एन्फा टेक्निकल सेन्टरहरु बन्द हुने अवस्थामा(फोटोफिचर)

धरान । अखिल नेपाल फुटबल संघ(एन्फा)को स्पष्ट नीति एवं कार्ययोजना अभावले फिफाको गोलप्रोजेक्टअन्र्तगत मोफसलमा निर्माण भएको टेक्निकल सेन्टर(एकेडेमी) बन्द हुने अवस्थामा पुगेको छ ।
धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टर एक बर्षदेखि सञ्चालनमा आउन सकेको छैन भने बुटवल १३, देवीनगरस्थित सेन्टर पनि एक महिनादेखि बन्द छ । बुटवलमा प्रशिक्षण लिइरहेका यु–१२ का खेलाडीहरुलाई २ बर्षको अवधि बाँकी छँदा नै घर पठाइएको छ । विभिन्न उमेर समुहका बालखेलाडीहरुलाई आवासिय सुविधासहित प्रशिक्षण दिलाएर प्रतिभावान खेलाडी उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य लिएर एन्फाले यी सेन्टर(एकेडेमी) स्थापना गरेको हो । फुटबलको सर्वोच्च निकाय फिफाको अनुदानमा गोल प्रोजेक्टअन्र्तगत धरान, बुटवल र राजधानीको च्यासलमा गरि तीन वटा एकेडेमी बनेको छ ।
    बैशाख १२ गते एन्फाको केन्द्रीय वैठकमा जिल्ला फुटबल संघलाई पनि सल्लाह सुझावको लागि बोलाइएको थियो । उक्त बैठकमा अध्यक्ष गणेश थापाले धरान र बुटवलको एकेडेमी असफल भएकोले सञ्चालन नगर्ने अभिव्यक्ति दिएको रुपेन्देही जिल्ला फुटबल संघका अध्यक्ष कुमार केसीले बताए । ‘बैठकमा अध्यक्षले अब धरान र बुटबलमा बच्चाहरु नराख्ने, सबै जिल्ला जिल्लामा नै प्रशिक्षण गराउने भन्नुभो’–अध्यक्ष केसीले नागरिकसँग भने–‘बच्चाहरु राखेर प्रशिक्षण नगराउने हो अथवा कुनै प्रोगाम दिइएन भने त यत्रो लगानीको संरचना खण्डर बन्छ ।’ उनका अनुसार सो बैठकमा अध्यक्ष थापाले पूर्व र पश्चिमको सेन्टर असफल भएको र अब जिल्ला जिल्लामा प्रशिक्षण गराउने बताएका थिए ।
    बुटबलस्थित एकेडेमीमा यु १२ का २८ जना खेलाडीहरु चार बर्षको सम्झौतामा प्रशिक्षरत अवस्थामा थिए । उनीहरुलाई स्कुल विदा पछि घर पठाइएको र तिनीहरुलाई पुनः छनौट गरेर काठमाण्डौंमा नै राखेर प्रशिक्षण दिइने भनिएको पनि केसीले जानकारी दिए । बुटवलस्थित एकेडेमीबाट यु १२ को चार बर्षे अवधिको दोस्रो ब्याचको प्रशिक्षण सकिइसकेको थियो भने तेस्रो ब्याच २ बर्ष बाँकी भएपनि सबैलाई घर पठाइएको छ । बुटवलको पहिलो ब्याचको उत्पादन निराजन मल्ल हुन् भने दोस्रो ब्याचका उत्पादन विमल घर्ती मगर हुन् । यु १७ का खेलाडी विमल हाल नेपाली सिनियर फुटबलमा पनि छन् । ‘हामीले ४ बर्षको लागि एग्रिमेन्ट गरेर बच्चाहरु राखेका थियौं, अहिले सबैलाई घर पठाउदा अभिभावकलाई जवाफ दिन पनि अफ्ठयारो भइरहेको छ’–उनले भने–‘पहिलो पनि एकेडेमी खण्डहर थियो, हामी नयाँ टिमले यतिको बनाएका थियौं ।’
    बुटवलमा यु १२ का खेलाडीहरुलाई २ ब्याच(८ बर्ष) राखिए पनि धरानस्थित एकेडेमीमा भने एक ब्याचलाई मात्रै राखिएको थियो । धरानस्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरका अध्यक्ष किसोर राईका अनुसार यहाँ पहिलो ब्याच ०६६ देखि ०६० सम्म प्रशिक्षणमा राखियो । त्यसपछि भने एन्फाले कुनै पनि उमेर समुहकालाई प्रशिक्षण गराउने वा नयाँ कार्यक्रम दिएको छैन । ‘करोडौं लगानी गरेर एकेडेमी बनायो, तर अहिले उपयोग गर्न सकेको छैन । यहाँ किन कुनै कार्यक्रम अथवा प्रशिक्षण गराइदैन भनेर जवाफ माग्दा नेतृत्व केही पनि बोल्दैन’–एन्फाका द्धितिय उपाध्यक्षसमेत रहेका राईले असन्तुष्टी जनाउदै भने–‘मोफसलको २ वटा एकेडेमी त राम्रोसँग सञ्चालन हुन सकेको छैन, तर अध्यक्ष ज्यूले ४५ वटा जिल्लामा एकेडेमी बनाउछु भनेर घोषणा गर्नुहुन्छ, त्यो कसरी सम्भव छ ?’ एकेडेमी बन्द गर्ने हो भने कारण खुलाउनु पर्ने भन्दै उनले एन्फा संस्थागतढंगले चल्न नसकेको पनि आरोप लगाए ।
    फिफाको अनुदानमा बनेको धरानस्थित एकेडेमीको भवनमा एउटा सेमिनार हाल, वैठक कोठा, कार्यालय कोठा, किचन र ११ वटा आवासिय कोठा छन् । एउटा खेल मैदानसमेत रहेको यो एकेडेमी करिब ४ करोडको लागतमा निर्माण भएको हो । नगरपालिकासँग ३० बर्षको लिज सम्झौतामा गरिएको जग्गाको समयावधि अब करिब १५ बर्षजति छ । संरक्षण र मर्मतसम्भारमा ध्यान नदिदा एकेडेमीको फेन्सिङ वाल भत्किएको छ भने भवनमा पानी चुहिन्छ । आवासिय कोठा लथालिङ अवस्थामा छ भने सेमिनार हल गोदाममा परिणत भएको छ । धरान रंगशाला निर्माणाधिन रहेकोले एकेडेमीको यो मैदानमा बुढासुब्बा गोल्डकपको ३ वटा सँस्करण सञ्चालन भएको छ ।
एन्फाका केन्द्रीय अध्यक्ष गणेश थापाले आफुले एकेडेमी बन्द गर्ने कुरा नगरेको दाबी गर्दै ३ वटा एकेडेमीको समिक्षा भने गर्नेक्रममा रहेको बताए । ‘बन्द गर्छु भनेको छैन, वाहियात कुरा हो । तर, ३ वटै सेन्टरबाट कस्तो उपलब्धी भयो र भविष्यमा कसरी जाने भनेर चाहि समिक्षाको क्रममा छौं’–अध्यक्ष थापाले भने–‘खेलाडीहरुलाई राम्रो भएन भन्ने रिपोर्टहरु आएको छ, व्यवस्थापन राम्रो भएन भन्ने हाम्रो ठम्याई भएको हो ।’ एन्फाले पूर्वाधार बनाइदिएको र कुनै प्रोगाम नदिएपनि त्यहाँ स्थानीयस्तरमा फुटबलका गतिविधिहरु भइरहेकोले त्यसलाई उपलब्धी नै मान्नुपर्ने उनले बताए । फुटबलप्रतिको क्रेज देखेर धरानमा सेन्टर स्थापना गरेपनि नगरपालिकाले सम्झौतावमोजिम संरक्षण र मर्मतसम्भारमा ध्यान नदिएको उनको भनाई छ ।








Comments

  1. Bye bye Anfa Academy Dharan, due to the incapability of the concerned authorities.

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे