वान वे बनाउन पुरानो बजारमा ५० फिटको बाटो बनाइने


धरान । सवारी चाप र सडकमा हुने पार्किङले कोशी राजमार्गमा अन्र्तगत धरान ५ स्थित महेन्द्रपथ सडकखण्ड साघुरिएपछि नगरपालिकाले वान वे बनाउने तयारी गरेको छ । धरान १ स्थित लक्ष्मी चोकदेखि धरान ३ स्थित माछाभौडीसम्म(पुरानो बजार)को सडकखण्डलाई विस्तारसँगै स्तरोन्नति गरेर नगरपालिकाले बजार क्षेत्रमा यातायातलाई वान वे गर्न लागेको हो ।
लक्ष्मी चोकदेखि माछाभौडीसम्मको करिब अढाई किलोमिटर सडकलाई ५० फिटको मापदण्ड अनुसार विस्तार गरिन लागेको नगरपालिकाले जनाएको छ । यसको लागि नगरपालिकाले चालु आर्थिक बर्षमा ५० लाख बजेट विनियोजन पनि गरिसकेको छ । माथिल्लो क्षेत्रका स्थानीयले नयाँ उपभोक्ता समिति पनि गठन गरिसकेकोले यसैसातादेखि बाटो विस्तारको काम थालिने प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । ‘यही आर्थिक बर्षमा वान वे बनाउन पुरानो बजारको बाटोलाई विस्तार गर्ने भनेर बजेट विनियोजन भएको छ, ५० फिटको मापदण्डअनुसार सडक निर्माण हुन्छ’–उनले भने–‘वान वे हुदा महेन्द्रपथको अस्तब्यस्तता पनि हट्छ ।’

पुरानो बजारको सडकलाई विस्तार गरेर धरानमा वान वे बनाउन गएको बर्षदेखि नै नगरपालिकाले पहल गरेको थियो । गतबर्ष लक्ष्मी चोकदेखि माछाभौडीसम्मलाई समेटेर एउटा उपभोक्ता समिति गठन गरेर सर्वेको काम पनि भइसकेको थियो । सर्वेको क्रममा बाटो ५० फिटको बनिदा केही स्थानीयको घर काटिने भएपछि भने विवाद उब्जिएर काम अघि बढ्न सकेन । पुरानो उपभोक्ता समिति निष्क्रिय बनेपछि अहिले धरान १, लक्ष्मी चोक क्षेत्रका बासिन्दा उपभोक्ता समिति गठन गरेर सडक विस्तार गर्न सहमत भएपछि नगरपालिकाले विवाद नभएको क्षेत्रसम्म मापदण्डअनुसार सडक बनाउने तयारी गरेको छ । चालु आर्थिक बर्षमा ५० लाख मात्रै विनियोजन गरिए पनि विवाद सुल्झिएर कामले गति लियो भने जगेडा कोष वा अन्य स्रोतबाट आवश्यकताअनुसार बजेट व्यवस्थापन गर्न सकिने नगरपालिकाले जनाएको छ ।
इञ्जिनियर सुरज श्रेष्ठका अनुसार पहिलो चरणमा ४ सय मिटरसम्मको सडकलाई विस्तार गरिनेछ । विवाद सुल्झिदै गएपछि थप काम अघि बढाइनेछ । यो सडकखण्डमा दुवैतर्फ ड्रेन र फुटपाथसहितको ५० फिटको पक्की सडक हुनेछ । अहिले यो सडकखण्डमा १६ फिटदेखि बढीमा २७ फिटसम्मको जीर्ण बाटो छ । स्थानीय मनप्रसाद सिटौलाका अनुसार वडा १ का बासिन्दाहरु बाटोको लागि घर, कम्पाउण्ड वाल र जग्गा छोड्न पनि तयार छन् । ‘बाटो राम्रो बन्छ भने घर, जग्गा छोड्न सबै तयार भएरै उपभोक्ता समिति बनेको हो’–उनले भने ।
धरान क्षेत्रमा सडक पक्की बनाउदा जनसहभागीता अनिवार्य हुनुपर्छ । यो सडक विस्तार गर्दा स्थानीयको घर, कम्पाउण्ड वाल भत्किने भएकोले ती घरपरिवारलाई भने राहत दिनेबारे उपभोक्ता समितिसँग छलफल गरिने नगरपालिकाले जनाएको छ । ‘जनसहभागीता अनिवार्य चाहिन्छ, तर घर, कम्पाउण्ड भत्किनेछ भने राहत दिने कि भन्ने कुरा हुदैछ, तर यसको निर्णय उपभोक्ता समितिले गर्नुपर्छ’–प्रशासकीय अधिकृत खतिवडाले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे