एकल युद्ध कविता वाचन: कवितामा सिपाहीको जिन्दगी
धरान । सिपाहीले युद्धमा जादा लगाउने ज्याकेट रुखका हाँगामा झुण्डिएका छन् । नजिकै एक लहरमा हेल्मेट, बुटजुत्ता, मख र मिस्टिन(खाना बोक्ने बट्टा) छन् । एकापट्टि भित्तामा सिपाहीले लगाउने तीन खाले ट्राउजर काटीमा झुण्ड्याइएको छ । गमलामै रोपिएको भएपनि हलक्कै बढेका वृक्ष(विरुवा)ले कुनै जंगल युद्धको झझल्को दिइरहेको छ । त्यही बेला दोस्रो विश्वयुद्ध लड्दा युद्ध बन्दी बनेका ९६ बर्षीय जसमान राई जुरुक्क उठ्ेर आदेश दिन्छन्,‘फायर गोर्खा, खुकुरीले काट !’
उनको आदेश पछि एक युवाले धमाधम गोली बर्षाउन शुरु गरे, तर बन्दुकको होइन, शब्दको गोली ।
प्रीयसी, म जस्तो गएको थिएं युद्धमा
म त्यस्तो फर्किएको छुइन युद्धबाट
सवै मरेर शरीरमात्र आएजस्तो
बांचेजस्तो गर्नु अप्ठ्यारो रहेछ
सिपाहीको जिन्दगीले
ती युवा थिए, बेलायतमा रहेर युद्ध साहित्य सृर्जना गरिरहेका युवा कवि नरेश काङमाङ राई । ब्रिटिश सेनाबाट मेडिकल पेन्सनमा अवकाश लिएका ३७ बर्षीय राईको शनिबार धरान १० स्थित यलम्बर स्मृति संग्रहालयमा एकल युद्ध कविता वाचन भएको थियो । आयोजक एक्टिभ मिडिया र कविले कार्यक्रमस्थललाई युद्ध मैदानको पृष्ठभुमिझै तयार गरेका थिए । कवि काङमाङले कविता वाचन शुरु गरेपछि सहभागीहरुलाई सिपाहको युद्धमैदानको भोगाईले भावुक मात्रै बनाएनन्, वीर गोर्खालीको इतिहाससँग पनि सक्षात्कार गराईदिए । ‘लाहुरेहरु अरु देशको लागि मात्रै लड्यो भन्छन्, तर सत्य त्यो होइन । ब्रिटिश गोर्खाको पेन्सनबाट स्कुल, अस्पतालहरु पनि बनेका छन्, ००७ सालको क्रान्ति हुँदा भोजपुरमा लाहुरेहरुले नै हतियार उठाएका थिए’–बीच बीचमा लाहुरे गाथा सुनाउदै कवि काङमाङले भने ।
आँशु जस्तै छ युद्ध..शिर्षकको कविताबाट एकल वाचन शुरु गरेका काङमाङले क्रमशः गोर्खालीको सालिकअघि राईरहेको पप्पी फुलहरु, यो आँखा झिक्न चाहन्छु कर्णेल साप, थालिएको गोर्खाली इतिहास, घामड राइफलमेन उजिर राईलगायत डेढ दर्जन युद्ध कविताहरु सुनाए । युद्धको आफ्नै अनुभवहरुलाई साहित्यमा पस्किदै आएका काङमाङको कवितालाई साहित्यकार एवं समालोचकहरुले निक्कै प्रसंसासमेत गरेका छन् ।
स्कुले जिवनदेखि नै साहित्य सृर्जना गर्दै आएका काङमाङ सन् २००२ मा बेलायती सेनामा भर्ती भएका थिए । भर्ति भएर गए पनि उनले साहित्य सृर्जना गर्न भने छोडेनन् । पल्टनमा रहदाको भोगाई र अनुभूतिहरुलाई उनले युद्ध साहित्यकोरुपमा परिभाषित गर्दै सृर्जन गर्न थाले । उनले आँसुको दोभान(संयुक्त कविता संग्रह), अनुहारमा लुकाइएका चोटहरु(कविता संग्रह) र युद्ध बोकेको सिताङ(उपन्यास) प्रकाशन गरिसकेका छन् भने संयुक्त कविता संग्रहहरु ‘सीमाहिन विम्बहरु’ ‘ग्रीनवीचका प्रतिध्वनिहरु’ र नेपाली साहित्यमा पहिलो युद्धकविता संग्रह ‘युद्धमा हराएको प्रेम’ सम्पादन गरिसकेका छन् । उनी हाल बेलायतबाट प्रकाशित हुने द्धैमासिक पत्रिका ‘ग्रीनवीच टाइम’को कार्यकारी सम्पादकको रुपमा पनि कार्यरत छन् ।
भाषाविद् डा.टंक न्यौपानेले काङमाङका कृर्तिहरुले युद्ध साहित्यको सन्दर्भहरुलाई मात्रै समेटेको उल्लेख गर्दै सृर्जनामा गुणात्मकता बढाउदै गएको बताए । अन्र्तराष्ट्रिय युद्धलाई मात्रै युद्ध साहित्यले समेटेकोप्रति असहमति जनाउदै न्यौपानेले यसको दायरा बढाउन पनि सुझाए । अर्का साहित्यकार गोपाल देवान(अविराम क्रान्ति)ले युद्ध साहित्यले नेपाली साहित्यलाई श्रीवृद्धिसँगै अन्र्तराष्ट्रियकरण गर्ने धारणा राखे । साहित्यको नयाँ प्रयोगकोरुपमा युद्ध साहित्य आएको धारणा राख्दै उनले विचार, कला र व्यावहारिकताको मिश्रण रहेको बताए । युवा कवि मनु मञ्जिलले आफै युद्ध मैदानमा गएका कविले त्यहाँको अनुभवलाई साहित्यमार्फत व्यक्त गरेकाले युद्ध कविता वास्तविक भएको बताए । ‘युद्धको विशिष्ट अनुभव उहाँसँगै छ, त्यसैले युद्ध कविता पनि उहाँले मात्रै लेख्न सक्नुहुन्छ, यो मौलिक साहित्य रहेछ’–कवि मञ्जिलले भने । कार्यक्रममा कवि देवान किराती र फ्यान क्लब अफ रमेश क्षितिजकी सदस्य पञ्चमाया ताम्लीले पनि काङमाङको कविता वचन गरिदिएका थिए ।
Comments
Post a Comment