राजश्व प्रमुखले रक्सिको पैसा तिर्नेबेला बबाल गरेपछि..


धरान । भेडेटारस्थित होटल अरुण भ्यालीमा रक्सी पार्टीपछि विल(पैसा) तिर्ने बेलामा आन्तरिक राजश्व कार्यालय धरानका प्रमुखले बबाल गरेपछि होटल व्यावसायीहरु रुष्ट बनेका छन् ।
पटक पटक विवादमा तानिएका प्रमुख तुलसीराम सेढाईले बिहिबार राती बिल तिर्ने बेलामा विवाद झिकेर होटल सञ्चालिकालाई ‘भोली आएर चार्ज गर्ने’ चेतावनी दिएपछि व्यावसायीहरु रुष्ट बनेका हुन् । सेढाईले अभद्र व्यवहार गरेको र गलत समयमा पदीय हैसियत दुरुपयोग गर्दै चेतावनी दिएको भन्दै भेडेटारका होटल व्यावसायीहरु शुक्रबार धरानस्थित राजश्व कार्यालय पुगेर आक्रोश पोखे । होटल एशोसिएशन अफ भेडेटार र होटल एशोसिएशन अफ धरानको संयुक्त टोलीले सेढाईकै कार्यकक्षमा पुगेर उप्रान्त यस्तो घटना नदोहोर्याउन चेतावनीसमेत दिए ।

बिहिबार धरानका प्रमुख सेढाईसँगै आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख गोपाल कोइराला र अमेरिकाबाट आएका उनका एक मित्रका परिवार, केटाकेटी पनि भेडेटार गएका थिए । होटल सञ्चालिका शान्ति श्रेष्ठका अनुसार होटलमा घटना करिब साढे ८ बजेतिरको हो । सेढाईको टिमलाई राम्रो सेवा सत्कार गरेर सन्तुष्टि दिलाएपनि बिल तिर्ने बेलामा भने सेढाईले अनावश्यक विवाद झिकेको सञ्चालिका श्रेष्ठले बताइन् । ‘तीन जना साथीहरुबीच कस्ले पैसा तिर्ने बिषयमा हानाथाप भइरहेको थियो, उहाँ(सेढाई) एक्कासी आएर खै विष्णु जी भन्दै हप्काउन थाल्नुभयो । मैले पुजा गर्दै हुनुहुन्छ भन्दा यतिबेला पूजा गर्ने, बोलाउनुस भन्दै चर्किनु भयो’–श्रेष्ठले भनिन्–‘पैसा नतिरी जाने भन्न थाल्नुभयो, मैले दुःख गरेर खोलेको हो, त्यसरी हुदैन भन्दा भोली आएर चार्ज गर्ने भन्नुभयो, यो कुराले रातभरी सुत्नै सकिन ।’ होटल अरुण भ्याली होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष विष्णु श्रेष्ठले सञ्चालन गरेका हुन् ।


रुष्ट व्यावसायीहरुले आक्रोश पोख्न थालेपछि भने शुक्रबार आफ्नै कार्यकक्षमा सेढाईले आफ्नो व्यहावहारप्रति माफी मागेका थिए । पैसा तिर्ने बेलामा सञ्चालिकासँग विवाद भएको स्वीकार्दै उनले भोली आएर चार्ज लगाउने चेतावनी भने नदिएको दाबी गरे । ‘उहाँको होटलमा गएर मैले पनि २ प्याक पिएकै हो, पैसा तिर्ने बेलामा फर्कन हतार हुदा मबाट त्यस्तो व्यहार भयो, शुरुमा नै माफी मागी सके’–सेढाईले भने–‘तर, चार्ज लगाउछु भन्ने शब्द प्रयोग गरेको छैन, हामी त्यहाँ अफिसियलरुपमा गएका पनि होइनौं, अमेरिकाबाट साथी आएकोले पारिवारिकरुपमा गएका थियौं ।’
कर प्रमुख सेढाई र भेडेटारका होटल व्यावसायीहरुबीच गत बर्ष पनि विवाद भएको थियो । राजश्व विभागका महानिर्देशकलाई भेडेटार घुमाउन लागेका सेढाईले होटल मेजेस्टीमा पैसा तिर्नेबेलामा भ्याटमा जानुपर्छ भनेर चलानी नम्बर र मिति विनाको पत्र थमाएपछि विवादले उग्ररुप लिएको थियो । त्यतिबेला व्यावसायीहरुले प्रहरी चौकीमा पुर्याएपछि माफी मागेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्ने जनाएपछि उनी थप विवादमा आएका थिए । होटल एशोसिएशन अफ भेडेटारका सचिव जितेन्द्र रुम्दालीले भ्याटमा दर्ता हुनको लागि संस्थागतरुपमा छलफल गर्न तयार रहेको उल्लेख गर्दै व्यावसायीमाथि अभद्र व्यवहार र बोली नदोहोरियोस भनेर दबाब दिन आएको बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे