दिल्ली पब्लिक स्कुलमा तालाबन्दी गर्ने चेतावनी

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सञ्चालित दिल्ली पब्लिक स्कुलबाट निष्काशनमा परेका एक भारतीय शिक्षकलाई पुर्नबहाली गर्न माग गर्दै निजी तथा संस्थागत विद्यालयका शिक्षक÷कर्मचारी युनियन(प्याब्सु)ले तालाबन्दी गर्ने चेतावनी दिएको छ ।
    युनियनले शनिबार पत्रकार सम्मेलन गर्दै बिनाकसुर निष्काशनमा परेका शिक्षक अंशुमन पुरकायस्थलाई निसर्त पुर्नबहाली गर्न, स्कुलको आर्थिक क्रियाकलाप तत्काल सार्वजनिक गर्न, नेपाली शिक्षक तथा कर्मचारीवाई ‘फरेन एलाउन्स’बाहेकका सम्पुर्ण सेवा सुविधा उपलब्ध गराउनुपर्नेलगायत पाँच बुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी दिएको हो । मागहरु पुरा नभए बैशाख १६ गतेदेखि विद्यालयको प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य हुने र त्यसको जिम्मेवारी स्कुल प्रशासन तथा बीपी प्रतिष्ठान स्वयम हुनुपर्ने पनि युनियनले जनाएको छ । युनियनले नियमानुसार कार्यरत सम्पुर्ण शिक्षक तथा कर्मचारीका दुई सन्तानलाई निःशुल्क अध्यापन गराउन, अनधिकृतरुपमा नातावाद, कृपावादको आधारमा गरिएको नियुक्तबारे छानबीन गर्न पनि माग गरेको छ ।
‘स्कुलमा कार्यरत नेपाली शिक्षक, कर्मचारीहरुको हकअधिकारको लागि वकालत गरेको रिसइबी फेर्न उहाँलाई गैरजिम्मेवारढंगले निष्काशन गरिएको छ, हामीले एउटा व्यक्तिको लागि होइन । सिस्टम र कानुनी अधिकारको लागि आन्दोलन गर्नुपर्ने स्थिति सृर्जना भयो’–युनियनका अध्यक्ष सुरेन्द्र घिमिरेले भने । तालाबन्दी गर्नुपरे प्रशासनमा मात्रै हुने खुलाउदै उनले पठनपाठनमा भने कुनै असर नपर्ने पनि बताए । पुरकायस्थलाई निष्काशन गर्नको लागि २०११ मा शिक्षिका श्वेता चक्रवर्तिले दिएको निवेदनलाई २०१४ मा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउनु नै लगत नियत प्रष्ट भएको उनले बताए । यस्तै, सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका पुरकायस्थकी श्रीमतिले कारबाही गरिपाऊ भन्ने निवेदन दिएकै भारमा गैरकानुनीढंगले उनलाई निकालिएको पनि घिमिरेले दाबी गरे । यसअघि, बीपीका उपकुलपतिले तीन महिना अध्ययन गरेर मात्रै निर्णय लिने भनेतापनि सम्झौतावअधि सकिएको भन्ने गैरजिम्मेवार कुरा गर्न थालेको उनले बताए ।
पीडित शिक्षक पुरकायस्थले भारतीय शिक्षकहरुले यसअघि विदाको समयमा नियमअनुसार पाउदै आएको फरेन एलाउन्स हालका प्रिन्सिपल, लेखा प्रमुखलगायत मिलेर कटौती गरेपछि आवाज उठाउदा रिसइबी साधेको बताए । ‘नेपाली शिक्षकहरुको आन्दोलनमा पनि साथ दिएको थिएँ,नियमअनुसार पाउने सुविधाको कुरा उठाउदा पनि रिस फेरेको हो’–उनले भने–‘श्रीमतिले कारबाही गरिपाउ भनेर निवेदन दिएको रहेछ, त्यसको आधारमा कसरी कारबाही गर्न मिल्छ ?’ स्कुलसँगै बस्दै आएको क्वाटरबाट पनि निष्काशित भएपनि शिक्षक पुरकायस्थ हाल नेपाली शिक्षकहरुको शरणमा छन् । उनी सन् २००९ देखि सो स्कुलमा कार्यरत थिए । सन् १९९६ फेब्रुअरी १८ मा नेपाल सरकार र भारत सरकारबीच भएको कुटनैतिक सम्झौताअनुसार यो स्कुल बीपी प्रतिष्ठानमा स्थापना भएको हो । प्रतिष्ठानमा कार्यतर भारतीय चिकित्सकका सन्तानलाई मात्रै भारतीय शिक्षा दिलाउने उद्देश्यले स्थापना गरिएपनि हाल नेपाली विद्यार्थीहरु पनि अध्ययन गर्छन् । यहाँ ७० प्रतिशत भारतीय शिक्षक र ३० प्रतिशत नेपाली शिक्षक राख्नुपर्ने सर्त छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे