कुम्भमेलाका तीर्थालुले धरानका होटल खचाखच

धरान । सुनसरीको चतराधाममा दोस्रो पिण्डेश्वर महाकुम्भ मेला लागेपछि धरानका होटल तथा लजहरु धार्मिक पर्यटक(तीर्थयात्री)हरुले खचाखच भरिएका छन् । धार्मिक पर्यटकहरुको चाप थेग्न नसकेपछि भेडेटार, इटहरी र विराटनगरका होटलहरुमा तीर्थयात्रीहरुलाई राख्नु परेको धरानका होटल व्यावसायीहरुको भनाई छ ।
बराहक्षेत्र गाविसस्थित चतराधाममा चैत १७ गतेदेखि दोस्रो महाकुम्भ मेला शुरुवात भएको थियो । कुम्भमेला अघि आयोजकले देशव्यापीरुपमा कलशयात्रा गराएर प्रचार गरेकोले तीर्थयात्रीहरुको आगमन बढेको हो । यसको फाइदा पर्यटनउन्मुख धरान नगरका व्यावसायीहरुलाई पनि पुगेको छ । कुम्भ मेलास्थल चतरामा पर्यटनमैत्री स्तरीय होटल तथा लज सुविधाको अभावले पनि पर्यटक एवं तीर्थयात्रीहरु बास बस्न धरान नै आउने गरेका छन् ।
व्यावसायीहरुका अनुसार कुम्भमेला शुरु भएको साता दिन पछि नै धरानका होटल तथा लजहरु दैनिकरुपमा खचाखच भरिन थालेको हो । यसरी आउनेमा आन्तरिक धार्मिक पर्यटकहरु नै बढी छन् । बैशाख २ गते यता कुम्भमेलामा तीर्थयात्रीहरुको आगमन बढेपछि होटल तथा लजहरुमा थामिनसक्नु चाप छ । प्रायः खाली रहने होटल तथा लज खचाखच भरिदा व्यावसायीहरु पनि खुशी छन् । ‘कुम्भमेला शुरु भएको साता दिनपछि यहाँको होटलहरुमा सोचेभन्दा धेरै धार्मिक पर्यटक(तीर्थयात्री)हरु आउन थालेका हुन्’–धरान ९स्थित होटल साँझका सञ्चालक शिवराज श्रेष्ठले भने–‘धरानको होटलहरु सबै प्याक भएर भेडेटार, इटहरी र विराटनगरसम्म पठाउनु परेको छ ।’ व्यावसायी श्रेष्ठका अनुसार धरानका होटलमा बास बस्ने तीर्थयात्रीहरु पश्चिम नेपालका बढी छन् ।
चतरास्थित कोशी नदीमा कुम्भमा स्नान गरिसकेर त्यहाँको जल धरानस्थित पिण्डेश्वर मन्दिरमा चढाएमात्रै सार्थक हुने विश्वासको कारणले पनि तीर्थयात्रीहरुलाई धरानमै बस्न सहज हुन्छ । व्यावसायीहरुका अनुसार तीर्थयात्रीहरु चतरामा कुम्भस्नान मात्रै गर्दैनन्, बराहक्षेत्र मन्दिर, विष्णुपादुका र धरानको विजयपुर गढीमा अवस्थित धार्मिकस्थलहरुमा पनि दर्शन गर्न जान्छन् । जसले गर्दा तीर्थयात्रीहरुको बसाई कम्तीमा २ दिनसम्म धरानमै हुने गरेको छ । ‘अझै हामीले प्याकेजकोरुपमा रामधुनी, कोशीटप्पु वन्यजन्तु आरक्ष र भेडेटार हुदै राजारानी तालसम्म पुर्याउन सके पर्यटकहरुको बसाई लम्बिनेथियो’–होटल एशोसिएशन अफ धरानका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन् ।
व्यावसायीहरुका अनुसार धरानमा ठुला साना होटल तथा लज र धर्मशालाहरु गरी दैनिक १५ देखि १८ सय बास बस्न सक्छन् । कुम्भमेलामा पश्चिम नेपालबाट आएका तीर्थयात्रीहरुसँगै यो सातादेखि भने भारतीय तीर्थयात्रीहरु पनि आउन थालेको व्यावसायीहरुको भनाई छ । तीर्थयात्रीहरुको चाप बढेपछि होटल व्यावसायी महासंघ नेपालका केन्द्रीय सदस्य महेन्द्र प्रधानको दैनिकी हिजोआज पाहुनालाई होटल बुक गरिदिने कामले ब्यस्त बनाएको छ । उनी सुनसरी उद्योग वाणिज्य संघको पर्यटन समितिको संयोजकसमेत भएकोले पूर्व–पश्चिमका व्यावसायीहरु कुम्भमा आउदा उनलाई नै सम्पर्क गर्ने गरेका छन् । ‘अहिले मेरो काम होटल बुक गर्ने भइरहेको छ’–प्रधानले भने–‘पूर्व पश्चिम सबैतिरबाट गाडी रिजर्ब गरेर समुह समुहमा मान्छेहरु आएका छन्, यो पर्यटन प्रर्वद्धन र विकासको हिसाबले ज्यादै उत्साहजनक भएको छ ।’ उनका अनुसार मंगलबार मातातीर्थ औशी परेकोले सोमबार नै धरानका होटल तथा लजहरु प्याक भइसकेको छ ।
महाकुम्भ मेला आयोजक समितिका सहअध्यक्ष दलबहादुर पौडेलका अनुसार हालसम्म कुम्भ मेलामा ५० लाख बढी तीथालुहरु सहभागी भएको अनुमान छ । कुम्भमा भारतीय तीथयात्रीहरु ध्ेरै आउने अपेक्षा गरिएपनि त्यहाँको चुनावले असर पुर्याएको उनले बताए । ‘बैशाख २ गते यता दैनिक कम्तीमा एक लाख श्रद्धालु भक्तजनहरु आइरहेका छन्, अहिले भारतीय तीर्थालुहरुको संख्या पनि बढीरहेको छ’–पौडेलले भने–‘यही बस्न चाहनेलाई पण्डाल बनाइएको छ, राम्रो होटलमा बस्छु भन्नेहरु धरान, इटहरी तिर जान्छन् ।’ दार्जिलिङ सिक्किम, वंगाललगायत क्षेत्रमा चुनाव सकेपछि भारतीय धार्मिक पर्यटकहरुको संख्या पनि कुम्भमा बढ्न थालेको छ । बाह्र बर्षे महाकुम्भ मेला यही बैशाख १९ गते सकिदैछ ।

            खानेपानी अभावको मार

चैत बैशाख पर्यटन व्यावसायको लागि अफ सिजन हो । यही समयमा धार्मिक पर्यटकहरुले धरानको होटल तथा लज भरिदा व्यावसायीहरु खुशी छन् । तर, पाहुनालाई हातमुख धुने पानीसमेत दिन नसक्दा भने लजमर्दो स्थिति सामना गर्नुपरेको व्यावसायीहरु गुनासो गर्छन् । ‘होटलहरु खचाखच छ, तर पानी एकैथोपा छैन’–होटल साँझका सञ्चालक शिवराज श्रेष्ठले भने–‘धरानकै वदनाम भइसक्यो ।’
खानेपानी संस्थानको धरानस्थित शाखाले बर्षौंदेखि माग वमोजिम खानेपानी आपूर्ति गर्न सकेको छैन । त्यसको विकल्पमा ट्यांकर व्यावसायीहरुसँग इटहरी २, शान्तिनगरबाट बोरिङ गरेको पानी किनेर व्यावसायीहरुले होटल चलाइरहेका थिए । शनिबारदेखि स्थानीयले बोरिङ गरेको पानी ट्यांकरमा ल्याउन नदिएपछि धरानमा पानीको हाहाकार छ । केही ट्यांकर व्यावसायीहरुले चतरास्थित कोशीको पानी ल्याएर होटलमा बिक्री गरेपनि त्यो पानी नुहाउन र सरसफाई गर्न मात्रै योग्य हुन्छ । पाहुनाहरुलाई मिनरल वाटर किनेर हातमुख धुनुपर्ने बाध्यता रहेको व्यावसायी महेन्द्र प्रधानले बताए ।

 एडिबिको बोरिङ पानी प्रयोग गर्न पहल

धार्मिक पर्यटकहरुले होटल खचाखच भरिदा खानेपानी अभाव भएपछि उद्योगी, व्यावसायीहरुले एसियाली विकास बंैकको सहयोगमा शुरु खानेपानी आयोजनाले टेष्ट ड्रिलिङ(बोरिङ) गरेको स्थानबाट पानी प्रयोगमा ल्याउन पहल शुरु गरेका छन् ।
खानेपानी अभावमा होटलमा बसेका तीर्थयात्रीसँगै अन्य पर्यटकहरुलाई मर्का परेको भन्दै सुनसरी उद्योग वाणिज्य संघले धरान १७, कुम्भीआहालमा बोरिङ गरिएको पानी प्रयोगमा ल्याउन नगरपालिकासँग आग्रह गरेको छ । संघले सोमबार पत्र लेखेर नै नगरपालिकालाई आग्रह गरेको हो । संघको यो पहलमा ट्यांकर व्यावसायीहरुले पनि साथ दिएका छन् । ‘धरानमा पानीको हाहाकारसँगै होटल व्यावसाय मारमा परेकोले कुम्भीआहलको पानी उपलब्ध गराउन पत्राचार गरेका छौं’–संघका अध्यक्ष सरोज श्रेष्ठले भने–‘ट्यांकर व्यावसायीसँग जेनेरेटर खर्च लिने र सर्वसाधारणलाई भने त्यही निःशुल्क दिनुपर्छ भनेर पहल गरेका छौं ।’
आयोजनाको कुम्भीआहालमा टेष्ट ड्रिलिङ(बोरिङ) गरेको पानी परिक्षणबाट पिउन योग्य रहेको पनि पुष्टि भइसकेको छ । आयोजनाका प्रमुख राजु पोख्रेलले टेष्टड्रिलिङको पानी उपलब्ध गराउन सकरात्मक भएपनि नगरपालिकाले निर्णय गरेपछि मात्रै दिन सकिने बताए । ‘पम्पिङ गर्यो भने पानी आउछ, जेनेरेटरको खर्च भने व्यहोर्नुपर्छ’–पोख्रेलले भने–‘तर, नगरपालिका, राजनैतिक दलले निर्णय गर्नुपर्छ, एडिबिबाट पनि स्वीकृति लिनुपर्छ ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे