उपाधिको लागि आज अफ्रिकन युनाइटेड र सहारा भिड्दै


धरान । १६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा आज शनिबार अफ्रिकन युनाइटेड क्लब र सहारा क्लब पोखराबीच भिड्न्त हुदैछ । दुवै टोली फाइनलमा उपाधि हत्याउने रणनीतिमा मैदानमा उत्रनेछन् ।
अठौं सँस्करणको विजेता अफ्रिकन युनाइटेड सात बर्षपछि बुढासुब्बाको फाइनल खेल्दैछ । नवौं सँस्करणमा उपविजेतामै चित्त बुझाएको अफ्रिकन टोली यसपटक जसरी पनि उपाधि उचाल्ने योजनामा छ । अर्कोतर्फ, भर्खर घरेलु मैदानमा आहा रारा गोल्डकप च्याम्पियन बनेको पोखरेली टोली उत्कृष्ट लयमा छ । नकआउट प्रतियोगितामा लगातार दोस्रो फाइनल खेलिरहेको सहारा पनि बुढासुब्बाको उपाधि उचालेर नयाँ ईतिहास रच्ने दाउमा छ । तर, फाइनलमा जित हात पार्नु दुवै टोलीलाई त्यति सहज भने हुने छैन । दुवै टोलीले सशक्त टिमलाई हराउदै फाइनल यात्रा तय गरेकोले पनि एकले अर्कोलाई कम आँक्नु भुल हुनेछ ।
घरेलु मैदानमा १२ औं सँस्करणको उपाधि जितेर इतिहास रचेको सहाराले धरानमा पनि च्याम्पियन बन्नसक्यो भने यो सिजन ऐतिहासिक उपलब्धी हुनेछ । बुढासुब्बामा जुनस्तरमा खेलाडीहरुले प्रर्दशन गरिरहेका छन्, त्यो तारिफ गर्नलायक छ । दुवै खेल टाइब्रेकरमा जितेको सहाराले गोल खाएर पछि परेको स्थितिमा पनि धैर्यता नगुमाई खेलमा फर्कनसक्ने अभुतपूर्व क्षमता प्रर्दशन गरिसकेको छ । पहिलो खेलमा नेपाल पुलिससँग पहिलो हाफ १ गोलले पछि परेको सहाराले दोस्रो हाफमा बराबरी गोल गर्दै खेल टाइब्रेकरमा ३–२ ले जितेको थियो । बिहिबारको सेमीफाइनल खेलमा पनि आयोजक धरान फुटबल क्लबसँग पहिलो हाफ एक गोलले पछि परेको स्थितिमा दोस्रो हाफमा गोल गर्दै सहाराले खेल टाइब्रेकरमा पुर्यायो र सडन डेथमा जित हात पार्यो ।
सहारा क्लबका खेलाडीहरु
उदयीमान युवा खेलाडी भएकोले पनि सहाराको प्रर्दशनमा एकरुपता छ । नआत्तिकन खेल्नु उनीहरुको अर्को वलियो पक्ष हो । ‘टिममा नाम चलेको खेलाडी छैनन्, तर सबै युवा छन्, उनीहरु उच्च फर्ममा छन्’–प्रशिक्षक किरण श्रेष्ठले भने–‘सबैभन्दा राम्रो पक्ष खेलाडीहरु गोल खाएर पनि धैर्यता नगुमाई एक नाशले खेल्छन् र खेलमा फर्कन्छन्(कम ब्याक ) । टिम वर्क छ, यो नै हाम्रो सशक्त पक्ष हो ।’ फाइनलको विपक्षी अफ्रिकन खेलाडीहरु शारीरिकरुपमा अग्ला र वलिया भएको पोखरेली टोलीलाई राम्रो हेक्का छ । त्यसैले फाइनलमा एयरमा वल उडाउने भन्दा सर्ट फुटबल खेल्ने प्रयत्न गर्नेछन् । ‘जित्नै भनेर आएका हौं, तर अफ्रिकन टोली शारीरिकरुपमा पनि वलिया छन्, त्यसैले बिषेश रणनीति अपनाउने छौं’–प्रशिक्षक श्रेष्ठले भने ।
नेपाली राष्ट्रिय टिमबाटसमेत खेलिसकेका विजय गुरुङ सहाराका भरपर्दा फरवर्ड हुन् । यस्तै, मिडफिल्ड अनिल ओझा, सुमन लामा, हेमन गुरुङ, विष्णु गुरुङ र रक्षापंक्तिका मनबहादुर तामाङ, सरोज दाहाल, नुराज काफ्ले, सुरज खिङ, भुपाल गुरुङ भरपर्दा खेलाडी छन् भने आहा राराका वेष्ट गोलकिपर सागर गुरुङले धरानमा पनि आफ्नो क्षमता देखाइसकेका छन् । पुलिससँगको टाइब्रेकरमा उनले २ प्रहार रोकेका थिए भने आयोजकसँगको सेमीफाइनलमा पनि उनले सडन डेथमा सन्दिप राईको निर्णायक प्रहार रोके ।
प्रतियोगितामा अफ्रिकन युनाइटेडेले शहीद स्मारक लिग विजेता मनाङ मस्र्याङ्दी र उपविजेता एनएमबी मछिन्द्र क्लबलाई हराउदै फाइनल यात्रा तय गरेको हो । उसले पहिलो खेलमा मछिन्द्रलाई २–१ ले र सेमीफाइनलमा मनाङलाई पनि २–१ गोलअन्तरले नै हराएको थियो । उपाधिका दाबेदार मानिएको यी दुई टोलीलाई हराएकोले अफ्रिकन टोलीसँग उच्च मनोवल छ । साथै, अफ्रिकी महादेशका खेलाडीहरु भएकोले उनीहरु आफ्नो महादेशीय पहिचानको भावनाले पनि उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने प्रशिक्षक सुगन ताण्डुकारको भनाई छ । ‘टिमका खेलाडीहरुमा हामी अफ्रिकी महादेशका खेलाडी हौं, त्यसैले गर्व बढाउनको लागि पनि जित्नुपर्छ भन्ने भावना छ’–ताण्डुकारले भने–‘लिग विजेता र उपविजेताजस्तो सशक्त टिमलाई हराएकोले फाइनल जित्छौं भन्ने आत्मविश्वास छ ।’
अफ्रिकन युनाइटेडका खेलाडीहरु
फाइनलमा आक्रमक ४–३–३ को रणनीतिमा मैदानमा उत्रने अफ्रिकन युनाइटेडमा कुनै पनि बेला गोल गर्नसक्ने क्षमताका सेन्टर फरवर्ड सेगुन छन् । अघिल्लो सिजन एनआरटीबाट खेलेका उनले शहीद स्मारक लिगमा १० गोल गरेका थिए भने यो सिजनमा हिमालयन शेर्पाबाट खेल्दै ६ गोल गरेका छन् । नेपाली फुटबलमा कसरी गोल गर्नुपर्छ भनेर सेगुनमा राम्रो ज्ञान भएको प्रशिक्षक ताण्डुकार विश्वस्त छन् । सेगुनसँगै फरवर्डमा कप्तान भिक्टोर र एल्भिसले सम्हाल्नेछन् भने रक्षापंक्तिमा पिटर, सिसको, डायो र बबीले सम्हालेछन् । भरपर्दा मिडफिल्डद्धय इब्राहिम र सेन्सेनीले दोहोरो पहेलो कार्ड पाएकोले फाइनल खेल्न नपाउनुले सहारालाई फाइदा हुनसक्छ । तर, प्रशिक्षक ताण्डुकार दुवैको ठाउँमा सेकु र मनाङका युसुफ खेल्ने हुदा समस्या नहुने दाबी गर्छन् । तथापी, पोखरेली टोलीले दुवै खेल टाइब्रेकरमा जितेर फाइनल पुगेकोले सहारासँग भाग्यको साथ भएकोप्रति ताण्डुकार पनि जानकार छन् ।
फाइनलमा अफ्रिकन खेलाडीहरुको लागि उनी ठुलै बाधा हुनेपक्का छ । बुढासुब्बाको १६ औं सँस्करणको विजेताले नगद ३ लाख २५ हजार र उपविजेताले नगद १ लाख ६२ हजार ५ सय हात पार्नेछ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे