प्रहरीको आडमा सेउतीमा स्काभेटर, वन समुह कार्यालयमा तोडफोड

धरान । वन क्षेत्रलाई नोक्सान हुने भन्दै धरान १५ स्थित बाँझगरा वन उपभोक्ता समुहले सेउती खोलामा मेशिनरी(स्काभेटर )प्रयोग गर्न रोक लगाए पनि प्रहरी प्रशासनको आडमा ठेकेदारले जर्बजस्ती स्काभेटर लगाएर मिसगिट्टी निकाल्न थालेको छ ।
वन समुहको कार्यसमितिले वन क्षेत्रलाई क्षति पुग्ने ठहर गर्दै सेउतीमा स्काभेटर प्रयोग गर्न नदिने निर्णय गरेको छ । सोही निर्णय वमोजिम बुधबार ठेकेदारले स्काभेटर लगाएको थाह पाएपछि वन समुहले खोलमा पुगेर रोक लगाएको थियो । तर, ठेकेदार जय श्री पाथीभरा ट्रेर्ड एण्ड सप्लायर्सले प्रहरी प्रशासनको आड लिएर शुक्रबार दिउँसो देखि नै जर्बजस्ती खोलामा स्काभेटर प्रयोग गर्न थालेको छ । प्रहरीको सुरक्षामा रहेर ठेकेदार पक्षले खोलामा स्काभेटरमार्फत मिसगिट्टी निकालिरहको भेटिएको छ । शनिबार केही पत्रकारहरु स्थलगत अवलोकनमा जादा प्रहरीहरु पनि सुरक्षाार्थ खटिएको भेटिएका थिए । पत्रकारहरु देख्ने बित्तिकै प्रहरीहरु भने रुखमा छलिएर बसेका थिए ।
त्यसो त शुक्रबार दिउँसो नै इलाका प्रहरी कार्यालयको एक टोलीले बाँझगरा वन समुहका अध्यक्षलाई स्काभेटर नरोक्न दबाब दिएका थिए । प्रहरी निरीक्षकले आइन्दा रोक्ने प्रयास गरेमा ठिक नहुने धम्की दिएको पनि अध्यक्ष मोक्तानले बताए । ‘जिविसबाट स्काभेटर बन्द गराएको पत्र ल्याउनुस नत्र काम गर्न दिनुस् । यहाँ अवरोध गर्न पाउनुहुन्न, फेरि आएको देखेभने ठिक हुदैन भन्नु भो’–अध्यक्ष मोक्तानले भने–‘पुलिसको साथ पाएपछि जर्बजस्ती स्काभेटर त लगाउने भईहाल्यो ।’ स्काभेटर लगाउनेबारे जिविसले वन समुहलाई आधिकारिक जानकारीसमेत नदिएको उनले बताए । ठेकेदार कम्पनी र जिविसबीच भएको ठेक्का सम्झौतामा मेशिनरी(स्काभेटर ) प्रयोग गर्नुपरे अनिवार्यरुपमा जिविसको प्राविधिक र वातावरण अधिकृतको रोहबरमा मात्र प्रयोग गर्न पाउने सर्त छ । तर, यो सर्त कागजमा मात्रै सिमित छ । सेउतीमा ठेकेदारले जथाभावीरुपमा स्काभेटर प्रयोग गरिरहे पनि त्यहाँ न जिविसका प्राविधकको उपस्थिति हुन्छ न वातावरण अधिकृत नै आउछन् ।
बाँझगरा वन समुहले धरान पानवारी जाने सडकअन्र्तगत सेउतीमा बन्दै गरेको नयाँ पुललाई असर पुग्ने र बर्खामा वन क्षेत्र पनि कटान हुने भन्दै जेठ ८ गते खोलामा स्काभेटरलाई रोक लगाउने निर्णय गरेको थिो । खोला किनारको १० हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्न तयारी भएकोले पनि स्काभेट लगाउदा क्षति पुग्ने समुहको भनाई छ । हाते औजारहरु प्रयोग गर्न भने समुहले रोक लगाएको छैन । वर्षायाममा खोलामा आउने बाढीले सामुदायिक वनक्षेत्रको जमिन व्यापकरुपमा कटान गर्नुको साथै सयौंको संख्यामा रुख तथा बोटबिरुवा बगाएर विनाश गर्ने गरेको वन समुहको भनाई छ । सुनसरीका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले भने डिमार्केशन क्षेत्रमा स्काभेटर प्रयोग गर्न मिल्ने भएपनि सम्झौता विपरीत प्रयोग गरे ठेकेदारलाई कारबाही हुने बताए । स्कोभटर लगाउदा जिविसका प्राविधिक खट्ने गरेको उनले दाबी गरे ।

                                    वन समुह कार्यालय तोडफोड

जिविसको अनुमतिमा ठेकेदार पक्षले जर्बजस्ती सेउती खोलामा स्काभेटर लगाएर ढुंगा मिसगिट्टी निकाल्न थालेपछि आक्रोशित उपभोक्ताहरुले धरान १५ स्थित बाँझगरा वन उपभोक्ता समुहको कार्यालय तोडफोड गरेका छन् । वन क्षेत्रलाई नोक्सान हुने गरी खोलामा स्काभेटर प्रयोग गर्न छुट दिएको आरोप लगाउदै उपभोक्ताहरुले शनिबार दिउँसो कार्यालय तोडफोड गरेका हुन् ।
वन समुहले रोक लगाए पनि शुक्रबार दिउँसोदेखि ठेकेदारले जर्बजस्ती स्काभेटर प्रयोग गरेर मिसगिट्टी निकाल्न थालेपछि समुहले शनिबार छलफल डाकेको थियो । त्यही बिषयमा छलफल हुदै गर्दा उपभोक्ताहरुले दिउँसो करिब अढाई बजेतिर कार्यालय तोडफोड गरेका हुन् । आक्रोशित युवा उपभोक्ताहरुले कार्यालयको झ्यालको शिशा फुटाइदिएका छन् भने कुर्सी पनि भाचेको र गमला पनि तोडफोड भएको अध्यक्ष राजन मोक्तानले बताए । ‘खासमा केही उपभोक्ताहरुलाई वन समुहले छुट दिएको भन्न भ्रम भएर यस्तो घटना भएको हो, हामीले त खोलामा स्काभेटर लगाउन नदिने निर्णय गरेर त्यसैमा अडिग छौं’–अध्यक्ष मोक्तानले भने ।
ठेकेदारले प्रहरी प्रशासनको आड लिएर जर्बजस्ती स्काभेटर लगाएको र कार्यालय तोडफोड भएको बिषयमा वन समुहले आइतबार बिहान आपतकालीन बैठक डाकेको छ । समुहका युवा उपभोक्ताहरु भने समुहले भित्रभित्रै ठेकेदारबाट रकम लिएर स्वीकृति दिने चलखेल भइरहेको आरोप लगाएका छन् । तर, समुहका सचिव मायादेवी राईले भने छिमेकी पानवारा वन समुहको पदाधिकारीबाट अनौपचारिक प्रस्ताव आएको र त्यही कुरा फैलिएर उपभोक्ताहरुमा भ्रम परेको बताइन् । ‘पानवारा वन समुहका एक पदाधिकारीले आखिर जसरी पनि मिसगिट्टी लगिहाल्छ भन्दै ठेकेदारले समुहलाई सहयोग गर्छ भनेर खाता नम्बर मागेको थियो, त्यसबारेमा हामीले केही निर्णय गरेका छैनौं । त्यही हल्ला फैलिएर यो घटना भयो’–उनले भनिन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे