रजत जयन्ती अवसरमा लिम्बू अन्र्तराष्ट्रिय सम्मेलन हुने
धरान । लिम्बू जातिको साझा संस्था किरात याक्थुङ चुम्लुङले रजत जयन्तीको सन्दर्भ पारेर धरानमा तीन दिने प्रथम लिम्बू अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
चुम्लुङको रजत जयन्ती मुल समारोह समितिले सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै लिम्बूहरुको पहिचान र प्रतिष्ठाको लागि अन्र्तराष्ट्रिय सम्मेलन नारा दिएर यही बैशाख ११, १२ र १३ गते आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएको छ । लिम्बूहरुको पहिचान र उत्थानको लागि सामुहिक प्रयास र अभ्यासको शुरुवात गर्ने उद्देश्यले अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको चुम्लुङले जनाएको छ । धरान १० स्थित सैनिक भवनमा हुने सम्मेलनमा देश र विदेशबाट गरि कम्तीमा २ सय ८० जना विभिन्न बिषयका लिम्बू विज्ञ, बिशेषज्ञहरुको सहभागीता रहने महासचिव लीला सिङ्गक लिम्बूले बताइन् ।
उनका अनुसार तीन दिने सम्मेलनमा नेपालको सन्दर्भमा लिम्बुहरुको पहिचान र प्रतिष्ठा,लिम्बु परम्परा र संस्कारहरु, लिम्बु सास्कृतिक पहिचानजन्य विशेषताहरु, याक्थुङ मुन्धुम दर्शन, लिम्बु भाषा र साहित्य, लिम्बुहरुको अन्तराष्ट्रिय सम्बन्ध बिस्तार संयन्त्र, इतिहासलगायत विविध बिषयका लिम्बू विज्ञहरुद्धारा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुनेछ र त्यसमा व्यापक बहस गरिनेछ । अन्तिम दिन सम्मेलनमा विभिन्न मुलुकबाट सहभागी भएकाहरुबीच अनुभव आदानप्रदान गरिनेछ र सम्बन्ध विस्तार गर्नको लागि एउटा संयन्त्र पनि तयार गर्ने महासचिव लिम्बूले बताइन् । ‘विश्वभरि छरिएका लिम्बूहरुबीच भाषा, सँस्कारमा समय र परिस्थितिअनुसार फरकपन भएपनि त्यसबीचमा रहेर साझापन खोज्ने र सम्बन्ध अझ दरिलो बनाउने उद्देश्य हो । विश्वभरका लिम्बूहरुबीच स्रोत, ज्ञान आदानप्रदान गर्ने आधार पनि बन्नेछ’–उनले भनिन्–‘यसको लागि अनुभव आदनप्रदानका साथै विज्ञहरुबीच संयन्त्र पनि तयार गछौं ।’

सम्मेलनले लिम्बुहरुलाई अन्र्तराष्ट्रिय स्तरमा संस्थागत र संगठित हुन वातावरण सृजना हुने अपेक्षा राखिएको केन्द्रीय अध्यक्ष उत्तमसिंह थाम्देनले बताए । उनका अनुसार लिम्बु, लिम्बुवान र पहिचान सम्बन्धि विश्वव्यापी रुपमा सामुहिक दृष्टिकोण निर्माण गर्न सहयोग पुग्नेछ भने लिम्बु सम्बन्धी विभिन्न विषयहरुमा भएका फरक बुझाईहरु बीच पनि समझदारी निर्माण हुनेछ । साथै, अन्र्तराष्ट्रिय लिम्बु संस्थागत संयन्त्रको पूर्वाधार तयार हुने उनले बताए । सम्मेलनको उद्घाटन संविधासनसभा अध्यक्ष सुवास नेम्बाङले उद्घाटन गर्नेछन् । सम्मेलनलाई सफल बनाउन चुम्लुङ सुनसरीकी अध्यक्ष संगीता सुब्बाको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन गरिएको छ भने कार्यपत्रहरु व्यवस्थित गर्न डा.चैतन्य सुब्बाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको चुम्लुङले जानकारी दिएको छ ।
Comments
Post a Comment