कार्यालय र वन उपभोक्ता समुहले उत्खनन् कार्य रोकेको छ । इलाका वन कार्यालय पाँचकन्याका प्रमुख पिताम्बर दाससहित धरान १५ स्ति बाँझगरा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरु आइतबार बिहान उत्खनन् भइरहेको खोला क्षेत्रमा स्थलगत निरीक्षण गएका थिए ।
टोलीले उत्खनन् गरिरहेको स्थानमा नापजाच गर्दा सम्झौतामा उल्लेख मापदण्डभन्दा दोब्बर गहिरो खालड बनाएर मिसगिट्टी झिकीरहेको भेटिए पछि इलाका वन प्रमुख दासले तत्काल स्काभेटर प्रयोग रोक्न निर्देशन दिएका थिए । ठेक्का सम्झौतामा गहिराई औषत ०.७५ मिटरभन्दा बढी नहुने गरी उत्खनन् कार्य गर्नुपर्ने छ । तर, आइतबार नापचाज गर्दा स्काभेटरले डेढ मिटर गहिरो खाडल बनाएको भेटिएको थियो । ‘स्वीकृति पाएकोभन्दा बढी डेढ मिटर गहिरोसम्म खनिएको रहेछ, नियमविपरीत भएकोले स्काभेटर प्रयोग गरेर खन्न तत्काल रोकेका छौं’–दासले भने–‘ठेक्का जिविसले लगाएको हुनाले के गर्ने भनेर जिविसले नै हेर्नुपर्छ ।’
सम्झौतामा मेशिनरी(स्काभेटर) प्रयोग गर्नुपरे अनिवार्यरुपमा जिविसको प्राविधिक र वातावरण अधिकृतको रोहबरमा मात्र प्रयोग गर्न पाउने उल्लेख छ । जिविसले यसको पालना गरेर नियमित अनुगमन नगर्दा पनि ठेकेदारले खोलामा मनपरी उत्खनन् गर्ने मौका पाएको हो । वन कार्यालय र उपभोक्ता समुह निरीक्षणमा पुग्दा जिविसका प्राविधिक र वातावरण अधिकृत कोही पनि उपस्थित थिएनन् । सम्झौता उल्लंघन गर्दै खोला उत्खनन् गर्दा कारबाही गर्नुको सट्टा जिविस भने ठेकेदारको बचाउ गर्न थालेको छ । सम्झौतामा प्रष्ट ०.७५ मिटर भन्दा बढी गहिराई हुन नहुने उल्लेख भएपनि जिविस भने डेढ मिटर गहिराईसम्म खन्न पाउने भन्दै ठेकेदारको बचाउमा लागेको छ । ‘०.७५ मिटर भनेको औषत गहिराई हो, त्यो भनेको कम्तीमा ०.७५ मिटर र बढीमा १.५० मिटर हो । तर, सबै ठाउँमा डेढ मिटर नै झिक्न पाउने भन्ने होइन । डिपोजिशन कहाँ कति छ, त्यो अनुसार हुन्छ’–जिविसका वातावरण अधिकृत पुष्पनारायण चौधरीले भने । आफुहरु दिनहुँ निरीक्षणमा गएको दाबी गर्दै उनले चौबिसै घण्टा उत्खनन् क्षेत्रमा बस्न भने नसक्ने बताए ।
शनिबार वातावरण अधिकृत चौधरी केही क्षण अनुगमन गर्न सेउती पुगेका थिए । त्यसबेला पनि स्काभेटरले करिब डेढ मिटर गहिरो खनिरहेको पाइएको थियो । उनले तत्काल उत्खनन् कार्यमा रोक लगाउनुका सट्टा धेरै गहिरो भयो भने स्लोभ तानेर मिलाईदिनु भन्दै हिडेका थिए । ‘जिविसको मान्छे आएर हे¥यो, धेरै भयो भने स्लोभ तानेर मिलाइदिनु र पुरिदिनु भनेको छ’–स्काभेटर चालक पुष्प लामिछानेले भने । उनको भनाईले पनि जिविस नियम तथा मापदण्ड उल्लंघन गरि उत्खनन गर्ने ठेकेदारलाई कारबाही नगरी बचाउ गरिरहेको पुष्टि हुन्छ । ठेक्का सम्झौतामा पुल, सडक बाटो, कल्भर्टबाट तलमाथि कम्तीमा ५ सय मिटर भित्र ढुंगा, गिटी मिक्स गिटी झिक्न नपाइने भनिएको छ । तर, हाल सेउतीमा उत्खनन् भइरहेको क्षेत्रबाट पानवारी इटहरी सडक खण्ड करिब २ सय मिटर दुरीमा मात्रै छ । वातावरण अधिकृत चौधरी यो बुँदामा पनि ठेकेदारका बचाउ गर्दै सम्झौतामा राष्ट्रिय राजमार्ग हुनुपर्नेमा प्राविधिक त्रुटीले सडक बाटो मात्र लेखिएको दाबी गरे । पानवारी जाने बाटो राष्ट्रिय राजमार्ग नभएकोले उत्खनन्मा छुट भएको उनको भनाई छ ।
वन समुहका पदाधिकारी र उपभोक्ताहरु भने चुरे र वन क्षेत्रमा पर्ने खोला ठेक्का लगाउनुअघि जिविसले आफुहरुसँग छलफल वा जानकारीसमेत नदिएको भन्दै रुष्ट छन् । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्दा सरोकारवाला उपभोक्ता समुहसँग छलफल नभएको उनीहरुको भनाई छ । ‘जिविसले ठेक्का लगाएको क्षेत्र एकदमै जोखिमपुर्ण हो, बर्षेनी नदीले कटान गरिरहेको छ । आई.ई.ई.रिपोर्ट बनाउने बेला हामीसँग छलफल गरे त कस्तो असर परिरहेको छ भनेर आप्mनो कुरा राख्थ्यौं’–बाँझगराका अध्यक्ष राजन मोक्तानले भने–‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट हामीलाई यही खोला किनारमा वृक्षारोपण गर्न भनेर बजेट आएको छ, तर जिविसले यही खोलालाई ठेक्का लगाएर उत्खनन गर्न दिन्छ ।’ वन समुहका अनुसार ठेकेदारले उत्खनन् अनुमति पाएको क्षेत्रबाट केही मिटर उत्तरमा चुरे संरक्षण कार्यक्रमको ६ लाख बजेटले वृक्षारोपण हुदैछ । त्यहाँ १० हेक्टर क्षेत्रफलमा १६ हजार विरुवा रोप्ने कार्य जारी छ । सेउती उत्खनन गरिरहने हो भने बर्षामा नदीले कटान गरेर ती विरुवा बगाउने वन समुहको आशंका छ । जिविस वातावरण अधिकृत चौधरी भने आईईईको क्रममा उजुर गर्न १५ दिने सुचना निकाल्ने गरेको र प्रतिवेदनको मस्यौदामा जिल्ला वन कार्यालयले सरोकारवाला वन समुहसँग छलफल गराउने गरेको दाबी गर्छन् । हालसम्म एउटा पनि उजुरी नपरेको र नगरपालिकाले पनि सोही व्यहोराको सिफारिश दिएको उनले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे