एसि सुविधासहितको बहुउद्देश्यीय खेलकुद भवन बन्ने


धरान । सामाजिक एवं खुलकुदको विभिन्न गतिविधिहरु गर्दै आइरहेको धरान १३ स्थित अमर सेवा समाजले बहुउद्देश्यीय खेलकुद भवन(कवर्ड हल) निर्माण गर्ने भएको छ । समाजले हालको भवन र मैदानको स्तरोन्ती गर्दै विभिन्न इन्डोर खेलहरु आयोजना गर्न सकिने गरि बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको हो ।
भवन निर्माणको लागि हरिबहादुर लिम्बूको संयोजकत्वमा भवन निर्माण मुल समिति गठन भइसकेको छ भने आर्थिक उपसमिति, सरसमान रेखदेख समिति र निर्माण उपसमिति गठन भइसकेको छ । मुल तथा उपसमितिहरु हाल भवन निर्माणको प्रशासनिक प्रक्रियासँगै आर्थिक संकलनको अभियानमा सक्रियपूर्वक जुटेको छ । मुलसमितिका अनुसार नयाँ भवन ए.सि.सुविधा पनि हुनेछ । निर्माण संस्थाको दिगो आम्दानीको स्रोत बन्ने र धरानको लागि नमुना भौतिक संरचना हुने अपेक्षा राखिएको निर्माण मुल समितिका सचिव गोपाल श्रेष्ठ प्रयासले बताए । ‘यो एसिको सुविधा पनि हुनेछ, इन्डोर खेलकुद प्रतियोगिता गर्न मिल्नेछ र यसलाई पार्टी प्यालेसकोरुपमा पनि प्रयोग गर्न सकिने गरि डिजाइन गरिएको छ’–सचिव श्रेष्ठले भने ।

उनका अनुसार अब बहुउद्देश्यीय भवनको डिजाइन नक्सा तयार भइसकेको छ । नक्सा स्वीकृतिको लागि नगरपालिकामा पेश भइसकेको छ भने राजनीतिक दल, व्यापारीहरुसँग पनि भवन निर्माणको बिषयमा सहयोगको लागि छलफल भइरहेको छ । कवर्ड हलको स्वरुपमा बन्ने भवनमा ब्याडमिन्टनको ४ वटा कोर्ट बन्नेछ भने बास्केटवल, भलिवल र टेवल टेनिसको कोर्ट पनि हुनेछ । यस्तै, जिम हलको कोठा, २ वटा चेञ्जिङ रुम पनि हुनेछ । ‘दक्षिणतर्फ दर्शक मिल्ने गरि प्याराफिट बनाउनको लागि सधियार जग्गावालासँग छलफल भइरहेको छ, सहमति नजिकमा छौं । सहमति भयो भने त्यता करिब डेढ सय दर्शक अट्ने ५० फिट अग्लो प्याराफिट पनि हुनेछ’–सचिव श्रेष्ठले भने । असोज पहिलो साता सिलान्यास गर्ने तयारीमा रहेको भवन डेढ बर्षभित्र पुरा हुने लक्ष्य राखिएको छ ।
भवन निर्माण गर्न करीब ८० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । भवन निर्माणमा लाग्ने सबै बजेट स्थानीयबासी एवं संस्थाका सदस्यहरुबाट संकलन गरिनेछ । संस्थामा २ सय ३० जना सदस्य छन् । भवन निर्माणको लागि हालसम्म देश विदेशमा रहेका सदस्य एवं स्थानीयबाट ३० लाख रुपैया संकलन भइसकेको छ भने आर्थिक सहयोग जुटाउनकै लागि संस्थाका पूर्वअध्यक्ष एवं निर्माण मुल समितिका संयोजक लिम्बू बेलायतमा छन् । उनी त्यहाँबाट अष्ट्रेलिया पनि जानेछन् । भवन निर्माणकै लागि उनले एक कट्ठा जग्गा बिक्री भएवापत आउने रकम सहयोग गर्ने प्रतिवद्धता पनि दिइसकेका छन् । उक्त जग्गाको मुल्य १० लाख रुपैया पर्ने अनुमान छ । यस्तै, स्थानीय राम पङ्वाको स्मृतिमा उनकी श्रीमति सरिता सुब्बाले ५ के.भी.को एक थान जेनेरेटर संस्थालाई हस्तान्तरण गरिसकेकी छिन् भने हङकङमा बसोबास गरिरहेका संस्थाका सदस्यहरुले ए.सि.जडान गरिदिने वचन दिएको सचिव श्रेष्ठले जानकारी दिए ।

स्थानीयबासी र संस्थालाई पनि कुनै ठुलो कार्यक्रम आयोजना गर्नुपर्दा समस्या भोग्नुपरेपछि बहुउद्देश्यीय भवनको अवधारणा अघि सारिएको अमर सेवा समाजका उपाध्यक्ष नेत्र काफ्लेको बताए । ‘कुनै ठुलो कार्यक्रम गर्नुपर्दा सभागृह, उद्योग वाणिज्य संघतिर धाउनुपर्ने भयो, त्यसैले कवर्ड हल स्वरुपको नयाँ भवन बनाउन जुटेका हौं’–उनले भने । ०४१ सालमा स्थापना भएको समाजलाई ०५२ सालमा दर्ता गरिएको थियो । नगरपालिकाले उपलब्ध गराएको ४ कट्ठा जमिनमा हाल ७ वटा कोठा भएको २ तले भवन छ । जहाँ संस्थाअन्र्तगतको युवा प्रतिभा समुह, आमा समुह र अमर वचत तथा ऋण सहकारी संस्थाको कार्यालय सञ्चालनमा छ । संस्थाकै भवनमा सुरक्षाको लागि प्रहरीलाई पनि राखिएको छ । बास्केटवल, भलिवल, टेवल टेनिस र ब्याडमिन्टन खेल्न सकिने भएपनि खुला मैदान छ । ‘यो भवन संस्था र स्थानीयबासीको लागि मात्रै होइन, धरानबासी र खेलकुदको लागि लाभदायी बन्ने अपेक्षा लिएका छौं । धरानलाई खेलकुदको पूवार्धारयुक्त शहरकोरुपमा पनि चिनाउन मद्दत पुग्नेछ’–संस्थाका सचिव राजकुमार राईले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे