हरियो तरकारीको माग उच्च, खुद्रा व्यापारीबीच खोसाखोस


धरान । धरानको पुरानो बजारस्थित खुद्रा सब्जी बजारका रामेश्वर कुमार हरेक बिहान करिब ४ बजे नै धरान १३ स्थित कृर्षि उपज बजारस्थल पुग्छन् । तरपनि उनले आफुले चाहेजति हरियो तरकारी पाउन सक्दैनन् ।
पहाडी क्षेत्रबाट तरकारी बोकेको गाडी आउन साथ खुद्रा व्यापारीमाझ हारालुछ हुन्छ । बल र बुद्धि लगाउन सक्नेले हरियो, ताजा तरकारी भेट्छन्, नत्र रित्तै फर्कनुपर्छ । ‘बिहान ४ बजेदेखि नै हुन्छौं तरपनि चाहेजति तरकारी पाउदैनौं’–रामेश्वर भन्छन्–‘हरियो सब्जीको माग ज्यादा छ ।’ उनी जस्तै धनियाँ, रायोको साग बेच्दै आएकी कल्पना खड्काले सोमबार अकबरे खोर्सानीमा चित्त बुझाउनुपर्यो । बिहानैदेखि थोक बजारमा आएकी उनी करिब ९ बजेतिर खोर्सानीको बोकेर फर्किन् ।

धरान १३ स्थित थोक बजारमा धरानका मात्रै होइन, इटहरी, इनरुवा, विराटनगरदेखि झापाको दमक र पश्चिममा राजविराजसम्मका व्यापारीहरु हरेकदिन तरकारी लिन आउछन् । पहाडी क्षेत्रबाट तरकारी लिएको गाडी आइपुग्यो कि व्यापारीहरुमा तछाड मछाड र तानातान मच्चिछ । कति सफल हुन्छन्, कति निराश । बजारमा हरियो तरकारीको माग बढेको छ । तराई क्षेत्रको माग त्यहीको उत्पादनले मात्रै थेग्न सकेको छैन । बर्षाले तरकारी खेती नष्ट गरेपछि तराईको जिल्ला पूर्वी पहाडमा उत्पादन भएको हरियो सब्जीको माग अत्यधिक बढेको थोक व्यापारीहरु बताउछन् । माग बढी भए पनि पहाडी क्षेत्रमा तरकारी खेती कम हुने भएकोले धान्न समस्या भइरहेको थोक व्यापारी हेमचन्द्र ढकाल बताए ।
‘बर्षाले तराईमा तरकारी बाली नष्ट गर्यो, पहाडमा पनि केही क्षति पुर्याएकोले माग धान्नै सकेको छैन’–ढकाल भन्छन्–‘खेती नै कम लाग्छ, युवाहरु सबै विदेशिएपछि कसले गर्ने ?’ तरकारी खेतीमा युवाहरुले मेहनत गर्ने हो भने अहिले धेरै आम्दानी गर्नसक्ने उनी सम्भावना देख्छन् । थोक व्यापारीहरुका अनुसार माग अनुसार तरकारी उत्पादन नभएपछि मुल्यमा पनि उचारचढाव भइरहन्छ । यसको प्रत्यक्ष मारमा उपभोक्ताहरु पर्छन् । कृर्षि बजारमा सोमबार फुलकोबी ७० देखि ८० रुपैया प्रतिकिलो बिक्री भएको थियो भने गाँजर १५० देखि १७० रुपैयमा कारोबार भयो । यस्तै, टमटर ४०देखि ५० रुपैया, सिवी ६० देखि ७० रुपैया, काक्रा २० देखि ३५ रुपैया, मुला १५ देखि २० रुपैया प्रतिकिलो बिक्री भएको थियो । यहाँ धनकुटा, तेह्रथुम, संखुवासभा, विष्णुपादुका, पाँचकन्यालगायत ग्रामिण क्षेत्रबाट हरियो तरकारी तथा फलफुल आउने गर्छ ।


बजारस्थलका व्यावस्थापक लक्ष्मण भटराईका अनुसार अहिले सबैभन्दा धेरै फुलकोबीको माग छ भने निगुरो, गाँजर, स्कुसको मुन्टा, रायो साग, धनिया, काक्रा, मुला, सिविलगायत हरियो तरकारीमा पनि हारालुछ हुन्छ । हरियो तरकारी उत्पादन हुने मुख्य जिल्ला धनकुटा हो । कृर्षि उपजमा आउने तरकारीमध्ये यो जिल्लाबाट ६० प्रतिशत तरकारी आयात हुन्छ । यहाँ दैनिक सय मेट्रिक टन ताजा तरकारी पहाडी क्षेत्रबाट आउने गरेको छ । यसमा केही कमी हुँदा खोसाखोस हुने स्थिति आएको व्यावस्थापक भटराई बताउछन् । दशै,तिहार र छैठ पर्वसम्म तरकारीको माग उच्च हुने उनको भनाई छ । यहाँबाट ५० प्रतिशत बढी तरकारी अन्य जिल्लाको बजारमा पुग्ने गरेको छ ।


हरियो तरकारीको बजार माग उच्च हुनु र सरकारले कृर्षि क्षेत्रलाई प्राथमिकतामा राखेको भएपनि नीति कार्यान्वयन गर्न नसक्दा समस्या भएको थोक व्यापारी ज्ञानबहादुर बस्नेतको धारणा छ । ‘बजारमा यस्तो माग छ, तर सरकारले खै त तरकारी खेतीलाई व्यावसायिकरण गर्न सकेको ? धेरै उत्पादन भएको बेला विदेश निर्यात गर्न खै सहजीकरण गरेको ?’–उनी गुनासो पोख्छन् । कृर्षि बजारस्थल सञ्चालक समितिका अध्यक्ष काजी गिरी पनि राज्यले कृर्षिमा उत्पादन क्षेत्र बढाउन, समयमै किसानलाई बिउ, मल व्यवस्था गर्न, व्यावसायिक खेतीको प्रर्वद्धन गर्न नसकेको बताउछन् । ‘बजेट भाषणमा कृर्षिलाई प्राथमिकता दिन्छ तर किसानले बिउ, मल समयमै पाउदैनन् । बजेटलगत्तै कार्यक्रम किसानको तहसम्म पुग्न सक्यो भने पो उत्पादन बढ्छ, किसानलाई पनि राहत हुन्छ’–गिरी भन्छन्–‘व्यावसायिक खेती शुरु भयो भने युवाहरु विदेशिनबाट रोकिन्छ, बजार मागअनुसार उत्पादन हुन्छ, महंगी उत्तारचढाव हुदैन, उपभोक्तालाई पनि राहत पुग्छ ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे