अपराध नियन्त्रणमा क्यु.आर.टि.प्रभावकारी


धरान । ‘कुनै घटनामा प्रहरीलाई फोन गर्दा समयमै आइपुग्दैन, प्रहरी भ्यान अन्तै गएको छ भन्छ’– नेपाल प्रहरीले सर्वसाधारणबाट पाउने धेरै गुनासो हुन् यी । भौतिक एवं पर्याप्त जनशक्ति अभावको कारण सर्वसाधारणबाट हुने यही गुनासोलाई कम गर्न इलाका प्रहरी कार्यालय धरानले क्विक रेस्पोन्स टिम(क्यु.आर.टि.) परिचालन गरेको छ ।
यो टिम परिचालन गरिएपछि शान्ति सुरक्षामा सकारात्मक प्रभाव परेको प्रहरीको भनाई छ । कुनै घटनाको जानकारी पाउनसाथ तत्काल प्रहरी घटनास्थलमा पुग्ने भएकोले सर्वसाधारणले पनि राहत महशुस गर्न थालेका छन् । अपराध नियन्त्रण गर्न पूर्वक्षेत्रीय प्रहरी कार्यालयबाट ३ वटा मोटरसाइकल पाएपछि इलाका प्रहरीले धरानमा क्युआरटि तयार गरेर परिचालन गरेको हो । यो टिम घटनास्थलमा तत्काल पुग्न सक्ने, प्रहरी भेन पर्खिरहनु नपर्ने, बजारको गल्ली, कुनाकाप्चा हुदै भिड छिचोलेर जही पनि पुग्न सक्ने हुँदा अपराध नियन्त्रणमा प्रभावकारी भएको डिएसपी सञ्जयसिंह थापाले बताए । ‘कही कतै घटना भयो भने तत्काल पुग्न सजिलो भएको छ, प्रहरी भेन पुग्न नसक्ने साघुरो गल्लीमा पनि क्युआरटि पुग्ने भएकोले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न मद्दत पुगेको छ’–डिएसपी थापाले भने ।


संविधानसभा निर्वाचन प्रयोजनमा आएको मोटरसाइकलमध्ये ३ वटालाई चुनाव पछि क्षेत्रीय प्रहरी कार्यालयले धरान प्रहरीलाई उपलब्ध गराएको थियो । ती मोटरसाइकलमध्ये २ वटा इलाकाले प्रयोग गरिरहेको छ भने एउटा भानुचौकस्थित वडा प्रहरी कार्यालयलाई दिइएको छ । क्राइम कन्ट्रोल भेइकल(सिसिभि) नाम दिइएका ती मोटरसाइकलमा रिभल्विङ लाइट र साइरन पनि जडान गरिएको छ । क्युआरटिमा एक पटकमा सई वा असईको नेतृत्वमा एक मोटरसाइकलमा दुई जना खटिएका हुन्छन् । हतियारसहित परिचालन हुने यो टिमलाई आवश्यकता र परिस्थितिअनुसार गोली चलाउन सक्नेसम्मको अधिकार दिइएको छ । ‘यो टिमले भाग्दै गरेको अपराधीलाई पछ्याउन सजिलो भएको छ, ३ वटा मोटरसाइकल भएकोले तीन तिरबाट छेक्न सक्छौं’–प्रहरी निरीक्षक मुकुन्द रिजालले भने–‘परिस्थिति र आवश्यकता हेरेर गोली चलाउनसक्ने अधिकार पनि दिइएको छ ।’
धरानमा इलाका र वडा प्रहरी कार्यालयको पुरानो एक एक वटा प्रहरी भेन छ । निरन्तर मोवाइल गस्तीमा घुमिरहने ती भेन कहिले घटनाको खबर पाउदा अर्को क्षेत्रमा पुगेको हुन्छ भने कहिले बिग्रेर थन्किएको हुन्छ । पर्याप्त बजेट नपाउदा इन्धनको समस्या पनि प्रहरीलाई टाउको दुःखाई बन्ने गर्छ । प्रहरीका अनुसार क्युआरटीको टोलीलाई भित्री तथा संवेदनशील एरिया, साँघुरो गल्ली, अत्यधिक भिडभाड एरियामा परिचालन गरिएको छ । ‘सवारी नियम उल्लंघन गरेर भाग्ने, दुव्र्यसनी र अपराध गरेर भाग्नेलाई समाउन सकेको छौं’–डिएसपी थापाले भने–‘यसको प्रभावकारीताले गर्दा एउटा मोटरसाइकल थप्ने र त्यसलाई भानुचौक क्षेत्रमा राख्ने योजना बनाएको छ ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे