पेट्रोल अभावले सडक जाम, कालोबजारी पनि बढ्दो

धरान । पेट्रोल अभावले सवारीधनी सर्वसाधारणहरुले सास्ती त भोग्नु परेकै छ, सोमबार भने धरानमा सडकमा समेत हैरानी खेप्नु पर्यो । धरानका दुई पम्पले पेट्रोल बिक्री गर्ने भएपछि सोमबार पेट्रोलबाट चलने मोटरसाइकल, टेम्पो,मारुतीलगायत सवारीसाधानको लाइनले पम्प परिसरमा मात्रै होइन, कोशी राजमार्गको सडकमा समेत जाम गरायो ।
सडकमा एकतर्फ पेट्रोल लगाउने सवारीले ओगटेपछि आवागमन सहज हुन सकेन । ट्राफिक प्रहरीले पालैपालो सवारी आवागमन गराएर जाम खुलाउनु परेको थियो । ट्राफिक प्रहरीका अनुसार धरान ८ स्थित अटल र हिमालयन पेट्रोल पम्पमा सोमबार बिहान कम्तीमा २ हजार सवारी लाइनमा थियो । यी दुई पम्पले बिहान ८ बजेदेखि पेट्रोल बाँडेको थियो । पम्ममा भने बिहान ६ बज्नुअघि नै मोटरसाइकल चालकहरुको घुइचो थियो ।
पेट्रोल पाउनको लागि पाँच घण्टासम्म लाइनमा उभिनु परेको चालकहरुले दुःखेसो पोखेका छन् । ‘दुई दिनदेखि मोटरसाइकल थन्किएको थियो । पेट्रोल आएको थाह पाउने बित्तिकै ६ बजेतिर गएको थिएँ, लाइन त ५ सय मिटरमाथि पो रहेछ’–मोटरसाइकल चालक एवं सञ्चारकर्मी केशव सापकोटाले भने–‘पौने दश बजेतिर मात्रै पालो आयो ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक नविन अधिकारीका अनुसार अन्य दिनको भन्दा सोमबार पम्पमा अत्यधिक घुइचो थियो ।
सवारीको लामले सडकको एकातर्फ ओगट्दा आवागमनमा केहीबेर समस्या आएपनि आलोपालो गरेर खुलाएको उनले बताए । ‘एक डेढ घण्टा निक्कै मुश्किल भयो, तर आलोपालो गरेर दोहोरो आवागमन गराएकोले पछि सहज बन्यो’–इन्स्पेक्टर अधिकारीले भने । नेपाल आयल निगमले समयमै बक्यौता नतिरेको भन्दै भारतीय आयल निगमले माग वमोजिम पेट्रोलियम पर्दाथ नपठाउदा अभाव बढेको हो । पेट्रोलियम व्यावसायीहरुका अनुसार अहिले पूर्वाञ्चलमा मागको आधा मात्रै पेट्रोल आपूर्ति छ । ‘पूर्वमा प्रतिदिन २ सय केल पेट्रोल खपत हुन्छ, तर अहिले ८० देखि १०० केल मात्रै आइरहेको छ’–पेट्रोलियम डिलर एशोसिएशन कोशी अञ्चल अध्यक्ष केशव खड्काले भने–‘समस्या छ, हुने नै भयो ।’
..............

              पेट्रोलमा कालोबजारी

पेट्रोलियम पदार्थको अभाव बढ्दै जादा पूर्वमा पेट्रोलको कालोबजारी पनि बढ्दै गइरहेको छ । सर्वसाधारणहरुले पम्पबाट भनेजति पेट्रोल नपाउदा बाहिर भने महंगो मुल्यमा बिक्री गर्ने क्रम बढेको छ ।
मोटरसाइकल चालकहरुका अनुसार प्रतिलिटर ३ देखि साढे ३ सयसम्म बोतलमा बिक्री भइरहेको छ । कालोबजारी भइरहदा नियन्त्रण गर्न प्रशासनले चासो नदेखाएकोप्रति सर्वसाधारणहरु रुष्ट छन् । ‘हामीले दुःख त पाएकै छौं, तर ३ सय, साढे ३ सयमा पेट्रोल बिक्री गर्नेहरुलाई किन नियन्त्रण हुदैन ?’–पेट्रोल लगाउन लाइनमा रहेका एक मोटरसाइकल चालकले आक्रोश पोखे–‘उनीहरुले कहाँबाट पेट्रोल पाउछन् ? कसैले ध्यानै दिदैन ।’
धरानको पेट्रोल पम्पहरुमा भने प्रतिलिटर १ सय ३४ रुपैया ७० पैसा रुपैयामा पर्छ । विगतमा पनि राजनीतिक दल, संगठनको बन्द, हडतालले पेट्रोल आपूर्ति ठप्प हुदा यसैगरि कालोबजारी हुने गथ्र्यो । तर, अहिलेको जस्तरी चर्को मुल्य भने हुदैनथ्यो । ‘पहिलो पनि कालोबजारी हुन्थ्यो, तर यति साह्रो भएको थिएन । धेरै लामो दिनसम्म बन्द हुदा अढाई सयसम्म पुथ्यो’–मोटरसाइकल चालक गोविन्द बस्नेतले भने ।

पेट्रोलियम डिलर्स एशोसिएशनका कोशी अञ्चल अध्यक्ष केशव खड्काले भने पेट्रोल पम्पहरुले तोकिएको भन्दा बढी मुल्यमा पेट्रोल नबेचेको दाबी गरे । कसैले बेचेको पाइएमा एशोसिएशन आफैले कारबाही गर्ने उनको भनाई छ । ‘बाहिर बढी मुल्यमा बेच्छन् भन्ने सुनेको छौं, तर पम्पहरुले त्यसरी बिक्री गरेका छैनन्’–उनले भने–‘बाहिर बढी मुल्यमा बिक्री हुन्छ भने त्यो प्रशासनले नियन्त्रण गर्नुपर्छ ।’ इलाका प्रशासन कार्यालयका प्रमुख दिलबहादुर तामाङले अहिलेसम्म उपभोक्ताबाट गुनासो नआएको भन्दै कही कतै कालोबजारी भइरहेको सुचना दिएमा तत्काल प्रहरी परिचालन गरेर कारबाही गर्ने बताए । साथै उनले नेपाल सरकार वा आयल निगमले तोकेको भन्दा बढी मुल्यमा खरीद नगर्न उपभोक्ता आफै सचेत हुन पनि आग्रह गरे । ‘पहिलो कुरा त उपभोक्ता आफै सचेत हुनुपर्छ, सरकारले तोकेको भन्दा बढी मुल्यमा खरीद गर्नु हुन्न । कहाँ त्यसरी बिक्री भइरहेको छ भन्ने सुचना आयो भने प्रहरी खटाएर कारबाही गछौं’–उनले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे