एकल कविता वाचनमा नयाँ साहित्यबारे बहस



धरान । उमेर ढल्कदै गएपछि जागिरे जीवनबाट निवृत्त भइन्छ, साथीभाई छुट्छन् र एक्लै भएको महसुस हुन्छ । प्राध्यापन सेवाबाट अवकाश पाइसकेका साहित्यकार सरण राईलाई पनि यो अनुभूतिले भित्रभित्रै पोलेछ । उनले शनिबार त्यही तितो अनुभूतिलाई साहित्यकार र श्रष्टासामु पोख्न कुनै कञ्जुस्याई गरेनन्,:के तिमी एक्लै हिडिरहेका छौं ?
       हो र, म एक्लै देखिन्छु
    हिँड्दा हिँड्दै म एक्लै भएछु, र हिँडिरहेछु
    बेसुरा गतिशिल बेग्लै भएछु र बगिरहेछु
भोकाभोका, दुब्लादुब्ला युवाहरु सँगसँगै हिडेका थियौं
खाना देख्दा झिनाझपटीमा छुटियौं कि..।

(म कहाँ एक्लै छु र ? शिर्षकको कविता, ओइलिने फुल कविता संग्रहबाट)
अभियन्ताहरु, नयाँ समाज नामको संस्थाले आयोजना गरेको एकल कविता वाचन तथा नयाँ समाज र नयाँ साहित्यबारे अन्र्तक्रियामा साहित्यकार राईले कविता मात्रै वाचन गरेनन्, बुढ्यौलीमा हुने एक्लोपनको अनुभूति पनि बाँडे । विमल स्मृति पुस्तकालयको हलमा नयाँ साहित्य र नयाँ समाजबारेको आफ्नो अवधारणा पनि सुनाए । ‘बुढेसकाल लागेपछि जागिर पनि छैन, एक्लै भएको अनुभूति हुन्छ । जागिरै नभएपछि त्यसकोमा जादा के पाइन्छ र भनेर सोच्दा रहेछन्, म पनि कसैलाई भेट्न गएको छैन’–उनको यी कुराले हलमा हाँसो पनि छायो । उनले यी अनुभूतिहरु बाँडिरहदा महेन्द्र बहुमुखी क्याम्पसमा सँगै प्राध्यापन गरेका सहकर्मीहरुको पनि बाक्लै उपस्थिति थियो ।
कार्यक्रममा साहित्यकार राईले दर्जन बढी आफ्ना सृर्जना(कविता)हरु सुनाए । उनले एकल कविता वाचन गर्नुअघि प्रमुख अतिथि एवं साहित्यकार डा.गोपाल भण्डारीले ओइलिने फुल..शिर्षकको कविता वचन गरेर शुरुवात गरिदिएका थिए । त्यसपछि साहित्यकार राईले समावेशी.., लिएर जाने के होला , मृत्यू बाटाभरि फुलिरहेको हुन्छ.., काधको जुवा फाल्न सकिएन.., कसिएको मुठी हाम्रो हो.., हामी आफै मालिक.., काम चलाउ जिन्दगी..लगायत शिर्षकका कविताहरु वाचन गरे । कार्यक्रममा युवा कवि सुदिप पाख्रिनले राजनीति..शिर्षकको कविता वाचन गरिदिएका थिए ।
साहित्यकार राईले आफ्ना कवितासँगै नयाँ साहित्य र नयाँ समाजको अवधारणा पनि पस्किए । समाजमा धेरै विकृति,विसंगतिहरु बढेको, हुनेखाने र गरिबबीच ठुलो खाडल बन्दै गएको र पिछडिएकाहरुमा हिनताबोध भइरहेको भन्दै नयाँ समाजको सृर्जना गर्नुपर्ने आवश्यकता औल्याए । नयाँ समाज सृर्जना नगरेसम्म नेपाली भएर बाँच्न नसक्ने उनले जिकिर गरे । ‘नेपाली साहित्यमा पनि सामन्ती समाज, पुरानै ढर्राको नेपालबारे मात्रै लेखियो, ठुलाबडाको मात्रै गुणगान गाइयो’–नयाँ साहित्यबारे पनि उनले भने–‘जुन साहित्यले संसारमा जही रहेपनि नेपालीलाई समेट्छ, नयाँ अनूभुति दिन्छ, नयाँ शिक्षा दिन्छ ।’ साहित्य सर्वसाधारण पाठकबाट टाढिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नयाँ पाठक र स्रष्टाको खोजी गर्नुपर्ने बताए ।
प्रा.डा.गोपाल भण्डारीले साहित्यकार राई जीवनवादी कवि भएको धारणा राखे । यस्तै, डा.खेम दाहालले कवि राईले जीवनमा समयअनुसारको भोगाईलाई सृर्जना गरेको र यसले नयाँ पुस्तालाई प्रेरणा मिल्ने बताए । साहित्य अनुसन्धान परिषदका अध्यक्ष केशव वाग्लेले कवि राई साहित्य समाज सापेक्ष हुनुपर्छ र समाजलाई साहित्यले डोर्याउनुपर्छ भन्ने मान्यता राख्ने श्रष्टा भएको बताए । ‘उहाँ आशावादी कवि हुनुहुन्छ, मान्छे बुढो हुन्छ, मर्छ तर विचार मर्दैन’–वाग्लेले भने । कवि राई र उनको कृतिबारेमा हरिप्रसाद दाहाल, भिष्म काफ्ले र डा.भोलानाथ पोख्रेलले पनि बोलेका थिए । कवि राईको केही कथा केही कविताहरु, साथी(निबन्ध संग्रह), अन्तिम स्विकारोक्ति(कथा संग्रह) र ओइलिने फुल(कविता संग्रह) प्रकाशित भइसकेको छ ।

Comments

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे