तेह्र बुँदे घोषणापत्र जारी गर्दै अन्र्तराष्ट्रिय लिम्बू सम्मेलन सकियो

धरान । लिम्बू भाषाको संरक्षण र विकासका साथै लिम्बू भाषा शिक्षाका निम्ति सामुदायिक र नीति निर्माण तहमा पहल र प्रयत्न गर्नेलगायत १३ बुँदे प्रतिवद्धतासहितको घोषणा पत्र जारी गर्दै तीन दिवसीय प्रथम अन्र्तराष्ट्रिय लिम्बू सम्मेलन सकिएको छ ।
सम्मेलनले मौलिक लिम्बू साहित्यको पहिचान गरी लिम्बू साहित्य लेखन गर्न गराउन वातावरण निर्माण गर्न पहल गर्ने पनि प्रतिवद्धता जनाएको छ । यस्तै, याक्थुङ मुन्धुम आदिकालदेखि मौखिक परम्परामा जीवन्त रहीआएको र लिम्बूहरुको जीवन पद्दती, सामाजिक प्रणाली र संरचना, समाजिक सम्बन्धहरुलाई मार्गदर्शन गर्ने साथै मुल्य र मान्यता स्थापित गरी विश्व दृष्टिकोण प्रदान गर्ने आधारभुत शास्त्रकोरुपमा ठहर गर्दे जीवन्त राख्न र समृद्ध बनाउन प्रण पनि गरेको छ । ‘याक्थुङ मुन्धुमलाई मौखिक परम्परामा आधारित सर्वोत्कृष्ट मौखिक कृति हो भन्ने ठहर गर्दै युनेस्कोको अमूर्त साँस्कृतिक सम्पदाको प्रतिनिधिमुलक सुचीमा सुचीकृत गर्न पहल गर्दछौं’–घोषणापत्रबारे जानकारी दिर्दै किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव लीला सिङ्गक लिम्बूले भनिन्–‘लिम्बूहरुले परापूर्वकालदेखि मानी आएको धर्मलाई आफ्नो सन्दर्भअनुसार अलग अलग नामाकरण गरिएको भएतापनि सबै धर्महरु याक्थुङ मुन्धुममा नै आधारित भएकोले सबै धर्महरु एकै हुन भन्ने समान बुझाई रहेको विश्वास गर्दछौं ।’
सो सम्मेलनले दस लिम्बू सत्रथुमको रीतिथिति अनुसार लिम्बू सामाजिक सँस्कारहरुमा विविधता भए पनि परापूर्वकालदेखि परस्पर सम्मान गर्ने प्रचलनलाई यथावत मान्यता दिन उचित हुने ठहर गरेको पनि चुम्लुङले जानकारी दिएको छ । लिम्बू चाडपर्व, कला, गीत, संगीत, पहिरन, गरगहना, सीप लिम्बूहरुको जीवनको अभिन्न अंग भएकोले यिनको मौलिकतालाई निरन्तर कायम राख्दै जीवनपद्दतीको रुपमा अपनाउने प्रतिवद्धता पनि सम्मेलनले जनाएको छ । ‘लिम्बू प्रथाजनित कानुन, पुख्यौली भूमि र प्रथाजनित संस्थालाई संवैधानिक मान्यता दिनुपर्ने मान्यता राख्दछौं’–घोषणा पत्रमा भनिएको छ । घोषणापत्रका मस्यौदाकार कमल तिगेलाले लिम्बू समाजमा बुढापाकाहरुको चुम्लुङ बसेर मुद्दामामिला हेर्ने र गल्ती स्वीकार गरिसकेपछि आममाफी दिने चलन रहेको बताए । चुम्लुङ बसेर त्यसरी भएको निर्णयलाई अड्डाअदालतले स्वीकार गरिदिनुपर्ने उनले खुलाए ।
यस्तै, लिम्बू महिलाहरु लिम्बू सँस्कृतिको संरक्षक भएको तथ्यलाई स्वीकार गर्दै सार्वजनिक जीवनमा लिम्बू महिलाहरुको अर्थपुर्ण सहभागतिा सुनिश्चित गर्न उचित पहल गर्न आवश्यक भएको पनि ठहर गरेको चुम्लुङले जनाएको छ । साथै, संसारभरि रहेका लिम्बूहरुबीच आपसी सम्बन्ध सुदृढ गर्नका लागि एउटा अन्र्तराष्ट्रिय लिम्बू सञ्जाल निर्माण गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाएको छ । यस्तै, लिम्बू जातिको पहिचान र प्रतिष्ठालाई कायम राख्दै आआफ्नो मुलुकमा क्रियाशिल रहने पनि प्रतिवद्धता जनाएको छ ।
किरात याक्थुङ चुम्लुङको आयोजनामा बिहिबारदेखि भएको अन्र्तराष्ट्रिय लिम्बू सम्मेलनमा नेपाल, भारत, म्यानमार, थाइल्याण्ड, बहराइन, इजराइल, बेलायत, कतार, दक्षिण कोरिया, कुवेतलगायत मुलुकमा बसोबास गर्दै आइरहेका लिम्बूहरुको प्रतिनिधिमुलक सहभागीता रहेको थियो । लिम्बूहरुको पहिचान र प्रतिष्ठानको लागि नारा दिएको सम्मेलनमा भाषा, लिपी, धर्म, सँस्कृति, इतिहास, राजनीतिक अधिकारलगायत बिषयमा गहन छलफल भएको थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे