पार्किङलाई केही खुकुलो बनाउदै सोमबारदेखि लागु गरिने

धरान । कोशी राजमार्गअन्र्तगतको भानुचौकदेखि छाताचोक सडक खण्डलाई पुर्णपार्किङ निषेधित क्षेत्र बनाउने निर्णयलाई केही खुकुलो बनाउदै नगरपालिका र ट्राफिक प्रहरीले सोमबारदेखि कडाईका साथ कार्यान्वयन गर्ने भएको छ ।
धरान ५, महेन्द्र पथका केही व्यापारीको चर्को विरोधपछि निर्णय कार्यान्वयन गर्न नसकेको दुवै निकायले बिहिबार स्थानीय सहयोग समिति र सरोकारवालाहरुसँग छलफल गरेर निषेधित पार्किङलाई खुकुलो बनाउदै सोमबारदेखि ‘एक्सन’मा जाने निर्णय गरेको हो । छाताचोकदेखि भानुचौकसम्मको सडकलाई तीन खण्डमा बाँडेर अस्थायी पार्किङस्थल छुट्याउने र त्यहाँ सेवाग्राहीहरुलाई आधा घण्टा मोटरसाइकल मात्रै पार्किङ गर्न दिने निर्णय गर्दै त्यसलाई कडाईका साथ कार्यान्वयन गर्न सबै पक्ष सहमत भएका छन् । यो निर्णयलाई कार्यान्वयन गर्न स्थानीय सहयोग समिति, धरान ६ स्थित वडा सुधार समिति, धरान स्वतन्त्र समाजलगायत सबै पक्षले नगरपालिका र ट्राफिक प्रहरीलाई सहयोग गर्ने पनि प्रतिवद्धता जनाएको छ ।
‘शुरुमा पूर्णरुपमा पार्किङ निषेध गर्ने तयारीमा थियौं, त्यस क्षेत्रमा बैंक, व्यापार बढी भएकोले आफ्ना सेवाग्राहीलाई मर्का परेको भन्ने गुनासो आएपछि सडकलाई निश्चित तीन खण्डमा बाँडेर एकातर्फ आधाघण्टा मात्रै राक्न दिने निर्णय भइसकेको छ, यो निर्णयलाई कार्यान्वयन गर्न सोमबारदेखि एक्सनमा जान्छौं’–नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने । उनका अनुसार छाताचोकदेखि गीता मन्दिर, गीता मन्दिरदेखि महेन्द्र कलेज रोड र महेन्द्र कलेजदेखि भानुचोकसम्मको सडकलाई तीन खण्डमा बाँडेर अस्थायी पार्किङ एरियाको मार्क गर्ने काम भइसकेको छ । ती क्षेत्रमा सेवाग्राहीलाई मात्रै आधा घण्टासम्म पार्किङ गर्न दिइनेछ । तीन खण्डमा एक सय २५ वटा मोटरसाइकल पार्किङ गर्न सकिने अनुमान छ । दिनभरी वा स्थायी पार्किङ गर्नुपर्ने भएमा वैकल्पिक पार्किङस्थल तोकिएको धरान २ स्थित भगवतकाजी रोड(वाणिज्य बैंकको सामुन्ने)मा नै पुग्नुपर्नेछ । चार पांग्रो गाडीलाई भने यहाँ मात्रै पार्किङ गर्न दिइनेछ । यस्तै, मोटरसाइकललाई घण्टाघर उत्तरको पेटीमा पनि अस्थायी पार्किङको व्यवस्था छ ।
वैकल्पिक पार्किङस्थल र महेन्द्र पथको तीन खण्डको अस्थायी पार्किङस्थलमा शुल्क लिने बारे पनि छलफल भएको थियो । त्यसबारेमा भने निर्णय कार्यान्वयन गर्दै जाने क्रममा पुनः वैठक बसेर निर्णय गरिने भएको छ । भगवतकाजी रोडस्थित वैकल्पिक पार्किङस्थलमा निश्चित शुल्क तिरेपछि दिनभिर पार्किङ गर्न पाइनेछ । भानुचोकदेखि छाताचोकसम्मको तीन खण्डको अस्थायी पार्किङमा भने आधा घण्टा नाघेपछि शुल्क थपिदै जाने र पटकैपिच्छे पार्किङको शुल्क लिइने बारेमा पनि छलफल भएको थियो । ‘शुल्कको बारेमा पनि कुरा उठ्यो, तर पहिला एक्सनमा जाउ, शुल्कको पछि निर्णय गरौं भन्ने सहमति भयो’–प्रशासकीय अधिकृत खतिवडाले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीले राजमार्गमा पार्किङ गर्नै नपाइने भएपनि व्यावहारिकतालाई ध्यान दिएर अस्थायी पार्किङको व्यवस्था गरिएको बताए । ‘राजमार्गमा पार्किङ गर्न पाइदैन, तर व्यावहारिकता पनि हेर्नुपर्ने भएकोले अर्को राम्रो व्यवस्था नभएसम्मलाई मार्किङ गरेर एउटा मोटरसाइकल आधा घण्टासम्मलाई मात्रै राख्न दिने भनेका हौं’–उनले भने । सेवाग्राहीले आप्mनो काम आधा घण्टाभित्र सकेर अस्थायी पार्किङबाट प्रस्थान गरिसक्नुपर्नेछ । तीन खण्डमध्ये कुनैमा पनि ठाउँ नभए मोटरसाइकललाई भगवतकाजी रोडपश्चिमको विकल्प वा घण्टाघर उत्तर तोकिएको पार्किङ क्षेत्रमा पुग्नुपर्नेछ ।
नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाले स्थानीय व्यापारीका मागवमोजिम क्रमशः पूर्वाधारहरु पनि तयार गर्दै जाने बताए । उनका अनुसार अहिले पार्किङस्थल तोकिएको क्षेत्रमा सुरक्षाको लागि नगर प्रहरी खटाइएको छ भने पुर्णरुपमा कार्यान्वयन भएमा व्यापारीको माग वमोजिम सिसिटिभी पनि राखिनेछ । छलफलका सहभागीहरुले भानुचौक, महेन्द्र पथ बजारका व्यापारीहरुले पार्किङ हटाउदा कारोबारमा मन्दी आउने सोच राखेकोले विरोध जनाएको भन्दै त्यो सोच गलत भएको धारणा पनि राखेका थिए । पार्किङ सारिदैमा व्यापार नघट्ने भन्दै नागरिक समाज, सुनसरी उद्योग वाणिज्य संघ, यातायात व्यावसायीलगायतका प्रतिनिधिहरुले पार्किङको व्यवस्थापन नगरे धरान बजार क्षेत्र झनै अस्तब्यस्त हुने धारणा राखेका थिए । छलफलमा धरान स्वतन्त्र समाजका अजय राई, वडा विकास समितिका अध्यक्ष रमेश राई, सुनसरी उद्योग वाणिज्य संघका विजय श्रेष्ठ, यातायात व्यावसायी एवं शिक्षासेवी शंकर घिमिरेलगायतले धारणा राखेका थिए ।
यसअघि, चैत १ गतेदेखि नै निर्णय लागु गराउने भनिएपनि केही स्थानीय व्यापारीले विरोध जनाएपछि कार्यान्वयन हुन सकेन । दोस्रो पटक चैत १५ देखि मात्रै निर्णय कार्यान्वयन गर्न थालिए पनि व्यापारीले नै चर्को विरोध जनाएपछि २ दिनमा नै नगरपालिका र ट्राफिक प्रहरी पछि हटेको थियो । त्यसयता, असन्तुष्ट व्यापारीसँग वैठक बसेर सडकलाई तीन खण्डमा विभाजन गरि अस्थायी पार्किङको व्यवस्था गर्ने सहमति भएको थियो ।
...............

                            लोडअनलोडको पनि समयतालिका

कोशी राजमार्गमा पर्ने धरानको मुख्य बजारक्षेत्र भानुचौकदेखि छाताचोकसम्मको महेन्द्रपथ सडक खण्डमा लोडअनलोड गर्ने समय तालिका छुट्याइएको छ । यो क्षेत्रमा तोकिएको तीन समय खण्डमा मात्रै व्यापारिक प्रयोजनको सामान झार्न एवं लोड गर्न मिल्ने निर्णय गरिएको हो ।
नगरपालिकाका अनुसार स्थानीय व्यापारीसँग छलफल गरेर नै लोडअनलोड समय तालिका छुट्याइएको हो । भानुचोकदेखि छाताचोकसम्म व्यापारीक प्रयोजनको सामान बिहान साढे ८ बजेसम्म लोडअनलोड गरिसक्नुपर्नेछ । यस्तै, दिउसो १२ बजेदेखि साढे १ बजेसम्म लोडअनलोड गर्ने समय तालिका बनाइएको छ भने बेलुकी ६ बजेपछि मात्रै लोडअनलोड गर्ने समयतालिका बनाइएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे