सुकुम्बासीको नाममा सर्दु खोला किनारमा किनबेच
धरान । सगरमाथा नमुना सुन्दर वस्तीको नाममा धरान १७ र ११ वडामा पर्ने सर्दु खोला किनारमा बसेको सुकुम्बासी वस्तीमा गैरकानुनीरुपमा किनबेच भइरहेको छ । यो बस्तीलाई हटाउन फागुन २५ गते नगरपालिकाको राजनीतिक दलको संयन्त्रले निर्णय गरेपनि कार्यान्वयन गर्न सकेको छैन ।
नगरपालिकाले फागुन २९ गते बस्ती उठाउन ७ दिनको अल्टिमेटम दिएर सुचना जारी गरेको थियो । समयसिमा नाघेको महिनादिन भइसक्दा पनि नगरपालिकाले थपप्रक्रिया अघि बढाएको छैन । बस्ती हटाउन ढिलाई गर्दा राजनीतिक दलहरुले आफ्ना भोट बैंकलाई जोगाउने खेलमा लागिसकेको छ भने सुकुम्बासीको नाममा किनबेच पनि फष्टाइरहेको छ । यही आइतबार नमुना सुन्दर वस्ती सङ्घर्ष समिति र संघीय समाजवादी पार्टीको सङ्घीय युवा संघ, सुनसरीले वैकल्पिक उपाय र समाधानको व्यवस्था नगरेसम्म वस्ती नहटाउन नगरपालिकामा संयुक्त ज्ञापन पत्र बुझाएको थियो ।
यो वस्ती गत बर्षको भदौं महिनादेखि वस्न थालेको नजिकैको सगरमाथा टोलबासीको भनाई छ । करिब तीन बर्षअघि नै सगरमाथा टोल सुधार समितिले सर्दु खोलादेखि करिब सय मिटरको दुरीमा बाटो ट्रयाक खोलेर त्यो बाटोदेखि खोलातर्फ वस्ती नबसाउने निर्णय गरेको थियो । तर, उक्त निर्णयलाई लत्याउदै वैद्य नेतृत्वको नेकपा–माओवादी र खम्बुवानसम्बद्ध स्थानीय नेताहरुले धमाधम वस्ती बसाउन थालेका थिए । ‘बाटो बनाएर त्यहाँदेखि उता(खोलातर्फ) बस्ती नबनाउने भनेर निर्णय गरेका थियौं, तर वैद्य माओवादीले पूर्वलडाकु राख्ने भन्दै धमाधाम घर बनाउन थाल्यो’–सगरमाथा बस्तीका एक बासिन्दाले भने । स्थानीयका अनुसार नेकपा–माओवादीका सुरेश राई र खम्बुवानका मोहन राई भन्ने व्यक्तिले वस्ती बसाएका हुन् ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले खोला किनारमा बस्नु अत्यन्तै जोखिम भएकोले संयन्त्रले हटाउने निर्णय गरेपनि कार्यान्वयनमा समस्या आएको बताए । उनका अनुसार गत भदौमा नै जिल्ला प्रशासन कार्यालयमा यो वस्ती खाली गराउन पत्राचार गरिएको थियो । तर, त्यसबेला सर्दु खोला पारी विष्णुपादुकाको वन क्षेत्र अतिक्रमण गरि बसेकालाई मात्रै प्रशासनले हटाएकोले धरानतर्फ भने घरहरु थपिदै गएको हो । वस्ती हटाउने सुचना जारी गरिसकेपछि केही राजनीतिक संगठन र स्थानीयले पनि यसअघि लागत संकलन भइसकेको घरधुरी पनि रहेको भन्ने निवेदन दिएकोले तत्काल एक्सनमा जान नसकिएको उनले बताए । ‘लागत उठाएको घर पनि पर्यो भन्ने कुरा आयो, राजनीतिक संगठनबाट पनि असन्तुष्टि आयो । अब सर्वदलीय वैठकको म्याण्डेट अनुसार नै अघि बढ्छौं’–खतिवडाले भने ।
Comments
Post a Comment