निजी विद्यालय र प्रकाशन गृहबीचको खेल: किताब नपाएर अभिभावकलाई हैरानी

धरान । सैनिक आवासिय उच्चमाविमा कक्षा ६ मा अध्ययनरत छोरालाई पुस्तक किनिदिन १० पटकसम्म पसल पुगेपनि धरान १५ की सुनिता केसीले सबै किताब भेटेकी छैनन् । विद्यालयले भनेको पुस्तक पसलमा दिनहुँ जसो धाउनु पर्दा उनले निक्कै हैरानी व्यहोर्नु परेको छ ।
नयाँ शैक्षिक सत्र शुरु भएपछि बर्षेनी किताब नपाउने समस्या भोग्नु पर्ने उनी बताउँछिन् । ‘गत बर्ष त फष्ट टर्मको परीक्षा आउदासम्म पुरै किताब थिएन, यसपाली पनि १० पटक भइसक्यो पुस्तक पसल गएको, अझै ३ वटा पाएको छैन’–उनले भनिन्–‘जहिल्यै समस्या हुन्छ, हरेक बर्ष पब्लिकेशन र कोर्ष पनि फेरिदो रैछ ।’ पुस्तक नपाएर हैरानी व्यहोर्ने उनी एक्ली अभिभावक भने होइनन् । आफ्ना सन्तान निजी विद्यालयमा पठाउने अधिकतर अभिभावकहरु यति बेला समयमै पुस्तक नपाएको चिन्तामा छन् ।
नयाँ शैक्षिक सत्र शुरु भएपछि सामुदायिक विद्यालयका विद्यार्थीहरुले मात्रै होइन, निजी स्कुलका विद्यार्थीहरुले पनि सबै पुस्तक पाएका छैनन् । सामुदायिक विद्यालयका विद्यार्थीहरुले समयमै पुस्तक नपाउनु सरकारी निकाय दोषी छ, तर निजी विद्यालयका विद्यार्थीहरुले पुस्तक नपाउनुमा भने विद्यालय र पुस्तक प्रकाशकहरुबीचको अदृष्य कमिशनको खेल मुख्य जिम्मेवार भएको अभिभावक एवं सरोकारवालाहरु बताउछन् ।
नयाँ शैक्षिक सत्र शुरु हुनुअघि नै पुस्तक प्रकाशकहरु निजी विद्यालयका सञ्चालक एवं प्रिन्सिपललाई प्रभावमा पर्न दौडधुप हुन्छ । आफ्नो प्रकाशन गृहको पुस्तक बिकाउन प्रकाशकहरुले अनेक प्रलोभन दिने गरेको जानकारहरु बताउँछन् । त्यही भएर एउटै कक्षामा फरक फरक प्रकाशन गृहको पुस्तक चलाइएको हुन्छ । ती प्रकाशन गृहले समयमा नै पुस्तक छापेर बजारमा नपुर्याउदा विद्यार्थी र अभिभावकलाई मर्कामा पुग्छ । यो अदृष्य खेलमा विद्यालय सञ्चालक, प्रकाशन गृह र पुस्तक पसलको भुमिका हुन्छ । विद्यालयले नै अभिभावकहरुलाई फलानो पुस्तक पसलमा किताब किन्न जानु भनेर पठाउने गरेको छ । ‘कुन पब्लिकेशनको किताब चलाएको हुन्छ, हामीलाई थाहै हुदैन । स्कुलले त्यहीमात्र पाउछ भनेको छ, अर्को पसलमा जाने कुरै भएन’–अर्का अभिभावक विना राईले भनिन् ।
नाम नछाप्ने सर्तमा एक पुस्तक पसल सञ्चालक विद्यालय सञ्चालकहरुले प्रकाशकबाट राम्रो कमिशन पाउने गरेको दाबी गर्छन् । पुस्तक पसलले भने कारोबारीको भुमिकामात्रै रहने उनको भनाई छ । ‘हामीले त व्यावसायिक हिसाबले प्रकाशन गृहबाट पाउने नाफा मात्रै त हो, जसबाट राम्रो कमिशन पाउछ, विद्यालयले उसैको पुस्तक चलाइदिन्छ’–ती पुस्तक पसले भन्छन्–‘हामीलाई पनि धेरै वटा पब्लिकेशनको पुस्तक भेला पार्दा धेरै झञ्झट हुन्छ ।’ उनका अनुसार कतिपय प्रकाशकले प्रावितहको मात्रै किताब प्रकाशनको अनुमति पाए पनि त्यसलाई उल्लंघन गर्दै किताब प्रकाशन गरेका छन् । यसपटक त्यही विवाद अदालतसम्म पुगेको कारण कतिपय प्रकाशन गृहबाट पुस्तक छापिएर बजारमा आउन ढिलाई भइरहेको पनि उनले खुलाए ।
प्रकाशकहरुले आफ्नो पुस्तक चलाउने विद्यालय र त्यहाँको विद्यार्थी संख्याको हिसाब गरेपछि मात्रै पुस्तक छाप्नु पर्ने हुँदा ढिलाई हुनुको अर्को कारण हो । प्रकाशकहरुलाई आप्mनो पुस्तक चलाउन सहमत भएका विद्यालयमा कति विद्यार्थी भर्ना हुदैछन् भन्ने शुरुमा सही तथ्यांकको अभाव हुन्छ । नयाँ शैक्षिक सत्रमा पुस्तक बिक्री गर्ने विगतका कतिपय पसलले भने हिजोआज धेरै प्रकाशन गृहको पुस्तक भेला पर्ने झञ्झटले बिक्री गर्न छाडेका छन् । एउटा कक्षामा कम्तीमा पनि ३ वटा प्रकाशन गृहको पुस्तक विद्यालयहरुले चलाएका हुन्छन् । प्रकाशन गृह बर्षेनी फेरबदल भइरहन्छ ।
प्रकाशन गृहहरुले लेखकलाई हातमा लिएर निजी विद्यालयको पुस्तक प्रकाशन गर्ने गरेका छन् । त्यसरी तयार गरिने पुस्तक सरकारले तोकेको पाठ्यक्रमअनुसार नै अंग्रेजी सँस्करणमा एकरुपता हुनुपर्ने हुन्छ । तर, प्रकाशन गृहहरुले फरक फरक लेखकबाट लेखाउने हुनाले एकरुपता नहुने स्वयम विद्यालय सञ्चालकहरु नै स्वीकार गर्छन् । विद्यालय सञ्चालकहरु भने प्रकाशन गृहले प्रलोभनमा पार्न खोजेपनि शैक्षिक गुणस्तरमा कुनै कम्प्रोमाइज भने नगर्ने दाबी गर्छन् । एनप्याब्सन आवद्ध धरान १६ स्थित जेनिथ बोर्डिङ स्कुलका प्रिन्सिपल सुमन जबेगु गुणस्तर, बिषय बस्तु, पुस्तकको छपाईलगायत कारणले एउटै मात्र पब्लिकेशनको पुस्तक चलाउन सम्भव नहुने बताउछन् । ‘प्रलोभन देखाउछन्, तर हामीलाई प्रलोभन होइन, शिक्षकहरुलाई तालिम दिनुस् भनेका छौं’–जबेगुले भने–‘बिषय वस्तु, गुणस्तरीयता, पुस्तकको छपाइको पानालगायतले गर्दा एउटै पब्लिकेशनको मात्रै चलाउन भने सक्दैनौं ।’
प्याब्सन सुनसरीका निवर्तमान अध्यक्ष दिलकुमार वन पनि कमिशनको प्रलोभनले नभई बर्षेनी नयाँ र राम्रो पुस्तक प्रकाशित हुने भएकोले पुस्तक परिवर्तन भइरहने बताउछन् । उनले पुस्तक विना पनि विद्यार्थीले सिक्न सक्छ भन्ने अवधारणा र शिक्षा प्रणालीको विकास गर्न आवश्यक भएको औल्याए । ‘किताबबाटै सिक्नुपर्छ भन्ने होइन, शिक्षकहरुलाई व्यावसायिक र सक्षम बनाउनुपर्छ र विद्यार्थीहरुलाई अध्ययन, अनुसन्धानमा बढी जोडदिनुपर्छ’–उनले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे