मनाङ मस्र्याङ्दी सेमीफाइनल प्रवेश


धरान । शहीद स्मारक लिग विजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी १६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सोमबार चिरप्रतिद्धन्दी त्रिभुवन आर्मी क्लबलाई १–० को झिनो गोलअन्तरले हराउदै मनाङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । प्रतिस्र्धात्मक खेलको एक मात्र निर्णायक गोल पेनाल्टीमार्फत भएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा डिबक्सभित्र आर्मीका जुद्ध शाहीको हातले वल छोएपछि रेफ्री श्रवण लामाले मनाङलाई पेनाल्टी अवसर दिएका थिए । पेनाल्टी अवसरमा मनाङका सुजल श्रेष्ठले गोल गर्ने मौका गुमाएनन् । खेलमा आक्रामकरुपमा प्रस्तुत भएपनि स्कोर गर्न नसकेपछि गत सँस्करणको उपविजेता आर्मी पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरियो ।

खेलमा मनाङको तुलनामा आर्मीले दर्जन बढी पोष्टमा आक्रमण गरेको थियो । पहिलो हाफको १९ औं मिनेटमा टेकबहादुर बुढाथोकीको पासमा अमृत बस्नेतको हेड बाहिरिएको थियो । यस्तै, २१ ऋौं मिनेटमा डिफेन्सको पासलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले राम्रो सँग क्लियर गर्न नसकेपछि पाएको मौकामा राजु तामाङको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । ३३ औं मिनेटमा टेकबहादुरको क्रस पासमा नवयुग श्रेष्ठले हेड गर्ने प्रयास गरेपनि सफल भएनन् । ४४ औं मिनेटमा वान भर्सेस वानको स्थितिमा पनि नवयुग गोल गर्न चुके । डिबक्स भित्रैबाट उनको प्रहार आकासिएको थियो ।
दोस्रो हाफमा एक गोलले पछि परेपछि झनै आक्रमकरुपमा उत्रिएको आर्मीले गोल गर्ने थुप्रै सुनौलो अवसर खेर फाल्यो । दोस्रो हाफको १० औं मिनेटमा दिप लामाको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो । यस्तै, ११ औं मिनेटमा दिप लामाले गोलकिपरलाई समेत विट गरेर खाली गोलपोष्टमा हानेको वल मनाङका अजिज शहीदले गोल हुन नदिनु आर्मीको लागि दुर्भाग्य बन्यो । अजिजले क्लियर गरेको वललाई पुनः दिप लामाले दिएको पासमा युद्ध शाहीले डिबक्सबाट प्रहार गरे पनि गोलकिपरलाई ठोक्किदै फकियो । यस्तै, ३७ औं मिनेटमा पदम तामाङको कर्नर प्रहारलाई मनाङका गोलकिपरले पञ्च गरेर बचाए । इन्जुरी समयमा टेकबहादुर बुढाथोकीले गोल गर्ने सुन्दर मौका सृर्जना गरेपनि डिबक्सभित्र दिप लामाले वललाई छुन नसक्दा खेर गएको थियो । लगत्तै, नवयुग श्रेष्ठले डिबक्सभित्र हिरण्य मगरलाई अवसर सृर्जना गरिदिए, तर उनले आफैले प्रहार गर्नुपर्ने वल मिसपास दिदा अर्को मौका गुमेको थियो ।


मनाङका दिपक राईले पहिलो हाफको ७ औं मिनेटमा गरेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । १७ औं मिनेटमा विशाल राईले डिबक्सभित्रै पास दिएपनि अजिज शहीदले फितलो प्रहार गरे । यस्तै, ३७ औं मिनेटमा कप्तान सागर थापाको क्रस पासमा अजिजको हेड पोष्ट नजिकबाट बाहिरिएको थियो भने ३८ औं मिनेटमा रुपेश केसीको प्रहार आर्मीको गोलकिपर विकाश मल्लले समाते । दोस्रो हाफमा पेनाल्टीमार्फत गोलगरेपनि मनाङले रक्षात्मक खेलेको थियो । दोस्रो हाफको १९ औं मिनेटमा दिपक राईको पासमा सुजल श्रेष्ठले हेड गरेपनि पोलमाथिबाट बाहिरिएको थियो  । यस्तै, ३६ औं मिनेटमा दिपक राईको पासमा योना इलियसले हेड गरेपनि आर्मीका गोलकिपरले समाते । सो खेलको म्यान अफ दि म्याच मनाङका अजिज शहीद घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए ।
खेलमा हार व्यहोरेको आर्मीका प्रशिक्षक बाबुकाजी धौबञ्जारले रेफ्रीको पेनाल्टी निर्णयप्रति पुर्णअसन्तुष्टी जनाए । ‘हातले वल छोएको थिएन, वल आफै आएर हातमा टच भएको थियो, वलले हातमा टच भएर पनि खेल अघि बढीसकेको थियो’–प्रशिक्षक धौबञ्जारले भने–‘पेनाल्टी नदिएपनि हुने थियो, त्यो निर्णयले नै खेललाई मोड्यो ।’ खेलाडीहरु रणनीतिअनुसार आक्रामणरुपमा खेलेपनि स्कोर गर्न नसक्दा नै हार व्यहोरेको उनले बताए । मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले भने रेफ्रीको निर्णयलाई स्वीकार गर्ने प्रतिक्रिया दिदै खेलको टर्निङ प्वाइन्ट पेनाल्टी अवसर नै भएको बताए । ‘लिगपछि टिम सेटले नियमित अभ्यास गर्न पाएको थिएन, त्यसैले आजको खेल भनेजस्तो भएन । अर्कोपटक राम्रो खेल्छौं’–प्रशिक्षक श्रेष्ठले भने । मंगलबार चार पटकको विजेता नेपाल पुलिस क्लब र सहारा क्लब पोखराबीच प्रतियोगिताको एक मात्र क्वार्टरफाइनल खेल हुनेछ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे