किरात राई चलचित्र महोत्सव शुरु

धरान । राई भाषा, कला, सँस्कृति संरक्षण तथा प्रवद्धनको प्रयासलाई चलचित्रको माध्यमबाट थप फराकिलो बनाउने उद्देश्यले शनिबारदेखि धरानमा दुई दिने किरात राई चलचित्र महोत्सव २०७३ शुरु भएको छ ।
किरात राई चलचित्रकर्मी संघको आयोजनामा धरान १० स्थित सैनिक भवनमा शुरु महोत्सवको एक समारोहबीच चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले उद्घाटन गरेका थिए । दुई दिने महोत्सवअन्र्तगत पहिलो दिन चलचित्र प्रर्दशनी भएको थियो भने दोस्रो दिन आइतबार किरात राई यायोक्खाको यलम्बर भवनमा वृहत अन्र्तक्रिया गरिने आयोजकले जनाएको छ । ‘अब चलचित्रको माध्यमबाट पनि परम्परा, कला, सँस्कृति विश्वलाई देखाउनुपर्छ, अघि बढाउनुपर्छ’–आयोजक संस्थाका महासचिव केशव राईले भने–‘विश्वलाई देखाउने खालको चलचित्र बनाउ, अनि मात्र हामी गन्तव्यमा पुग्छौं ।’ राज्यले विविध जातिहरुको कला, सास्ँकृतिलाई हेर्नुपर्ने पनि उनले बताए ।
विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्रको दायरालाई फराकिलो बनाउने प्रयासस्वरुप राई चलचित्र महोत्सव आयोजना गरिएको बताए । भाषा, कला सँस्कृति र चलचित्र एकअर्कामा सम्बन्ध हुने उल्लेख गर्दै उनले भाषिक, जातिय चलचित्रलाई कसरी परिष्कृत गर्दै लैजाने भनेर पनि छलफल गर्ने बताए । ‘चलचित्र भनेको नाच्ने, गाउने मात्रै होइन । भाषा, कला सँस्कृति पनि हो । आदिबासी जनजाति सिनेमालाई बोर्डले प्राथमिकता दिएको छ । अब चलचित्र क्षेत्रमा पनि जनजातिको आवाज बुलन्द गर्नुपर्छ’–उनले भने ।
महोत्सवको पहिलो दिन सैनिक भवनमा सिम्मा, राई वान्तवा, रिसिम, मेरो पहिचान र सोग्रो चलचित्र प्रर्दशन भएको थियो । हालसम्म ८ वटा राई चलचित्र मात्र बनेको तथ्यांक छ । किरात राई प्रज्ञा परिषद सदस्य सालिक सतासकले विभिन्न जातजातिको चलचित्रलाई राज्यको पनि चलचित्रकोरुपमा स्वीकार गर्नुपर्ने बताए । निर्देशक अरुण प्रधानले समुदायको कला, सँस्कृतिको सिमित दायरालाई चलचित्रको माध्यमबाट फराकिलो ढंगले प्रस्तुत हुने भएकोले सबैको सहयोग हुनुपर्ने बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे