धरानलाई हराउदै सहारा पहिलो पटक फाइनलमा


धरान । सडन डेथमा भरपर्दा खेलाडी सन्दिप राईले गोल गर्न चुकेपछि १६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लब सेमीफाइनलमा सहारा क्लब पोखरासँग पराजित भएको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार दोस्रो सेमीफाइनल खेलमा आयोजक सडन डेथमा पराजित हुदा सहाराले भने बुढासुब्बामा पहिलो पटक फाइनल यात्रा गर्यो । सडन डेथमा आयोजकका सन्दिप गोल गर्नबाट चुके भने सहाराको लागि सरोज दाहालले निर्णायक गोल गरे । सन्दिपको प्रहारलाई सहाराका गोलकिपर सागर गुरुङले रोकेका थिए । बुढासुब्बामा इतिहास रच्दै फाइनल सहारा फाइनल पुग्दा धरानले भने घरेलु मैदानमा हजारौं सर्मथकलाई निराश तुल्यायो । घरेलु मैदानमा आहा रारा गोल्डकपको उपाधि उचालेको सहारा बुढासुब्बा गोल्डकपमा फाइनल पुगेको यो पहिलो अवसर हो । उपाधि जित्ने लक्ष्य लिएर आधा दर्जन राष्ट्रिय टिम एवं थ्री स्टारका खेलाडीलाई मैदानमा उतारे पनि सहाराको अघि कुनै जोड चलेन ।

निर्धारित समय, अतिरिक्त समयको खेल र टाइब्रेकरमासमेत बराबरी गोल भएपनि खेलको निर्णय सडन डेथको आधारमा भएको हो । निर्धारित समयको खेलमा भने पहिलो हाफको २१ औं मिनेटमा गोल गर्दै धरानले अग्रता लिएको थियो । सन्तोष साहुखलको पासमा असिमजंग कार्कीले डि बक्स ठिक बाहिरबाट दोस्रो बार च्याप्दै आर्कषक गोल गरेका थिए । एक गोलले पछि परेपनि दोस्रो हाफमा लयमा फर्कदै सहाराले बराबारी गोल फर्कायो । रक्षक सन्दिप राईले समयमै वल क्लियर नगर्दाको फाइदा उठाउदै सहाराका सरोज दाहालले वल खासेर क्रस पास दिएपछि सुमन लामाले हेडमार्फत गोल गरे ।
खेलअवधिभर दुवैतर्फबाट गोल गर्ने थुप्रै प्रयास भएपनि सफल हुन सकेन । धरानका सन्तोष साहुखल, प्रकाश बुढाथोकी र असिमजंग कार्कीको प्रयासलाई पोखराका गोलकिपर सागर गुरुङ र डिफेन्सले असफल बनाइदिए । सहाराका अनिल ओझा, विजय गुरुङ, सुमन लामा र सरोज दाहालको गोल गर्ने प्रयास पनि सफल हुन सकेन । निर्धारित समय एक एकको बराबारीमा टुंिगएपछि थप १५ मिनेटको खेलअवधिमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा सहाराका अनिल ओझा, सुमन लामा, गोलकिपर सागर गुरुङ र विजय गुरुङले गोल गरे भने धरानका प्रकाश बुढाथोकी, मार्टिन्स्, सविन्द्र श्रेष्ठ, निराजन खड्का र असिमजंग कार्कीले पनि गोल गरे । त्यसपछिको सडन डेथ प्रहारमा सहाराका सुसन गुरुङ, मानबहादुर तामाङ, आदित्य चौधरी र निर्णायक प्रहारमा सरोज गुरुङ गोल गर्न चुकेनन् भने धरानका किरण चेम्जोङ(गोलकिपर), सुमन लिम्बू र स्मार्टले मात्रै गोल गरे । निर्णायक प्रहारमा सन्दिप राईको प्रहार सहाराका गोलकिपरले जोगाए । यसअघि, क्वार्टरफाइनल खेलमा पनि सहारा टाइब्रेकरमा नै भाग्यमानी सावित भएको थियो । पहिलो हाफमा १–० ले पछि परेको खेलमा फर्कदै सहाराले टाइब्रेकरमा ३–२ ले जितेको थियो ।
सहाराका प्रशिक्षक किरण श्रेष्ठले खेल बराबरीको अवस्थामा भएपनि खेलाडीहरुले धैर्यता नगुमाई खेल्दा जित हात पारेको बताए । ‘एक गोलले पछि पर्दा पनि खेलाडीहरुले धैर्यता गुमाएनन्, टिम वर्क राम्रो भयो र जित्यौं’–प्रशिक्षक श्रेष्ठले भने । धरानका प्रशिक्षक सागर घिमिरेले पनि खेलमा सन्तोष व्यक्त गर्दे सन्तोष साहुखल र प्रकाश बुढाथोकीले पाएको अवसरमा गोल गर्न नसकेको बताए । साथै, मन नहुदा नहुदै पनि सन्दिप राईले सडन डेथको प्रहार गर्न जादा मिस हुनु धरानको दुर्भाग्य भएको उनले बताए । सहाराले चैत २२ गते शनिबार अफ्रिकन युनाइटेड क्लबसँग उपाधिको लागि फाइनलमा खेल्नेछ । अफ्रिकनले बुधबार मनाङलाई २–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे