समानान्तर संघको विवादले तेक्वान्दो प्रतियोगिता स्थगित


धरान । एउटै खेलका दुई वटा संघबीचको आपसी विवादले राष्ट्रिपति रनिङ शिल्डअन्र्तगत शनिबार धरानमा आयोजित जिल्लास्तरीय अन्तर विद्यालय तेक्वान्दो छनौट प्रतियोगिता बीचैमा रोकिएको छ । नेपाल तेक्वान्दो संघ र दुई बर्षअघि समानन्तररुपमा गठन भएको राष्ट्रिय तेक्वान्दो युनियनको आपसी विवादले छनौट प्रतियोगिता रोकिएको हो । राष्ट्रिय खेलकुद परिषदमा एमाओवादीका युवराज लामा सदस्य सचिव भएपछि समानान्तर संगठनकोरुपमा युनियनलाई परिषदले दर्ता गरेपछि तेक्वान्दो खेलको विवाद केन्द्रबाट जिल्ला तहसम्म पुगेको हो ।
धरानस्थित जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा आयोजना भइरहदा कार्यक्रम संयोजकसमेत रहेका संघका अध्यक्ष फडिन्द्र खड्का पक्षले एकतर्फीरुपमा खेलाडी छनौट भएको नाम बुझाएपछि विवाद चर्किएको थियो । छनौट प्रतियोगिता नसकिकनै संघ पक्षले ६ जना खेलाडीको नाम बुझाएपछि युनियन पक्षधरहरुले विरोध जनाएका थिए । विवाद चर्किएपछि फाइनल चरणको खेल बाँकी नै रहेको अवस्थामा जिल्ला खेलकुद विकास समितिले अनिश्चित समयको लागि तेक्वान्दो छनौट प्रतियोगिता स्थगित गरेको जनाएको छ । समितिका अध्यक्ष नरेन्द्र चोङवाङले दुवै पक्षसँग छलफल गरेपछि मात्रै फाइनल खेल गर्ने बताए । ‘यस्तै विवाद हुनसक्छ भनेर शुरुमा नै संघ र युनियनलाई राखेर छलफल गर्यौं, दुवैले मिलेर आयोजन गर्ने सहमति गरेका थिए, तर अन्तिम समयमा विवाद झिके’–अध्यक्ष चोङवाङले भने ।


दुवै टिमबीच विवाद नहोस् भनेर खेलाडीहरुको २ वटा समुह बनाएर छनौट प्रतियोगिता आयोजना गरिएको थियो । दुवै समुहका फाइनल पुग्ने ६ जना खेलाडीलाई छनौट गरेर क्षेत्रीय प्रतियोगितामा पठाउने पनि दुवै पक्षबीच सहमति भइसकेको थियो । तर, शनिबार प्रतियोगिताको फाइनल खेल सकिनुअघि नै संघ पक्षधरहरुले आफ्नो समुहबाट मात्रै ६ जना खेलाडीको नाम छनौट गरेर बुझाएपछि विवादले उग्ररुप लिएको थियो । युनियनका केन्द्रीय उपाध्यक्ष एवं सहायक प्रशिक्षक हरिबहादुर बुढाथोकीले आधा खेलाडीहरुको छनौट बाँकी हुदा नै ६ जना खेलाडी छनौट भइसकेको भनेर नाम दिएर संघ पक्षधरले अनावश्यक बखेडा झिकेको बताए ।

कार्यक्रम संयोजक खड्काले पेश्की स्वरुप ४० हजार लगेपनि निर्णायकहरुलाई भत्ता, खाजा र खानासमेत नदिएको निर्णायक ज्ञानेन्द्र विश्वकर्माले बताए । ‘८ जना निर्णायकहरुले भत्ता पाएनौं, खाजा र खाना पनि पाएनौं’–उनले भने । खेलकुद समितिका अध्यक्ष चोङवाङले प्रतियोगिताको लागि संयोजक तोकिएका खड्काले ४० हजार पेश्की लगेपनि निर्णायकहरुलाई भत्ता, खाजा र खाना नदिएको आरोप सत्य भएको बताए । त्यसबारेमा खड्कालाई सम्पर्क गर्न खोजेपनि सम्पर्कविहिन भएको उनले खुलाए । घटनाबारे संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रहेका खड्काले प्रतियोगिताको तालिका अनुसार फाइनल खेल सकेर नै खेलाडीको नाम खेलकुद समितिमा बुझाएको दाबी गरे । बिहान तौल नाप गर्ने समयमा नआएका खेलाडीहरु प्रतियोगितामा सहभागी हुन नपाएकोले अर्को पक्षले विवाद झिकेको उनको आरोप छ । साथै, निर्णायकलाई भत्ता र खाजा, खानाको पैसा युनियन पक्षका सुर्य दंगाललाई दिएको र पेश्की लिएको रकम खेलकुद समितिमा फछ्यौट गर्ने पनि उनले प्रष्ट्याए ।
एक दिने प्रतियोगितामा जिल्लाका २० वटा विद्यालयबाट ६ जनाको दरले विद्यार्थी खेलाडीहरु सहभागी थिए । प्रत्येक विद्यालयबाट ३ छात्रा र ३ छात्र थिए । प्रतियोगितामा छात्रातर्फ ४२ केजी, ४४ केजी र ४६ केजी तौल समुहको स्पर्धा भएको थियो भने छात्रतर्फ ४५ केजी, ४८ केजी र ५१ केजी तौल समुहमा स्पर्धा भएको थियो । प्रतियोगिताबाट छनौट हुने ६ जना खेलाडीले क्षेत्रीय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे