त्रिविविको आंगिक क्याम्पसहरुको बेरुजु अत्यधिक, पेश्की पनि कानुन विपरीत


धरान । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको बेरुजु फछ्यौट ठुलो चुनौती रहेको पदाधिकारीहरुले औल्याएका छन् । विश्वविद्यालयले बेरुजु फछ्यौट अभियान चलाएपनि केन्द्रीय क्याम्पसबाहेक आंगिक क्याम्पसहरुको प्रगति शुन्य रहेको भन्दै पदाधिकारीहरुले लेखा प्रणालीमा सुधार नगरे बजेट रोक्ने चेतावनीसमेत दिएका छन् ।
‘हाम्रो बेरुजुको भोल्युम हेर्दा बजेट नदिने अवस्था छ, तर विश्वविद्यालयमा अहिलेसम्म त्यस्तो अवस्था आइहालेको छैन’–धरानमा आयोजित पूर्वका आंगिक क्याम्पसका प्रमुख, लेखा प्रमुख र सामान्य प्रशासन प्रमुखहरुको पूर्वाञ्चल क्षेत्रीय कार्याशाला गोष्ठीमा उपकुलपति प्रा.डा.हिराबहादुर महर्जनले भने–‘महालेखा परीक्षक कार्यालयमा हामीलाई बोलाइन्छ, त्यतिबेला हाम्रो बेरुजु हेरर हामीलाई खिसि गरेको जस्तो महसुस हुन्छ ।’ आर्थिक पादरदर्शिता, अनुशासन र आर्दश सिकाइने शैक्षिक संस्थाको बेरुजुको कहालीलाग्दो अवस्थाले आफुहरुले लज्जाको महसुस गर्नुपरेको उपकुलपति डा.मर्हजनको भनाई थियो । उनका अनुसार बेरुजुलाई शुन्यमा झार्न विश्वविद्यालयले प्रयत्न गरेपनि सकरात्मक प्रतिफल आउन सकेको छैन ।
त्रिविका रजिष्टार चन्द्रमणी पौडेलका अनुसार आंगिक क्याम्पसहरुले लेखा प्रणालीलाई सही ढंगले अबलम्बन नगरिदिदा बेरुजुको अवस्था कहालीलाग्दो बनेको हो । गत आर्थिक बर्षसम्म विश्वविद्यालयमा १० अर्ब रकम बेजुरु देखिएको थियो । त्यसबर्ष सरकारको बेरुजु ७६ अर्ब थियो । परार आर्थिक बर्षमा भने विश्वविद्यालयको बेरुजु ९ अर्ब देखिएको थियो । सरकारले १४ प्रतिशतसम्मको बेरुजुलाई मान्य दिएपनि विश्वविद्यालयको बेरुजु भने २२ प्रतिशत पुगेको पौडेलले बताए । ‘महालेखा परीक्षकको कार्यालयबाट मस्यौदा प्रतिवेदन आइसकेको छ, अघिल्लो बर्ष झण्डै साढे ३ अर्ब बढी खर्च गरेर बेरुजु गरेका रहेछौं’–रजिष्ट्रार पौडेलले भने–‘हामीले बेरुजु फछ्यौट अभियान चलायौं, तर केन्द्रमा बाहेक अन्य क्याम्पसहरुको प्रगति शुन्य छ, बेजुरु फस्यौट गर्नुस, यस्तै अवस्था रहे सरकारले अनुदान दिने अवस्था रहदैन ।’
क्याम्पस प्रमुख, लेखा प्रमुख र सामान्य प्रशासन प्रमुख रहने गरी तीन सदस्यीय बेरुजु फछ्यौट कमिटि भएपनि कुनै पनि क्याम्पसमा कमिटिको वैठक बस्न नसकेकोप्रति रष्ट्रिार पौडेलले रोष प्रकट गरे । सुदुरपश्चिम क्षेत्रका क्याम्पसमा आफै पुगेर बैठक बसाउन प्रयत्न गरेपनि अटेर गरेको भन्दै उनले बजेट रोक्ने चेतावनीसमेत दिए । ‘बेरुजु फछ्यौट समितिलाई मिटिङ बस्दा भत्ताको पनि व्यवस्था छ, तर किन अल्छि गर्नुहुन्छ ?’–रजिष्टार पौडेलले भने–‘सुदुरपश्चिमका क्याम्पसमा पुगेर हप्तामा एक पटक बैठक बस र प्रतिवेदन पठाउ भने, तर रजिष्टार स्वयम उपस्थित भएर निर्देशन दिदा पनि किन नमानेको ? अब पनि सुधार नहुने हो भने बजेट रोक्नेछौं ।’
...............

                                पेश्की पनि नियमविपरीत


तलब पेश्कीबाहेक कुनै पनि शिर्षकमा पेश्की रकम लिनै नपाउने नियम भएपनि आंगिक क्याम्पसका प्रमुखहरुले जथाभावीरुपमा पेश्की रकम निकासा गर्ने गरेको रजिष्ट्रार पौडेलले खुलाए । उनका अनुसार एक क्याम्पस प्रमुखले गैरकानुनीरुपमा ३८ लाख रुपैयासम्म चन्दा दिएको फेला परेको छ भने कुनै क्याम्पसमा पटक पटक गरी ११ लाख रुपैयासम्म पेश्की दिएको भेटिएको छ । ‘तलब खुवाउन नसक्ने क्याम्पसले यत्रो चन्दा कसरी दिन सक्यो ? क्याम्पस प्रमुखहरुले पेश्की लिनै सक्नुहुन्न, तर कुन नियमकानुन प्रयोग गरेर पेश्की लिइरहनु भएको छ ?’–क्याम्पसको नाम नखुलाउदै रजिष्ट्रार पौडेलले प्रश्न गरे–‘लेखा प्रमुखहरुलाई सोध्न चाहन्छु, एउटा पेश्की लिएपछि फछ्यौट नभइकन अर्को पेश्की दिने कुन नियममा छ ? त्यसरी दिन मिल्दैन भनेर किन भन्न सक्नु हुन्न ?’
रजिष्ट्रार पौडेलका अनुसार पेश्की लिएको २५ दिन भित्र फछ्यौट गरिसक्नु पर्ने प्रावधान छ । तर, आंगिक क्याम्पसले यो प्रावधानलाई अनुसरण गरेका छैनन् । कसैबाट दबाब भए आफुलाई तत्काल सम्पर्क गर्न निर्देशन दिदै उनले दबाबकै भरमा गैरकानुनी काम गर्न नपाउने प्रष्ट पारे । क्याम्पस प्रमुखले नै गैरकानुनीरुपमा पेश्की लिएर फछ्यौट नगरेपछि अन्य शिक्षक, कर्मचारीले पनि फछ्यौट नगर्ने भएकोले प्रमुखहरुलाई नियम पालना गर्न उनले कडा निर्देशन दिए ।
...............

                        अख्तियारबाट मौखिक वयान

बेरुजु र अनियमित पेश्कीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटकपटक बोलाएर वयान लिइसकेको त्रिवि पदाधिकारीले नै खुलासा गरेका छन् । धरानमा शुरु भएको कार्यशाला गोष्ठीमा सहभागी क्याम्पस प्रमुख, लेखा प्रमुख र सामान्य प्रशासन प्रमुखहरुलाई सचेत गराउदै रजिष्टार पौडेलले भने–‘अख्तियारले धेरै पटक बोलाइसक्यो, नामसहित देऊ भनेको छ, लिखितरुपमा माग्नुबित्तिकै मैले पनि सबै नामसहित उपलब्ध गराउनुपर्छ ।’ उपकुलपति मर्हजनले पनि आंगिक क्याम्पसहरुको अनियमितताबारे अख्तियारले हालसम्म मौखिकरुपमा मात्रै सोधेको बताए ।
.....................

                          क्याम्पसस्तरमा पनि समेष्टार प्रणाली


त्रिवि केन्द्रीय क्याम्पसमा सेमेष्टर प्रणाली लागु गरेको विश्वविद्यालयले गुणस्तरीय एवं प्राज्ञिक प्रतिस्पर्धामा उत्रनसक्ने जनशक्ति तयार गर्न देशभरका आंगिक क्याम्पसहरुमा पनि लागु गर्ने जनाएको छ । पदाधिकारीहरुले आंगिक क्याम्पसहरुलाई सेमेष्टार प्रणालीको पूर्वतयारी गर्न पनि निर्देशन दिएका छन् । ‘शिक्षामा गुणस्तर घटिरहेकोले नै हामीले पनि सेमेष्टर प्रणाली लागु गरेका हौं, सेमेष्टर प्रणाली भएको मुलुकमा रिजल्ट पनि राम्रो छ, जनशक्तिको गुणस्तर पनि एकदम राम्रो छ’–उपकुलपति मर्हजनले भने ।
रजिष्टार पौडेलले सेमेष्टर प्रणालीलाई प्रत्येक छ महिनामा परीक्षा लिने प्रणालीकोरुपमा मात्रै नलिन आग्रह गर्दै विश्वविद्यालय नयाँ शैक्षिक प्रणालीमा जान खोजिरहेको जिकिर गरे । सेमेष्टर प्रणाली भएको मुलुकमा उर्तीण प्रतिशत ८० भन्दा माथि रहेको र विश्वको जुनसुकै विश्वविद्यालयमा प्रतिस्पर्धामा उत्रनसक्ने गुणस्तर देखिएकोले नेपालमा पनि लागु गरिएको उनले बताए । ‘नेपालको बार्षिक प्रणाली हेर्दा उर्तीण प्रतिशत ३० प्रतिशतभन्दा पनि मुनि छ, तपाईहरुकै सुझाव अनुसार नै सेमेष्टर प्रणाली लागु गरेका हौं, विस्तारै क्याम्पसस्तरमा पनि लागु गछौं, तपाईले पूर्वतयारी गर्नुपर्छ’–रजिष्ट्रार पौडेलले भने–‘हामी प्रारम्भिक चरणमा भएकोले समस्याहरु देखिनसक्छ, तर डराउनुपर्ने अवस्था छैन ।’
रजिष्ट्रार पौडेलले विद्यार्थीहरुलाई कक्षामा नियमित गराउन ८० प्रतिशत हाजिरी नभए फाइनल परीक्षामा सहभागी नगराउने नियम लागु हुनेछ । विद्यार्थी नियमित कक्षामा आएपनि शिक्षकहरु पनि जिम्मेवार भएर नियमित पढाउन बाध्य हुनेछन् भने कर्मचारीहरु पनि चेन अफ कमाण्डमा राखेर नियन्त्रण गरिने पौडेलले दाबी गरे । विश्वविद्यालयले आफ्नै भौतिक सम्पत्तिको सहीरुपमा व्यवस्थापन गर्न नसक्दा हरिकंगाल हुने अवस्थामा पुगेको पनि उनले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे