एम्बलेन्स भाडाको सवारी भएको उजुरी, प्रशासनद्धारा अनुगमनको पहल


धरान । मानवीय सेवा पुर्याउने भन्दै राजश्व छुटमा आयात गरिएको एम्बुलेन्स भाडाको सवारीझै नाफामुखी भएको उजुरी परेपछि चासो दिदै सम्बन्धित निकाय एवं प्रहरी, प्रशासनले अनुगमनको पहल शुरु गरेको छ ।
ग्रामिण क्षेत्र एवं विभिन्न ठाउँका जनतालाई राहत र सेवा दिने भन्दै सञ्चालनमा आएको एम्बुलेन्सहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हातामा भाडाको सवारीसधान झैं पार्किङ भएको भन्दै नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रशासन कार्यालय सुनसरी, क्षेत्रीय ट्राफि प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयलगायत निकायमा उजुरी परेको थियो । घोपा क्याम्प ट्याक्सी व्यवसायी संघ धरानले ती निकायमा भदौ १३ गते अनुगमन र कारबाहीको माग गर्दै उजुरी दिएको थियो । बीपी प्रतिष्ठानअघि पार्किङ र विरामी ओसार्ने बिषयमा भाडाको सवारीसाधान ट्याक्सी र एम्बुलेन्स चालकहरुबीच लामो समयदेखि विवाद तथा आरोपप्रत्यारोप हुदै आइरहेको छ ।
सो उजुरीबारे जिल्ला प्रशासनले रेडक्रस सोसाइटी, प्रहरी कार्यालयलाई अनुगमन तथा व्यवस्थापनको लागि निर्देशन दिएको थियो । सो निर्देशनपछि शुक्रबार रेडसक्र सोसाइटी र इलाका प्रहरी कार्यालय धरानको पहलमा एम्बुलेन्स सञ्चालक संघसंस्थाका प्रतिनिधि र ट्याक्सी संघ एवं चालकहरुबीच इलाका प्रहरी कार्यालय धरानमा छलफल भएको थियो । ‘बीपी प्रतिष्ठान हाताभित्र एम्बुलेन्स र ट्याक्सी चालकबीच अस्वस्थ्य प्रतिस्पर्धा छ, यसलाई तुरुन्त समाधान गर्नु भन्ने जिल्ला प्रशासन कार्यालयबाट निर्देशन आएकोले पहल थालेका हौं’–रेडक्रस सोसाइटीका सभापति उमेश थापाले भने–‘विरामीलाई अस्पतालमा पुर्याएपछि एम्बुलेन्सहरु पुनः आफ्नो कार्यालय क्षेत्रमा नै फर्कनुपर्छ । तर, यहाँ बीपीमा नै विरामी कुरेर बस्ने गरेकोले समस्या भएको हो ।’
उनका अनुसार छलफलबाट चाडै प्रजिअको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति बनाएर अनुगमन गरिने र आवश्यक नीति एवं मापदण्ड बनाएर पालाना गराउने सहमति भएको छ । यस्तै, तत्कालको लागि विरामी ल्याएर बढीमा आधा ÷एक घण्टासम्म मात्रै बीपी प्रतिष्ठान स्थित पार्किङस्थगलमा एम्बुलेन्स राख्न पाउने पनि सहमति भएको उनले खुलाए । एम्बुलेन्स सञ्चालन नीतिमा स्पष्टरुपमा विरामी अस्पताल पुर्याएपछि पुनः फर्किएर आफ्नो कार्यालय क्षेत्रमा नै पार्किङ गर्नुपर्ने उल्लेख भएपनि यसको पालना नहुदा बिकृत्ति बढेको उनले बताए । धरानबाहिरका एम्बुलेन्सहरु विरामी ल्याएर दिनभर पार्किङ गर्ने गरेकोले बढी समस्या भएको उनले बताए ।
रेडक्रस सोसाइटीका अनुसार सुनसरी जिल्लामा ८४ वटा एम्बुलेन्स सञ्चालनमा रहेको तथ्यांक छ । ती मध्ये धरानमा दर्ता भएको २२ वटा छन् । यीमध्ये अधिकांश एम्बुलेन्सहरु आफ्नो कार्यालय क्षेत्रमा नबसी बीपी प्रतिष्ठान परिसरमा पार्किङ गरेर बस्ने गरेको छ । त्यहाँ विभिन्न स्थानबाट आएका विरामीसँग भाडा मोलमोलाई गर्ने, मानवीय सेवा पुर्याउने भन्दै राजश्व छुटमा ल्याएको एम्बुलेन्स संघसंस्थाले व्यापारिकरुपमा ठेक्कामा लगाएको घोपा ट्याक्सी व्यावसायी संघको आरोप छ । ‘ट्याक्सी भाडाको सवारी हो, तर एम्बुलेन्स त सेवाको लागि हो नि । उनीहरु आफ्नो कार्यक्षेत्रमा हरदम सेवा पुर्याउने गरि बस्नुपर्छ तर बीपीको गेटमा लहरै भाडाको सवारी झै बसेको हुन्छ । जहाँका जनताले तत्काल सेवा पाउनुपर्ने हो, पाउदैनन्’–ट्याक्सी व्यावसायी संघका याम गुरुङले भने–‘उहाँहरुको विधान र सरकारको नीतिमा जे छ, त्यो पालना गरे समस्या हल भइहाल्छ ।’
एम्बुलेन्स सेवा व्यावस्थापन समिति धरानका संयोजक मोहन तिगेलाले एम्बुलेन्स आफ्नो कार्यालयमा नै पार्किङ गर्नुपर्ने स्वीकार गर्दै चालकलाई तलब खुवाउन, मर्मतसम्भार खर्च जुटाउन समस्या हुने भएको भन्दै संघसंस्थाको बाध्यता पोखे । साथै, उनले विरामीलाई ठगी गर्नेमा एम्बुलेन्स र ट्याक्सी दुवै बराबरी रहेको पनि उनले बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापाले कानुन मिचेर भद्रगोल तरिकाले एम्बुलेन्स सञ्चालन भइरहेको भन्दै कानुनको पालना गर्न चेतावनी दिए । ‘कानुनको पालना सबैले गर्नुपर्छ, एम्बुलेन्स मानवीय सेवाको लागि हो, भाडाको ट्याक्सी जस्तरी पेसेन्जर कुरेर बस्नु ठिक होइन’–उनले भने–‘एम्बुलेन्सबाट पेसेन्जर ठगिएको गुनासो छ, लागुऔषध भित्रिन्छ भन्ने पनि सुनेका छौं, यो सब बिकृत्ति रोकिनुपर्छ ।’
यसअघि पनि २०६८ सालमा प्रजिअको अध्यक्षतामा एम्बुलेन्स तथा शववाहन अनुगमन जिल्ला समिति गठन भएर अनुगमन भएको थियो । त्यतिबेला कतिपय एम्बलेन्समा अक्सिजन पनि नभएको, कतिपयको कागजपत्र नै नभएको, ग्रामिण क्षेत्रको सेवाको लागि ल्याएर धरानबाट सञ्चालन गर्ने गरेको, दर्ता नवीकरण नभएको, विमा नगरेकोलगायत तथ्य भेटिएको थियो । यसपछि समितिले केही समय नियमित अनुगमन गर्दै चालकहरुलाई प्राथमिक उपचार तालिमसँगै एम्बुलेन्सलाई मापदण्डभित्र ल्याउन पहल गरेपनि निरन्तरता नपाउदा पुनः बेथिति बढेको हो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे