वन कार्यालयको लापरवाहीले निकासी ठप्प
धरान । जिल्ला वन कार्यालयले आफ्नो पञ्चबर्षीय कार्ययोजना बनाउन लापरवाही गर्दा सुनसरीको वन क्षेत्रबाट ढलापढा रुख एवं वन पैदावर निकासी हुन सकेको छैन ।
ढलापढा निकासी हुन नसक्दा वन क्षेत्रबाट चोरी तस्करी बढेको भन्दै वन समुहहरु भने रुष्ट छ । उपभोक्ता समुहका पदाधिकारीहरु ढलापडा काठलाई जोगाउन हम्मे परेको बताउछन् । जिल्ला वन कार्यालयले गत आर्थिक बर्षमा नै पञ्चबर्षीय कार्ययोजना तयार गरेर वन विभागबाट स्वीकृत नगराउदा उपभोक्ताहरुले सास्ती खेप्नु परेको हो । ‘वन क्षेत्रमा ढलापडा, सुख्खा खडा काठहरु त्यतिकै छ, चोरी तस्करीबाट जोगाउन हामीलाई हम्मे परिरहेकोछ’–धरान १९ स्थित हरियाली सामुदायिक वन समुहका अध्यक्ष मेघनाथ राईले भने ।
कार्ययोजना अभावले संरक्षित क्षेत्रको मात्रै वन पैदावर निकासी रोकिनु पर्नेमा उपभोक्तालाई हस्तान्तरण भइसकेको वन क्षेत्रमा पनि जिल्ला वन कार्यालयले निकासी रोकेर उपभोक्तालाई अधिकारबाट बञ्चित गरेको जिल्ला वन महासंघले जनाएको छ । ‘हस्तान्तरण भइसकेको क्षेत्रबाट ढलापडा निकाल्ने अधिकार उपभोक्ता समुहको हो, तर यहाँ दिएकै छैन’–जिल्ला वन उपभोक्ता महासंघका सदस्य टेकबहादुर तामाङले भने–‘वन पैदावर निकासी पुरै ठप्प छ, चोरी तस्करी हुदा र डढेलोले नष्ट हुदा को जिम्मेवार हुने भन्दा वन कार्यालय केही जवाफ दिदैन । उसको गल्तीको सजाय हामी उपभोक्ताले भोग्नु पर्ने ? यो चरम लापरवाही हो ।’
जिल्लामा वन कार्यालयले आफ्नो पञ्चबर्षीय कार्ययोजना विभागबाट स्वीकृति नगराएसम्म संरक्षित(राष्ट्रिय)वन क्षेत्रबाट कुनै पनि वनपैदावर निकासी गर्न पाउदैन । वन उपभोक्ता समुहमा हस्तान्तरण भइसकेको वन क्षेत्रको हकमा भने यो लागु हुदैन । समुदायमा हस्तान्तरण भइसकेको वन क्षेत्रको भने समुहको आफ्नो छुट्टै कार्ययोजना हुन्छ । तर, सुनसरीको हकमा भने जिल्ला वन कार्यालयले हस्तान्तरण भइसकेको वन क्षेत्रबाट पनि वनपैदावर निकाल्न रोक लगाएको वन समुहको आरोप छ । सुनसरीमा ६८ वटा सामुदायिक वन समुह छ भने ती मध्ये ३३ वटा समुदायमा हस्तान्तरण भएको छ ।

जडीबुटी निकासी नहुदा किसान र व्यापारी मारमा
जिल्ला वन कार्यालयले समयमै पञ्चबर्षीय कार्ययोजना नबनाउदा जडिबुटीजन्य वस्तुको पनि निकासी ठप्प छ । भारततर्फ निकासी हुने तेजपात, मजिटो, सिन्कौलीको बोक्रालगायत वस्तु तीन महिना अघिदेखि धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा थुप्रिएको छ ।

निकासी गर्न नपाएर लगानी जाम भएपनि कृर्षि उपजमा बिक्री गर्न ल्याएका वस्तुहरु भने खरीद गर्न नछाडेको व्यापारीहरुको भनाई छ । ‘किसानहरु रित्तो हात नर्फकिउन् भनेर खरीद गर्न भने छोडेका छैनौं’–कटवालले भने । उनका अनुसार हाल चेजपत्ता प्रतिकेजी ५० रुपैया र रिट्ठा प्रतिकेजी ३५ रुपैयामा करोबार भइरहेको छ । कृर्षि उपज बजारस्थलका अनुसार तेजपत्ता, रिट्ठालगायत वस्तु पूर्वी जिल्ला धनकुटाबाट अत्यधिक परिणाममा आउने गर्छ । त्यसबाहेक तेह्रथुम, संखुवासभा, भोजपुर जिल्ला र सुनसरीको विष्णुपादुका, पाँचकन्या गाविसबाट पनि ती बस्तुलाई किसानहरुले बजारस्थलमा बिक्री गर्न ल्याउछन् । यी वस्तुलाई वनपैदावरअन्र्तगत राखिएकोले व्यापारीहरुले जिल्ला वन कार्यालयबाट संकलन इजाजत लिएर खरीद गर्नुपर्छ । त्यसपछि, नापतौल गरेर वन कार्यालयले राजश्व लिएर छुट पूर्जी दिएपछि मात्रै निकासी हुने प्रक्रिया छ । विभिन्न जिल्लाबाट संकलन भएको रिट्ठा सतप्रतिशत भारत निकासी हुने गर्छ भने तेजपात र अम्रिसो पनि ९० प्रतिशत भारतमा नै निर्यात हुने गरेको छ । यहाँबाट गत आर्थिक बर्षमा तेजपात २५ सय ३५ मेट्रिक टन, अम्रिसो ४ सय मेट्रिक टन र रिट्ठा एक सय ४० मेट्रिक टन त्यहाँबाट निकासी भएको थियो ।
Comments
Post a Comment