एघार दिनमा मात्रै वार्ता शुरु, पठनपाठन सुचारु

धरान । कर्मचारी आन्दोलनले उपचार सेवासमेत ठप्प बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलाउन एघार दिन पछि मात्रै पदाधिकारीले पहल थालेका छन् । प्रतिष्ठानमा उपलब्ध रहेकामध्ये पदाधिकारी शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठले आन्दोलनरत पक्षसँग वार्ताको पहल थालेका हुन् । एघार दिनदेखि अस्पतालको उपचार सेवा ठप्प पारेर आन्दोलनरत कर्मचारीसँग शिक्षाध्यक्ष डा.श्रेष्ठको नेतृत्वमा शुक्रबार वार्ता भएको थियो । यद्यपी सो वार्तामा कुनै सहमति भने हुन सकेन । आन्दोलनरत कर्मचारीसँग वार्ता गर्नुअघि शिक्षाध्यक्ष श्रेष्ठले प्रतिष्ठानका विभागीय प्रमुखहरुसँग वैठक राखेर सिनेट बैठक र आन्दोलनबारे छलफल गरी सुझाव लिएका थिए । ‘पहिला विभागीय प्रमुखहरुसँग बैठक गरेर सिनेटमा व्यावस्थापनले लगेको एजेण्डा, प्रगति विवरणबारे छलफल भयो र आन्दोलनबारे कसरी अघि बढ्ने, विद्यार्थी र विरामीलाई सेवा दिन के गर्ने भनेर सुझाव लिइयो’–प्रतिष्ठानका सहायक अस्पताल निर्देशक एवं प्रवक्ता डा.पशुपति चौधरीले भने–‘त्यसलगत्तै आन्दोलनरत कर्मचारीहरुको दुवै पक्षसँग वार्ता भयो ।’
प्रवक्ता चौधरीका अनुसार विभागीय प्रमुखहरुसँगको वैठकमा शिक्षकहरुले पठनपाठन सुचारु गर्न, सहज वातावरण तयार भए उपचार सेवा दिन सहमति जनाएका थिए भने आन्दोलनकारी पक्षसँग तत्काल वार्ता गर्न सुझाव दिएका थिए । त्यसपछि, शिक्षाध्यक्ष श्रेष्ठको नेतृत्वमा कार्यकारिणी समिति सदस्यद्धय डा. प्रल्हाद कार्की, डा.निलम्बर झा, सञ्चालक परिषद(सिनेट) सदस्यद्धय डा.रुपासिंह भण्डारी र डा.शैलेस अधिकारी, एनेस्थेसिया विभाग प्रमुख डा.बालकृष्ण भटराई, रेडियोलोजी विभाग प्रमुख डा.राजकुमार रौनियार, नर्सिङ प्रमुख रामशरण मेहता, डेपुटी अस्पताल निर्देशक डा. पशुपति चौधरीसहितको टोलीले आन्दोलनकारीसँग वार्ता गरेका थिए ।

पहिलो चरणमा चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेर उपचार सेवासमेत बन्द गरि आन्दोलनरत कर्मचारी कल्याण समाजको नेतृत्वसँग वार्ता भएको थियो । त्यसलगत्तै उपकुलपति कार्यालयअघि धर्ना दिइरहेको कर्मचारी कल्याण समाज तदर्थ समितिको नेतृत्वसँग पनि वार्ता भएको थियो । दुवै पक्षसँग प्रतिष्ठान पक्षले आयोगको रिपोर्ट नआएसम्म आन्दोलनको स्वरुप परिवर्तन गरेर उपचार सेवा सुचारु गर्न आग्रह गरेका थिए । ‘समाजको नेतृत्वले आन्दोलन बाध्यता भएको र व्यवस्थापनले ठोस रोडम्याप ल्याएमात्रै पूर्नविचार गर्ने भनेका छन् । तदर्थ समितिले चाहि आफुहरुले सेवा बन्द नगरेको र काम गर्ने वातावरण बने फर्कने तर व्यवस्थापनबाट ठोस योजना आउनुपर्ने भनेका छन्’–प्रवक्ता चौधरीले भने–‘अब वार्ताको प्रक्रिया शुरु भएको छ, सकरात्मक निकास निस्कनेमा आशावादी छौं ।’
कर्मचारी कल्याण समाजका महासचिव वेदुका पुलामीले वार्ता भएपनि कुनै सहमति भने नभएको बताइन् । व्यवस्थापन पक्षको आग्रहलाई स्वीकार गर्न नसकिने भन्दै उनले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताइन् ।
..............

            शिक्षकहरुले पठनपाठन सुचारु

धरान । तलब वृद्धि, अध्ययन विदा व्यवस्थापन, संचित घरविदा २१० दिन पुर्याउनुपर्ने लगायत माग गर्दै पढाई बहिष्कार गरेको बीपी प्रतिष्ठानका शिक्षकहरुले शुक्रबारदेखि पठनपाठन सुचारु गरेका छन् ।
चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले शुक्रबार पत्रकार सम्मेलन गर्दै चार दिनअघिदेखि बहिष्कार गर्दै आएको पठनपाठन सुचारु गरेको जानकारी दिएको हो । समाजका अध्यक्ष डा.प्रल्हाद कार्कीले बिहिबार सम्पन्न साधारण सभाले आन्दोलनको स्वरुप परिवर्तन गर्दै पठनपाठन सुचारु गर्ने र ओपिडी सेवा सुचारु गर्न व्यवस्थापनले काम गर्ने वातावरण तयार गर्नुपर्ने निर्णय गरेको बताए । ‘समाजको साधारणसभामा विरामी र विद्यार्थीहरुलाई दुःख दिनुहुन्न भन्ने निष्कर्ष निस्कियो, त्यसैवमोजिम पठनपाठन सुचारु गछौं । ओपिडीमा सेवा दिन पनि तयार छौं, तर काम गर्ने सहज वातावरण व्यवस्थापनले बनाइदिनुपर्छ’–उनले भने । समाजले १९ तारिखदेखि पठनपाठन अवरुद्ध गरेको थियो ।
समाजले १० दिनसम्म पनि विभिन्न सेवा अवरुद्ध हुँदा व्यवस्थापनले गतिरोध अन्तय गर्न ठोस एवं प्रभावकारी कदम नचालेको भन्दै भत्र्सनासमेत गरेको छ । प्रतिष्ठानमा नेतृत्व तहबाटै संरक्षित संस्थागत भ्रष्टाचार, अराजकता एवं अपारदर्शिताको तुरुन्त अन्त्य गरि व्यापाक सहभागीतामा प्रतिष्ठानको दीर्घकालीन एवं भरपर्दो योजना नबनाए प्रतिष्ठान थप धरासायी हुने जनाएको छ । प्रतिष्ठान जहिल्यै घाटामा रहेको व्यवस्थापन पक्षको भनाईप्रति प्रश्न उठाउदै समाजले आयव्याय पारदर्शी बनाउन पनि माग गरेको छ । ‘व्यवस्थापनले जहिल्यै घाटामा छ भन्छ, तर आम्दानीको स्रोत के के छ, र खर्च कहाँ कहाँ भइरहेको छ भनेर पारदर्शी ढंगले देखाउदैन, प्रष्टसँगले आयव्याय देखाउने हो भने हामी सरकारले बढाएको तलब पनि लिदैनौं’–समाजका अध्यक्ष डा.कार्कीले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे