अफ्रिकन युनाइटेड फाइनलमा(फोटोफिचर)


धरान । आठौं सँस्करणको विजेता अफ्रिकन युनाइटेड क्लब यहाँ जारी १६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार सम्पन्न पहिलो सेमीफाइनलमा शहीद स्मारक ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई २–१ गोलअन्तरले हराउदै अफ्रिकनले फाइनलमा स्थान सुरक्षित गरेको हो । अफ्रिकनको जितमा सेगुन र बाबा टोन्डेले गोल गरे । मनाङका योना इलियसले गोल गरेपनि सान्त्वना मात्रै भयो । निर्धारित समयको खेल १–१ को बराबारीमा टुंगिएपछि अफ्रिकनले अतिरिक्त समयमा विजयी गोल गरेको थियो ।

अफ्रिकन युनाइटेडले आयोजक धरान फुटबल क्लब र सहारा क्लब पोखराबीचको विजेतासँग चैत २२ गते(शनिबार) फाइनल खेल्नेछ । अफ्रिकन युनाइटेड फाइनल पुगेको यो तेस्रो पटक हो । ०६२ को आठौं सँस्करणमा आयोजकलाई फाइनलमा हराउदै उपाधि जितेको युनाइटेडले ०६३ को नवौं सँस्करणमा पनि फाइनल खेलेको थियो । मनाङले ०६० को छैटौं र १३ औं सँस्करणको उपाधि जितेको थियो भने ०६८ को १४ आंै सँस्करणको उपविजेता हो ।
खेलमा पहिलो हाफको १९ औं मिनेटमा सेगुनको गोलको मद्दतले अफ्रिकनले अग्रता लिएको थियो । कप्तान भिक्टोरले मनाङका तीन खेलाडीलाई छक्याउदै वल अघि बढाएर डि बक्स नजिकबाट दिएको क्रस पासमा सेगुनले वान टचमा गोल गरेका थिए । एक गोलले पछि परेको मनाङले दोस्रो हाफमा आक्रामक खेल्दै ३७ औं मिनेटमा बराबारी गोल फर्काएको थियो । कप्तान सागर थापाले मैदानको मध्यभागबाट गरेको लामो प्रहारमा योना इलियसले हेडमार्फत बारबारी गोल गरेका थिए ।

निर्धारित समयको खेल १–१ को बराबारीमा सकिएपछि थप भएको १५ मिनेटमा भने पुनः अफ्रिकन युनाइटेडले निर्णायक गोल गर्यो । पहिलो हाफको इन्जुरी समयमा आबाको रिप्लेसमा मैदानमा छिरेका बाबा टोन्डेले अतिरिक्त समयको ३ मिनेटमा अफ्रिकनको लागि विजयी गोल गरेका थिए । सेकोको क्रस पासमा टोन्डेले हेडमार्फत गोल गरे । खेलको म्यान अफ दि म्याच अफ्रिकन युनाइटेडका पिटरले नगद ५ हजार र ट्रफी पुरस्कार पाए ।
प्रतिस्पर्धात्मक खेलमा मनाङले नियन्त्रणमा राखेपनि स्कोर गर्न नसक्दा हार टार्न सकेन । अफ्रिकनको तुलनामा मनाङले दर्जन बढी गोलपोष्टमा आक्रमण गरेपनि स्कोर हुन नसक्नु दुर्भाग्य रह्यो । पहिलो हाफको १३ औं मिनेटमै सुजल श्रेष्ठको कडा प्रहारलाई अफ्रिकनको गोलकिपर विनय श्रेष्ठले सुन्दर बचाउ गरे भने ३८ औं मिनेटमा सुजलको फ्रिकिक प्रहारलाई अफ्रिकनका डिफेन्सले फर्काइदिए । दोस्रो हाफको १३ औं मिनेटमा सुजलको कर्नर प्रहार गोलपोष्टमा ठोक्किएर बाहिरियो भने ४२ औै मिनेटमा अनिल गुरुङको दुई हेड गोल हुन नसक्नु मनाङको दुर्भाग्य बन्यो । सुलभ मास्कोको क्रस पासमा अनिलले गरेको हेडमा गोलकिपर विट भइसक्दा अफ्रिकनका सेसोकोले फकाइदिए । त्यही वललाई पुनः सुलभले प्रहार गर्दा अनिलले नै हेड गरेपनि डिफेन्सले नै गोल हुनबाट जोगायो ।


मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले खेलाडीहरुले राम्रो खेलेपनि स्कोर गर्न नसक्दा हार व्यहोरेको बताए । ‘खेलाडीले राम्रो खेलेको हो, तर पाएको मौकामा गोल गर्न नसक्दा नै हार भयो’–प्रशिक्षक श्रेष्ठले भने । अफ्रिकनका प्रशिक्षक सगुन ताण्डुकारले मनाङले आफुहरु भन्दा राम्रो खेलेको प्रतिक्रिया दिदै भाग्यले जितेको बताए । ‘मनाङले धेरै राम्रो खेलेको हो, तर भाग्यले हामीले जित्यौं । इन्जुरी समयमा छिरेको खेलाडीले नै गोल गरे’–उनले भने । प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमीफाइनल खेल बिहिबार आयोजक धरान फुटबल क्लब र सहारा क्लब पोखराबीच हुनेछ ।


























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे