पूर्वाञ्चलव्यापी ब्याडमिन्टन च्याम्पियनसिप सम्पन्न(फोटोफिचर)


 धरान । पूर्वाञ्चलव्यापी खुला ब्याडमिन्टन च्याम्पियनसिप ०७० अन्र्तगत मेन्स डबलमा सप्तरीका विष्णु कटवाल र सुनसरीका प्रकाश लिम्बूको जोडी प्रथम भएको छ ।
शुक्रबार धरानस्थित कवर्ड हलमा सम्पन्न फाइनल खेलमा आयोजक साँगुरी हार्टहिटर ब्याडमिन्टन क्लबका रकम लिम्बू र रविन साउदेनको जोडीलाई हराउदै विष्णु र प्रकाशको जोडी प्रथम भएको हो । उनीहरुले रकम र रविनको जोडीलाई २१–१४ र २१–११ को सोझो सेटमा पराजित गरेको थियो । यस्तै, प्रतियोगिताको मेन्स सिंगल विधामा सप्तरीका विष्णु कटवालले भोजपुरका विवेक श्रेष्ठलाई हराउदै प्रथम भए । फाइनलमा विष्णुले विवेकलाई २१–१६, १७–२१ र २१–९ को सेटमा पराजित गरेका थिए ।
यसैगरि, प्रतियोगिता अन्र्तगतको वुमेन्स सिंगल विधामा इलामकी सुलोचना भक्तराजले सुनसरीकी अनु राईलाई हराउदै प्रथम बनिन् । पूर्वाञ्चलकी नम्बर एक खेलाडी सुलोचनाले २१–१८ र २१–१७ को सोझो सेटमा अनुलाई पराजित गरेकी थिइन् । सोही प्रतियोगितामा मिक्स डबल विधामा सुनसरीका प्रकाश लिम्बू र अनु राईको जोडीले पञ्चकन्या क्लब धरानका सुमन लिम्बू र धनमाया योङहाङ्गको जोडीलाई पराजित गर्दै प्रथम भयो । फाइनलमा सुमन र धनमायाको जोडीले २१–१८ र २१–११ को सोझो सेटमा जित हात पारेको थियो । यस्तै, भेट्रान्स डबल विधामा पाँचथरका महेन्द्र थाम्सुहाङ्ग र इन्द्र योङहाङ्गको जोडी प्रथम भयो । यो जोडीले सुनसरीका चन्द्रशेखर लामा र नयन लिम्बूको जोडीलाई २३–२१, ११–२१ र २१–१० को सेटमा पराजित गर्यो ।

मेन्स डबल विधाका विजेता जोडीले नगद १५ हजार र स्वर्ण पदक, दोस्रो हुने जोडीले ७ हजार ५ सय र रजत पदक तथा तेस्रो हुने २ जोडीले २–२ हजार र काँस्य पदक हात पारे भने मेन्स सिंगल विधामा विजेताले नगद १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुने दुई खेलाडीले जनही २५ सय थापे । यस्तै, वुमन्स सिंगल विधाका प्रथम हुने खेलाडीले नगद ८ हजार, दोस्रोले ४ हजार र तेस्रो हुने २ खेलाडीले जनही १५ सय पाए । यसैगरि, मिक्स डबल विधाका प्रथम हुने जोडीले नगद ६ हजार, दोस्रो हुनले नगद ३ हजार र तेस्रो हुने दुई जोडीले एक एक हजार थापे भने भेट्रान्स डबल विधामा प्रथम हुने जोडीले नगद ६ हजार र दोस्रो हुनेले नगद ३ हजार थापे । विजेता खेलाडीहरुलाई आयोजक साँगुरी हार्टहिटर ब्याडमिन्टर क्लबका अध्यक्ष धनबहादुर लिम्बू, प्रमखु अतिथि एवं सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङवाङ, बक्सिङका राष्ट्रिय प्रशिक्षक अनुप लामा, ब्याडमिन्टन संघका केन्द्रीय सदस्य चन्द्रशेखर लामा, सहयोगी मनोज राउतलगायतले पुरस्कार प्रदान गरेका थिए । तीन दिने प्रतियोगिता समापन समारोहमा खेलकुदको विकासमा सञ्चारमाध्यमबाट योगदान पुर्याएको भन्दै नागरिक दैनिक संवाददाता रोहित राई, ब्लाष्ट दैनिकका फोटो पत्रकार उपेन्द्र चाम्लिङ र गणतन्त्र एफएमका गोपाल कामतलाई प्रशंसा पत्रद्धारा सम्मान गरेको थियो ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे