धरान सभागृहको दुरावस्था :आँगन चिटिक्क, सभाहल लथालिङ्ग

धरान । गेटसम्म पुगेको कालोपत्रे पक्की सडक । आँगनमा पनि कालोपत्रे गरिएको ब्याडमिन्टन कोर्टसहितको पार्किङस्थल । रुखको ठुटालाई सिमेन्टले घेरेर गोलाकार बनाउदा चिटिक्क देखिएको आँगन । हिजोआज धरान ८, भोटेपुलस्थित सभागृहको आँगन टेक्दा देखिइने दृष्य हो यो ।
चिटिक्क आँगन देखेर फुरुंग हुने मन सभागृहको अडिटोरियम हलमा छिरेपछि भने खिस्रिक्क हुन्छ । मुल ढोकाबाट भित्र छिर्दा छिर्दै ट्वाइलेटको दुर्गन्धले दिमाग रन्थनाउछ । हलमा पुगेपछिको दृष्य झनै अत्यास लाग्दो हुन्छ । कुनै सभा एवं कार्यक्रम भइरहदा अतिथिमाथि नै ‘फलसिलिङ’ खस्छ कि भन्ने जोखिम छ । सहभागी बस्ने कुर्सीहरु भत्किएका छन् । स्टेज पनि कतिबेला प्वाल पर्ने हो ठेगान छैन । बर्षातमा पानी चुहिन्छ । प्लाष्टर उप्किएर हल कुरुप बनेको छ । सभाहलको दुरावस्था यस्तो छ कि ठुलो भोल्युममा साउण्ड सिस्टम बजाउदा फललिसिङ खस्ला झै हुन्छ ।

सामाजिका संघसंस्था एवं राजनीतिक दलका ठुला कार्यक्रमहरु यही सभागृहमा आयोजना हुन्छ । यहाँ दलका शीर्ष नेतादेखि नेपाल सरकारका थुप्रै मन्त्रीहरुले पनि आतिथ्यता ग्रहण गरिसकेका छन् । तर, उनीहरु सबैले सभागृहको अवस्थाप्रति नजरअन्दाज गर्दै आएका छन् । बजेट अभाव भन्दै नगरपालिकाले पनि सभागृह हलको सुधारमा ध्यान दिनसकेको छैन । सभा हलको यो दुरावस्थाबारे जानकार हुदाहुदै पनि एक सरकारी निकायले भने आँगन चिटिक्क पार्न लाखौं खर्च गरेका छन् । टाउको दुख्दा पेटको उपचार गरेझै शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय मोरङले ६० लाख भन्दा बढी रुपैया खर्चेर सभागृहसम्म पुग्ने बाटो कालोपत्रे गर्यो भने आँगनमा पनि चिल्याउदै पार्किङ बनाउन खर्चियो । तर, लथालिङ्ग अवस्थाको सभागृहको सभाहललाई सुधार गर्न भने कतिपनि खर्च गरेन ।

यो त्यही सरकारी निकाय हो, जसले ०६२ सालमा लथालिङ्ग अवस्थामा धरान सभागृह नगरपालिकालाई हस्तान्तरण गरेको थियो । विभागले ३ करोड १५ लाख ९७ हजार ५ सय ४४ रुपैया खर्च गरेर बनाएको सभागृह हस्तान्तरणको बेला नै नाजुक थियो । शुरुमा असन्तुष्टी जनाउदै नगरपालिकाले जिम्मा नलिने अडान लिए पनि विभागले जिविसलाई बुझाउने चेतावनी दिएपछि भने बाध्य भएर जिम्मा लिनुपरेको नगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठ बताउछन् । ‘विभागबाट हामीले जिम्मा लिदा नै नाजुक थियो, भुई भत्केको, भित्ता चर्केको, फलसिलिङ बिग्रेको थियो’–उनले भने । विभागले ६ सय २५ सिट क्षमताको अडिटोरियम हल, एक पाले घर, एक टिकट घर र कम्पाण्डवालसहितको संरचना त्यतिबेला नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
नगरपालिकाले गत आर्थिक बर्षमा पुनः शहरी विकास तथा भवन निर्माण विभागलाई अडिटोरियम हल मर्मत गर्न आग्रह गर्दै योजना पेश गर्यो । विभागले भवन आफैले बनाइदिएको हुनाले हल बनाउन खर्च गर्न नमिल्ने भन्दै अस्विकार गर्यो । तर, उसले बाटो कलोपत्रे, पार्किङ र फेन्सिङ्ग गर्न भने लाखौं खर्चियो । विराटनगरस्थित विभागका प्रमुख रोशन श्रेष्ठका अनुसार ६० लाखको स्टिमेटअनुसार क्रमागतरुपमा आगनमा पार्किङ, ड्रेन, बाटो कालोपत्रे र फेन्सिङको काम भएको छ । सभागृह संरचना पनि विभागले नै बनाइदिएकोले मर्मत गर्न नीतिगतरुपमा नमिल्ने उनले बताए । ‘हामीले नै बनाइदिएको हो, मर्मत पनि हामीले नै गर्ने हो भने नगरपालिकाको जिम्मेवारी के त ?’–प्रमुख श्रेष्ठले भने–‘मर्मतसम्भार र सञ्चालनको जिम्मेवारी उसैको हो ।’
 नगरपलिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाले बाहिर जस्तै सभागृहको भित्र पनि नमुना बनाउने उद्देश्यले मन्त्रालयमा बजेट माग गरिएको बताए । मर्मतसम्भार एवं पूर्ननिर्माणमा करोडबढी खर्च हुने भएकोले नगरपालिकाको बजेटले धान्न नसक्ने उनको भनाई छ । ०६२ मा हस्तान्तरण भएपछि नगरपालिकाले सभागृह ०६४ मा ठेक्कामा नीति क्षेत्रलाई सञ्चालनको जिम्मा लगाएको थियो । नीतिकरण गरिदा सभागृहको अवस्था झनै बिग्रिएको नागरिक सरोकार तथा अनुगमन मञ्चका संयोजक तिलक राईको भनाई छ । ‘सभागृह निर्माण हुदा नगरबासीले ध्यान त्यति दिएनन्, पछि नगरपालिकाले पनि नीजिकरण गर्दा झनै खत्तम भयो’–संयोजक राई भन्छन्–‘अहिले बाहिर(आँगन)त राम्रो बन्यो, तर त्यसलाई सुहाउदो हलभित्र स्टेज, कुर्सी, सिलिङ, लाइटलगायत पनि सुधार गर्नुपर्छ ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे