टिनएजर लागुऔषधको दलदलमा


धरान । एक साताअघि धरान १३, देवीमार्गस्थित झोलुङ्गे पुल पारी ‘कलेज बंक’ गरेका ९ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गर्यो । बिहान करिब साढे ८ बजे भेटिएका उनीहरु कलेज ड्रेसमा नै थिए । नौ जना मध्ये ४ जनाले चुरोट र वियर पिउदै थिए । प्रहरीले उनीहरुलाई पक्राउ गरेर त्यसै दिन कलेजका प्रिन्सिपल र अभिभावकको जिम्मा लगायो ।
कक्षा ११ र १२ मा अध्ययन गर्ने ती किसोर विद्यार्थीहरुले चुरोट तन्नु र वियर पिउनु अचम्मै त नहोला । तर, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएपी सञ्जयसिंह थापा भने यो घटनालाई लागुऔषध दुव्र्यसनको एक प्रतिनिधि घटना मान्छन् । ‘हाम्रो छोराहरुले चुरोट र वियर मात्रै लिएको त हो नी पनि भन्लान्, तर लागुऔषधको पहिलो खुट्किलो भनेकै यही हो’–डिएसपी थापा भन्छन्–‘विस्तारै चुरोटमा गाँजा मिसाएर खान थाल्छन्, त्यसले पनि नभएर ट्याब्लेट लिन थाल्छन् ।’


प्रहरीका अनुसार प्लस टु अध्ययन गर्ने उमेरका अधिकांश किसोरहरु कुनै न कुनै रुपमा लागुऔषधको अम्मली बनिरहेका छन् । चुरोट पिउनु सामान्य मान्ने अभिभावकहरु आफ्ना सन्तान गाँजा र स्पास्मो प्रोक्सिन, नाइट्रोसन ट्याब्लेटको लतमा फसेको चालै पाउदैनन् । प्लस टु पढ्दै गरेका धरानका किसोर विद्यार्थीहरु लागुऔषध दुव्र्यसनबाट जोगाउनु अभिभावकहरुको निम्ति ठुलो चुनौती रहेको डिएसपी थापाको भनाई छ । धरानमा ठुलो परिमाणमा लागुऔषध भित्रिन्छ, त्यसको ठुलो ग्राहकमा विद्यार्थीहरु पनि हुन् । प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको साउन महिनामा मात्रै १९ बर्ष मुनिका १२ जना किसोरहरु पक्राउ परेका थिए । प्लस टु पढ्दै गरेका उनीहरु हो हल्ला, झैझगडा गरेको आरोपमा पक्राउ परेपनि पछि सबैले चुरोटमा गाँजा हालेर सेवन गर्ने गरेको खुल्यो । प्रहरीले ती मध्ये एक जनालाई पुर्नजीवन केन्द्र पठायो भने अरुलाई सार्वजनिक अपराधको मुद्दा चलायो ।
पछिल्लो समय प्रहरीले लागुऔषध कारोबारविरुद्ध अभियान चलाएको छ, तर धरानमा लागुऔषध भित्रिन भने रोकिएको छैन । प्रयोगकर्ताहरु पनि एक पछि अर्को पक्राउ परि नै रहेका छन् । हिजोआज ‘स्कुले जीवनदेखि नै चुरोट, मदिराको अम्मली हुन थालेको कारणले कलेज जीवनमा लागुऔषधको दलदलमा फस्ने प्रहरीको भनाई छ । जसले गर्दा प्रहरीले लागुऔषध नियन्त्रणमा जति नै प्रयास गरेपनि सम्भव भइरहेको छैन । ‘बाह्र तेह्र बर्षदेखि नै कुलतमा फस्न थालेका छन्, २० देखि २५ बर्ष उमेरको अत्यधिक लागुऔषधमा फसेको देखिन्छ’–इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापाले भने ।

डिएसपी थापाका अनुसार ७, ८ कक्षामा पढ्दा देखि नै किसोरहरुले बैद्य लागुऔषध चुरोट पिउन थाल्छन् । चुरोट पिउदै गर्दा विस्तारै गाँजा तान्न थाल्छन् । गाँजा खादा घरमा गन्धले थाह पाउने भएपछि उनीहरु स्पामो प्रोक्सिन, नाइट्रोजनलगायत(गोटी) लिन थाल्छन् । ‘यसबारेमा हाम्रो समाज सचेत भएकै छैन, तपाईको छोराले चुरोट खान्छ भन्यो भने गाँजा त खाएको छैन नि भन्छ । तर, समस्या त्यहीबाट शुरु हुन्छ’–थापाले भने–‘दुव्र्यसनमा फसेपछि विभिन्न स्वाद खोज्दै सुईबाट नशा लिन थाल्छ ।’ प्रहरीका अनुसार इन्जेक्सनबाट ड्रग्स लिने समस्या झनै विकराल छ । यसले एचआइभी, हेपाटाइटिस जस्ता रोगको जोखिम बढाएको छ भने कुठाउँमा इन्जेक्सन पर्दा हात,खुट्टा भित्रभित्रै पाकेर कुहिने र अपंग हुने जोखिम पनि छ ।
इलाका प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्ष २०७०/०७१ मा २ सय ५१ जनालाई लागुऔषधमा कानुनी कारबाही भएका छन् । ती मध्ये ५१ जनालाई सुधार केन्द्रमा पठाइएको छ भने २ सय जनालाई मुद्दा दायर गरिएको छ । कानुनी कारबाही गरिएकामध्ये आधा जसो टिनएज एवं युवा पुस्ता छन्, जो कोही प्लस टु पढ्दै गरेको, कोही परीक्षा दिएर छोडेकाहरु छन् । हाल ६५ जना म्याद थप गरिएका थुनुवामध्ये पनि २५ जना लागुऔषधसम्बन्धी मुद्दा चलेकाहरु छन् । जसमा ५ जना ब्राउन सुगर, एक जना गाँजा र अन्य कोरेक्स, ट्याब्लेट, सुईलगायत लागुऔषधका अम्मली र कारोबारी छन् ।


लागुऔषध दुव्र्यसन जोखिम न्युनिकरणमा कार्यरत कि.या.चु. पुर्नजीवन केन्द्रको तथ्यांकले पनि कलेज पढ्दै गरेका किसोर र ३० बर्षसम्मका युवाहरु लागुऔषध दुव्र्यसनमा अत्यधिक फसेको देखाउछ । यहाँबाट गत बर्ष एक सय २२ जनाले उपचार पाएका थिए । ती मध्ये १५ देखि १९ बर्षका १२ जना, २० देखि २४ बर्षका ४२ जना, २५ देखि ३० बर्षसम्मका ४१ जना युवा थिए भने ३० बर्षमाथिका २२ जना थिए । ‘उहाँहरु सबै सुईबाट लागुऔषध प्रयोगकर्ताहरु हुन् । हिजोआज अन्यत्र नशा नभेटेर जाँघ(कम्मरमुनिको भाग)मा सुई हान्न थालेका छन्, यसले धेरै जोखिम बढाएको छ’–केन्द्रका प्रशासन अधिकृत ताजुब लिम्बूले भने । गोटीले नशा लागेको महशुस नहुने भएपछि १७, १८ बर्षका किसोर पनि सिधै इन्जेक्सन लिन थालेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गर्छन् । ‘केही सिक्ने,पढ्ने उमेरका किसोरहरु नै लागुऔषधमा फस्न पुगेका छन्, भोलीको समाज कस्तो होला ? भयावह स्थिति छ’–उनी भन्छन्–‘स्कुल लेभलदेखि नै कुलतमा फस्ने भएकोले बर्षेनी १० प्रतिशत प्रयोगकर्ता वृद्धि हुन्छ ।’
डिएसपी थापा भने दुव्र्यसनमा फसिसकेकालाई मात्रै कानुनी कारबाही गर्न खोजेर मात्रै नहुने बताउछन् । दुव्र्यसनमा छोराछोरी फस्न नदिन अभिभावक आफै सचेत हुनुपर्ने, स्कुलको कोर्षमा लागुऔषध दुव्र्यसनको असर र क्षतिबारे पढाई हुनुपर्ने उनको धारणा छ । पूर्नजीवन केन्द्रका प्रशासन अधिकृत लिम्बू पनि आफ्ना सन्तानलाई अभिभावकहरुले बेलैदेखि केयर गर्नुपर्ने बताउछन् । ‘अभिभावकहरुले आफ्ना छोराछोरीलाई त्यति वास्ता नगर्नाले दुव्र्यसनको समस्या बढेको, अभिभावक यसतर्फ सचेत हुनुपर्छ’–उनले भने ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे