पुलिसलाई हराउदै सहारा सेमीफाइनलमा(फोटोफिचर)


धरान । घरेलु मैदानमा आहा–रारा गोल्डकपको उपाधि जितेको सहारा क्लब पोखराले १६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता सुखद शुरुवात गरेको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार चार पटकको विजेता नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–२ ले स्तब्ध बनाउदै सहराले सुखद शुरुवात गरेको हो । बाई पाएर सिधै क्वार्टरफाइनल खेलेको सहाराले चैत २० गते सेमीफाइनलमा आयोजक धरान फुटबल क्लबको सामना गर्नेछ । निर्धारित समयको खेल १–१ को बराबारीमा टुंगिएपछि थप गरिएको अतिरिक्त समयमा पनि दुवै टिमले निर्णायक गोल गर्न सकेन । अतिरिक्त समयमा पनि निर्णायक गोल नभएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । पुलिससँग सहाराको यो पहिलो जित हो ।

सहाराको जितमा गोलकिपर सागर गुरुङ नायक बने । म्यान अफ दि म्याचसमेत भएका उनले टाइब्रेकरमा एक गोल गर्नुका साथै पुलिसको २ पेनाल्टी प्रहार रोके । गोलकिपर गुरुङसँगै सहाराका अनिल ओझा र सुमन लामाले टाइब्रेकरमा गोल गरे भने भुपाल गुरुङ चुकेका थिए । उनको प्रहार बाहिरएको थियो । उता, टाइब्रेकरमा पुलिसको पहिलो प्रहार(बोहनी) नै खेर गएको थियो । रविन श्रेष्ठको पहिलो प्रहारलाई सहाराका गोलकिपर सागर गुरुङले रोकेका थिए । त्यसपति, अजित भण्डारी र जुमानु राईले लगातार गोल गरेपनि त्यसपछिका दुई प्रहार खेर गएको थियो । पुलिसका भोला सिलवालको प्रहार बाहिरिएको थियो भने गणेश खड्काको प्रहारलाई सहाराका गोलकिपरले रोकेका थिए । म्यान अफ दि म्याच घोषित सहाराका गोलकिपर सागर गुरुङलाई नेपाली राष्ट्रिय टिमका प्रशिक्षकद्धय राजुकाजी शाक्य र भुपेन्द्रमान सिंहले ट्रफी तथा सुनिता सुब्बाले नगद ५ हजार प्रदान गरे ।

निर्धारित समयको खेलमा भने पुलिसले अग्रता लिएको थियो । पहिलो हाफको ४४ औं मिनेटमा बिक्रम धिमालको लामो पासमा जुमानु गुरुङले सहाराका एक डिफेन्सलाई छक्याउदै पहिलो बार च्याप्दै वल जाली चुमाए । एक गोलले पछि परेको सहाराले दोस्रो हाफको छैटौं मिनेटमा बराबारी गोल फर्काएको थियो । पिउस हेनरीको क्रस पासमा विजय गुरुङले डिबक्सबाट गरेको प्रहार गोलपोष्टमा लागेर फर्किएको थियो । त्यही वललाई नियन्त्रणमा लिदै विजय गुरुङले दिएको पासमा सुमन लामाले दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।
निर्धारित समयको खेलमा पुलिसले सहाराको गोलपोष्टमा धेरै आक्रमण गरेपनि सफल भने हुन सकेन । पहिलो हाफको ३० औ मिनेटमा जुमानु र निरकुमार राईले राम्रो पास खेल्दै दिपेन श्रेष्ठलाई गोल गर्ने अवसर दिएपनि उनले बाहिर हाने । यस्तै, ३६ औं मिनेटमा जुमानुको फ्रि किक प्रहार पोष्ट नजिकबाट बाहिरियो भने ३९ औं मिनेटमा गणेश खड्काको प्रहार पोलमा ठोक्किएर फर्किनु पुलिसको लागि दुर्भाग्य सावित भयो । दोस्रो हाफको १२ औं मिनेटमा रविन श्रेष्ठको फ्रिकिक गोलकिपरले पञ्च गरेर फर्काइदिए भने २८ औं मिनेटमा निरकुमार राईको कडा प्रहारलाई सहाराका गोलकिपरले सुन्दर बचाउ गरे ।


शुरुवातमै आक्रमकशैलीमा प्रस्तुत भएको सहाराले पहिलो हाफको १२ औं मिनेटमा गोल गर्नबाट चुकेको थियो । पिउस हेनरीको पासमा विजय गुरुङले पुलिसका गोलकिपर रितेश थापालाई विट गर्दै खालीगोलपोष्टमा प्रहार गरेको वललाई विजय धिमालले गोल हुनबाट जोगाए । यस्तै, २५ औं मिनेटमा अनिल ओझाको फ्रिकिकमा सरोज दाहालको हेड प्रहारलाई गोलकिपरले पञ्च गरेर जोगाए । पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले मिडफिल्ड र सेन्टर फरवर्डबीच राम्रो तालमेल हुन नसक्दा स्कोर हुन नसकेको बताए । साथै उनले योजनावमोजिम डिफेन्सको पहिलो प्रहार विंसले नपाई सिधै गोलकिपरमा पुग्नु कमजोरी भएको बताए । ‘टाइब्रेकरमा कन्फिडेन्स भएर प्रहार गरेनन्’–उनले भने । सहाराका प्रशिक्षक किरण श्रेष्ठले खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिदै एक गोलले पछि परेपनि आत्मविश्वास नगुमाएकोले जित हात परेको बताए । ‘टाइब्रेकरमा गोलकिपरले राम्रो जजमेन्ट गर्यो, जितमा उनको योगदान रह्यो’–उनले भने । बुधबार पहिलो सेमीफाइनल खेल मनाङ मस्र्याङदी क्लब र अफ्रिकन युनाइटेडबीच हुनेछ ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे