हिलेमा कञ्चनजंघा मकालु ट्राभल मार्ट हुने


धरान । भारतीय पर्यटकहरुलाई पूर्वी नेपालमा भित्र्याउने लक्ष्य लिएर आगामी जेठ महिनामा कञ्चनजंघा मकालु ट्राभल मार्ट आयोजना गरिने भएको छ । धनकुटाको हिलेमा आयोजना हुने मार्टमा भारतको मुख्य शहरका पर्यटन व्यावसायी(टुर अपरेटर) र पत्रकारहरुलाई बिशेषरुपमा निम्त्याइने नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
पर्यटन बोर्ड र नेपाल पर्यटन महासंघले पूर्वक्षेत्रको पर्यटकीय गन्तव्यबारे सरोकारवालाहरुसँग आइतबार धरानमा आयोजित छलफलमा बोर्डले ट्राभल मार्टबारे जानकारी गराएको हो । पर्यटन बोर्डका सदस्य रेवत थापाका अनुसार आगामी जेठ १५ र १६ गते २ दिन हिलेमा मार्ट आयोजना गरिनेछ । जहाँ पूर्वका जिल्लाहरुको पर्यटकीय गन्तव्यका साथै स्थानीय उत्पादनहरुको बिषेश प्रर्दशनी पनि हुनेछ । सोही मार्टमा भारतको दिल्ली, विहार, पश्चिम वंगाललगायत राज्यबाट टुर अपरेटर र पत्रकारहरुलाई ल्याइने पर्यटन बोर्डले जनाएको छ । ‘मार्ट २ दिनको हुनेछ, तर भारतीय टुर अपरेटर र पत्रकारहरुको टोलीलाई हामी ७ दिनसम्म पूर्वाञ्चलको प्रमुख पयटकीय गन्तव्यहरुमा घुमाउनेछौं’–बोर्ड सदस्य थापाले भने–‘पत्रकारहरुले यताको गन्तव्यबारे आफ्नो मिडियामार्फत प्रचारप्रसार गरिदिनेछन् र टुर अपरेटरहरुले नेपाल घुम्न चाहने भारतीय पर्यटकहरुलाई यहाँसम्म ल्याउनेछन् । यसले पूर्वक्षेत्रको पर्यटन प्रर्वद्धन र विकासमा थप योगदान पुर्याउनेछ ।’
नेपालको पर्यटन काठमाण्डौं, पोखरा लुम्बिनी र चितवनमा मात्रै केन्द्रीत भएको गुनासो बढेपछि पर्यटन बोर्डले पूर्वको पर्यटन प्रर्वद्धनमा चासो दिएको हो । भारतीय पर्यटकहरु मात्रै पनि भित्रिन सके पूर्वक्षेत्रले धेरै लाभ लिनसक्ने देखिएकोले पर्यटन बोर्ड र पर्यटन महासंघ मिलेर मार्ट आयोजना गर्न लागेको पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक एवं भारत डेस्ककी संयोजक उज्वल दलीले बताइन् । ‘मार्टमा आएका भारतीय टुर अपरेटर र पत्रकारहरुलाई पूर्वक्षेत्रमा के के देखाउन सक्छौं ? कस्तो सेवा सुविधा दिनसक्छौं भनेर स्थानीय सरोकारवाला तथा पर्यटन व्यावसायीहरुसँग छलफल गरिरहेका छौं’–दलीले भनिन्–‘सुझाव अनुसार नै हामी आवश्यक तयारी गछौं ।’

बोर्डले पूर्वको कोशी, मेची र सगरमाथा अञ्चलको सबै जिल्लाको पर्यटकीय गन्तव्यहरुलाई समेटेर ७५ दिनको ट्रेकिङ सर्वे भाइरहेको पनि जनाएको छ । साथै, ३ वटै अञ्चलको पर्यटकी गन्तव्य समेटिएको वृत्तचित्र पनि तयार गरिसकेको र उक्त वृत्तचित्रलाई भारतमा आयोजना हुने पर्यटन उत्सव एवं मेलाहरुमा प्रर्दशन गरिने बोर्डले जनाएको छ । छलफलमा सेक्ष ट्राभलिङका वासुदेव वरालले वंगाल, सिक्किमका साथै सहज अध्यागमन भएमा भुटान र वंगलादेशका पर्यटकहरुलाई पनि नेपालमा ल्याउन सकिने धारणा राखे । पिण्डेश्वर मन्दिर क्षेत्र पुराणमा उल्लेख भएअनुसार रुद्राक्ष उत्पत्ति भएको रुद्राक्षरण्य क्षेत्र हो भनेर मात्रै भारतीय पर्यटकमाझ प्रचार गर्न सकिए लाखौं भारतीयहरु आउने उनको भनाई थियो ।
प्याराग्लाइडर तथा एक्सट्रिम एड्भेन्चर धरानका संयोजक लेखमणी जिमीले धरानमा साइक्लिङ, प्याराग्लाइडिङ, हाइकिङ, फिसिङ, क्यानोइङलगायत साहसिक खेल पर्यटनबाट पनि पर्यटकहरुलाई आर्कषित गर्न सकिने बताए । तमोर रिभर एडभेन्चर प्रालिका मदन ढकालले एक दिने र्याफटिङको सुविधादेखि ५ दिने र ट्रेकिङसहितको ९ दिने र्याफ्टिङ सेवा सञ्चालनमा रहेको बताए । होटल एशोसिएशन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले पर्यटकहरुलाई सेवा सुविधा दिलाउनको लागि रात्री बजारको पनि व्यवस्था गर्न आवश्यक रहेको बताए । ‘यहाँ राती ८ नबज्दै बजार सुनसान हुन्छ, होटल रेष्टुरेष्टहरु राती १० बजिनसक्दै बन्द गर्नुपर्छ । पर्यटकहरु राती रमाउन सक्दैनन्’–उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे